आकर्षक पर्यटकीय गन्तव्य सत्यवती झरना

पर्यटन बजार२० माघ २०७६, सोमबार मा प्रकाशित

आकर्षक पर्यटकीय गन्तव्य सत्यवती झरना

माघ १०,बुटवल । समुन्द्री सतहदेखि २ हजार ६९० मिटरको उचाईमा रहेको गुल्मीको थाप्ले लेक साविक लुम्विनी अञ्चलकै सबैभन्दा अग्लो पहाड हो । थाप्ले लेककै छेउमा रहेको सत्यवती धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा परिचित छ । यहाँबाट उच्च हिमशृङ्खला सहित चारैतिरका सुन्दर बस्ती देख्न सकिन्छ । जल, जंगल, जडिबुटी र जमिनजस्ता प्राकृतिक स्रोत तथा जैविक विविधताको धनी रहेको ठूलो लुम्पेक प्राकृतिक सौन्दर्यको स्वप्निल स्वर्गका रुपमा छ । त्यस्तै धार्मिक–साँस्कृतिक मूल्यमान्यता र विश्वासको केन्द्र बुढी सत्यवती, लुम्पेकीथानी बाजेबज्यै, हिले, सिद्धबाबा आदि छन् ।

प्रकृतिको अद्भूत कला र सौन्दर्यसहित धार्मिक, पर्यटकीय विकासको प्रचुर सम्भावना बोकेका बुढीसत्यवती क्षेत्र, बराह क्षेत्र मसिनाताल, हिले सिद्धबाबा मन्दिर, लुम्पेकीथानी बाजेबजैको थान र भूरेटाकुरे राजाको समयमा बनेको राजदरवार तथा रानीपोखरीको भग्नावशेष रहेको हचिङ्कोट दरवार क्षेत्र यहाँका मुख्य आकर्षण हुन् ।

त्यस्तै हुक्रायो सेती नाग, लाम्थुडी झरना, गुर्दुङ आलमदेवी आदि ठूलो लुम्पेकलाई चिनाउने र घुम्न लायक महत्वपूर्ण ऐतिहासिक, प्राकृतिक, धार्मिक तथा साँस्कृतिक सम्पदाहरु हुन् । मगर संस्कृतिमा सोरठी, सालैजो, बारुलै, यानीमाया, झ्याउरे, लोकदोहोरी आदि लोकसाँस्कृतिक झाँकीहरु गहनाका रुपमा छन् । जसको व्यवस्थित प्रचार प्रसार गर्ने हो भने पर्यटनक आकर्षण गर्ने साधन बन्न सक्दछन् ।

नेपालको थप सयवटा पर्यटकीय गन्तव्य सूचीमा रहेको सत्यवती क्षेत्रको पर्यटकीय प्रवद्र्धनका लागि गठित समितिले विभिन्न कार्यक्रमहरु अगाडी सारेको छ । समितिका अध्यक्ष जितु तरामु मगरले भिजिट नेपाल २०२० लाई मध्यनजर गर्दै आन्तरिक र बाह्य पर्यटकहरुलाई आकर्षक गन्तब्य बनाउने उद्देश्यका साथ विभिन्न कार्यक्रम अघि सारिएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?