आज १२ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस , सरसफाईमा खटिएका शेर्पा टोलीलाई सम्मान

पर्यटन बजार१५ जेष्ठ २०७६, बुधबार मा प्रकाशित

आज १२ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस , सरसफाईमा खटिएका शेर्पा टोलीलाई सम्मान

जेठ १५, काठमाडौं । आज १२ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस बिबिध कार्यक्रम गरी मनाइँदै छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक सफल आरोहण भएको आज ६६ वर्ष पुगेको छ । सन् १९५३ मे २९ तारिख आजकै दिन तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलो पटक सगरमाथामा आफ्नो पाइला राखेका थिए ।

दिवसलाई भव्य बनाउन पर्यटन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाको अध्यक्षतामा पर्यटन क्षेत्रका प्रतिनिधिमूलक संस्थासहितको ३७ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । कार्यक्रमअनुसार बुधबार बिहान ठमेलबाट प्रभातफेरी कार्यक्रम गरिएको छ भने राष्ट्रिय सभागृहमा औपचारिक समारोहको समेत आयोजना  गरिएको छ ।

समारोहमा हिलारीकी छोरी सारा हिलारीलगायत विदेशी पाहुनाको सहभागिता रहनेछ । सो अवसरमा ‘अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कार’ र ‘तेञ्जिङ हिलारी पुरस्कार’ प्रदान गरिनेछ । यस पटक सगरमाथा हिमाल सफाइ अभियानमा खटिएका शेर्पा टोलीलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको नेपाल पर्वतारोहण सङ्घका महासचिव कुलबहादुर गुरुङले जानकारी दिए ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले सगरमाथा राष्ट्रको गौरव भएकाले यसको प्रवद्र्धनका लागि सरकारले विशेष प्रथामिकता दिएको बताए ।सरकारले आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा पर्यटन क्षेत्रलाई महत्व दिएको सन्दर्भमा पनि सगरमाथाले आम मानिसको ध्यान केन्द्रित गरेको छ । सगरमाथाको शान र गौरवलाई चिरस्थायी बनाइराख्न वातावरण र पर्यावरणीय पक्षलाई ध्यान दिन जरुरी देखिएको सरोकारवालाले औँल्याउने गरेका छन् ।

विश्वको सबैभन्दा ठूलो हिमाल सगरमाथा ८ हजार ८४८ मिटर आरोहणका क्रममा हालसम्म २९० भन्दा बढीको निधन भइसकेको छ । आरोहणका नयाँ विश्व कीर्तिमान पनि कायम भएका छन् ।
सोलुखुम्बुकी स्व पासाङ ल्हामु शेर्पाले विसं २०५० वैशाख १० गते सगरमाथाको आरोहण गरी सगरमाथा चढ्ने प्रथम महिला आरोहीको कीर्तिमान कायम गरेका थिए । जापानी नागरिक स्व जुन्को तावेई विश्वकै पहिलो महिला सगरमाथा आरोही मानिन्छन् ।

पछिल्लो पटक कामिरिता शेर्पाले सगरमाथाको २४ औँ पटक आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन् । उनले वसन्त ऋतुको यस याममा गत जेठ ७ गते आफ्नै २३ पटकको सगरमाथा आरोहणको कीर्तिमान तोड्दै नयाँ रेकर्ड बनाएका हुन् । उनले सन् १९९४ मा पहिलोपटक सगरमाथाको आरोहण गरेका हुन ।

पर्यटन विभागका अनुसार सन् २०१९ को वसन्तकालीन मौसममा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका ३८१ ले आरोहण अनुमति लिएका छन् । यस मौसममा सगरमाथासहितका ३२ हिमाल आरोहणका लागि ११६ आरोही समूहका ८९५ आरोहीले आरोहण अनुमति लिएका छन् । यस यामको सगरमाथा आरोहण गत वैशाख ३१ गते शुरु भएको थियो ।

यस पटकको सगरमाथा आरोहण आजबाट सकिएको विभागले जनाएको छ । यस याममा ६०० भन्दा बढीले सगरमाथा आरोहण गरेको विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए । यो विभिन्न एजेन्सीमार्फत आएको विवरण हो । कति सङ्ख्यामा आरोहण भयो भन्नेबारे पुष्टि भइनसकेको विभागले जनाएको छ । सरकारले आरोहणका लागि हालसम्म ४१४ वटा हिमाल खुला गरेको छ । विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये नेपालमा आठ छन् ।

नेपालमा सन् २००८ मा साहसी आरोही हिलारीको निधन भएको सन्दर्भ पारेर यो दिवस मनाउन थालिएको हो ।

Facebook Comment

छुटाउनुभयो कि?