आज धान दिवस – दही चिउरा खाँदै , रोपाइँ गर्दै कृषक

पर्यटन बजार१५ असार २०७७, सोमबार मा प्रकाशित

आज धान दिवस – दही चिउरा खाँदै , रोपाइँ गर्दै कृषक

असार १५, काठमाडौं।आज (सोमबार) असार १५, दही चिउरा खाँदै नाच्दै गाउँदै रोपाइँ गरेर राष्ट्रिय धान दिवस मनाइँदैछ । कोरोना भाइरसको महामारी र सलह किराको त्रासका बीच कृषक यो दिवसलाई मनाइरहेका छन् ।

कषि मन्त्रायल र अन्य सरोकारवाला निकायले पनि यस दिवसको अवसरमा विविध कार्यक्रम राखेको छ ।

राष्ट्रिय धान दिवस मनाउन कृषि मन्त्री घनश्याम भुसाल उदयपुर पुगेका छन् । त्रियुगा नगरपालिकाले वडा नं. १३ बहेडवा भन्ने स्थानमा सामूहिक रुपमा धान रोपेर धान दिवस मनाइने छ ।

बहेडवामा १६० बिघा जग्गा चक्लाबन्दी गरिएको छ । १०–१० कठ्ठाको एउटा गह्रो बनाइएको छ । त्यहाँ यान्त्रीकरणबाट धान रोप्ने कार्यक्रम छ । कार्यक्रममा सहभागी हुन कृषिमन्त्री भुसाल आइतबार राति नै उदयपुर पुगेका थिए ।

विसं २०६१ मा विश्वका ४३ मुलुकले संयुक्त राष्ट्र संघलाई अन्तराष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरे । उक्त समूहमा रहेका ४३ मध्येका एक राष्ट्र नेपाल पनि थियो । विश्वका झण्डै आधा जनसंख्याको मुख्य आहार मानिने धान उत्पादन प्रोत्साहन गर्न र बढ्दो भोकमरी नियन्त्रणमा सघाउ पुर्‍याउन उक्त कदम चालिएको थियो ।

विसं २०६१ अर्थात सन् २००४ मा संयुक्त राष्ट्र संघले ‘धान नै जीवन हो’ भन्ने नारासहित उक्त घोषणा गरेको थियो । राष्ट्र सङ्घले धान वर्ष घोषणा गरेपछि विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी पहिलो पटक विसं २०६२ असार १५ गतेदेखि नेपालमा धान दिवस मनाउन थालिएको पूर्वकृषि सचिव उत्तमकुमार भट्टराई बताउँछन् ।

Facebook Comment

छुटाउनुभयो कि?