आन्तरिक तथा बाह्य पर्यटकको ड्रिमल्याण्ड मुक्तिनाथ !

पर्यटन बजार९ बैशाख २०७६, सोमबार मा प्रकाशित

आन्तरिक तथा बाह्य पर्यटकको ड्रिमल्याण्ड मुक्तिनाथ !

वैशाख ९, काठमाडौं । मुक्तिनाथ केवल हिन्दु धर्मावलम्बीहरुको पवित्र धाम मात्र होइन। प्राकृतिक सुन्दरता, हिमाल ताल तथा अन्य आकर्षक दृष्यहरुको अवलोकन गर्न पाइने अनुपम गन्तव्य पनि हो। कागबेनी उकालो लागेपछि धेरै तीर्थालुलाई लाग्थ्यो– अब यो भीर कसरी चढ्ने होला ? यो केही वर्षअघिको कुरा हो । अब भीर देख्नेबित्तिकै आत्तिने दिन गए । सडक सुविधाले यात्रुलाई यो बाटामा सधैं डुलिरहन पाए हुन्थ्योझैं लाग्छ ।

विकसित मुलुकको झल्को दिने गरी फनफनी घुमेको छ, मुक्तिनाथ मन्दिर जाने सडक । ३८ ठाउँका ठूला घुम्ती पार गर्दा मन्दिर पुग्ने जोकोहीलाई लाग्छ वाउ मेरो ड्रिमल्याण्ड जहाँ आउने मेरो सपना पुरा भयो ।

दक्षिणतर्फको धौलागिरि हिमाल र उत्तरतर्फका नीलगिरि र थोराङ्लापास शृंखलाले पर्यटकलाई निकै लोभ्याउँछन् । हिमवत्खण्डको नेपाल महात्म्यमा यो क्षेत्रको ठूलो महत्व रहेको छ । ब्रह्माले पनि सृष्टि र शक्ति प्राप्त गर्न मुक्तिनाथमा बसेर तपस्या गरेका थिए ।

मुक्तिनाथ मन्दिरको स्थापना मध्यकालताका जुम्लाका राजाले गराएको मानिन्छ । अहिलेको मन्दिर भने वि.सं. १८७१ सालमा शाहराजाहरुले गराएका हुन् । बद्रीनाथ, केदारनाथ, पशुपतिनाथ र मुक्तिनाथको दर्शन नगरी भगवानको दर्शन नपाइने जनविस्वास भएकोले मुक्तिनाथको धार्मिक महत्व बढी रहेको छ । मुक्तिनाथ क्षेत्र अति प्राचीन भए पनि यसको ख्याति भने इसाको तेह्रौ–चौधौं शताब्दीदेखि मात्र बढ्न थालेको हो । यसका लागि वि.सं. १९५५ सालमा गुठी राखिएको प्रमाण पनि पाइएको छ । म्याग्दीको सदरमुकाम वेनी बाट ७६ कि.मि.को दुरीमा रहेको जोमसोम जादा बाटोमा पर्ने म्याग्दीको हिस्तान, घारा, मिरकोट दाना, तिप्ल्यााङ गाउँ र मुस्ताङ जिल्लाको घाँस, लेते, कोवाङ र मार्फा हुदै जोमसोम पुगिन्छ । म्याग्दीको सदरमुकाम बेनी, जोमसोम हुँदै मुक्तिनाथ पुग्दा मोटर मार्गबाट देखिने नांगा पहाड माथि दौडिरहने गाडी, गाडीभित्रबाट देखिने अग्ला पहाड र हिमालले सबैको मन लोभ्याउँछ ।

मुक्तिनाथलाई हिन्दुहरुले मुक्तिक्षेत्र र बौद्धमार्गीहरुले तिब्बती भाषामा छुमिङ ग्यात्सा “जस्को अर्थ हो सयपानी” भन्दछन । तिब्बती बौद्धमार्गीका २४ तान्त्रिक स्थान मध्य छुमिङ ग्यात्सा पनि एक हो । हिन्दुहरुले मानिएका संसार भरीका ५ धाम मध्ये मुक्तिनाथ एक धाम हो । मुक्तिनाथ मन्दिर गोरङगा हिमालको फेदिमा ३७ सय १० मिटरको उचाईमा पर्दछ । मुक्तिनाथ नजिकै मुस्ताङ र मनाङ जिल्लाको सिमा बनेको थोराङलेक पर्दछ । यहाँबाट सफा वातावरणमा धवलागिरी हिमाल देख्न सकिन्छ । हिन्दुधर्म अनुसार मुक्तिनाथको दर्शन गरेमा सबै पापहरुबाट मुक्ति पाइन्छ र वैकुण्ठवास भइन्छ भन्ने विश्वास छ । खासमा मुक्तिनाथ विष्णुको मन्दिर हो । मन्दिरभित्र विष्णु, लक्ष्मीनारायण, भूदेवीका मूर्ति छन् । हिन्दु र बौद्धमार्गीको साझा तीर्थ पनि हो मुक्तिनाथ । हिन्दूका पुजारी र बौद्धका झुमाले आ–आफ्नै परम्पराअनुसार पूजा गर्ने प्रचलन छ ।  मोक्ष प्राप्त हुने पवित्र ठाउँ मुक्तिनाथलाई मानिन्छ । मुक्तिनाथमा पाइला टेक्ना साथ आफूलाई पवित्र ठान्छन् तिर्थाटनका पर्यटकहरु ।

मुक्तिनाथ मन्दिर अगाडि दुई पोखरी बनाइएका छन् । त्यहाँ एकसय आठ धाराको पानी संकलन गरिएको छ । धारामा नुहाउन नसक्ने तिर्थाटन पर्यटकहरु पोखरीमा डुबेर पुण्य कमाउँछन् । मुक्तिनाथमा चैतदेखि जेठसम्म भीड लाग्छ । दसैंको सोह्र श्राद्धका बेला तीर्थाटनका पर्यटकहरु थेगिनसक्नु भीड हुन्छ । मोटर बाटो खुलेपछि तीर्थाटनका पर्यटकहरु बढन थालेका छन । मुक्तिनाथ पुग्ने तीर्थाटनका पर्यटहरुमा नेपाली र भारतीय बढी हुन्छन् । मुक्तिनाथको मन्दिरमा बिहान ६ देखि साढे ७ बजेसम्म र बेलुका ६ देखि ७ बजे नियमित पूजा आजा हुन्छ ।

मुक्तिनाथ मन्दिरमा भगवान विष्णु शिलारुप शालिग्राममा भएको विश्वासले गर्दा सबै तीर्थस्थलको दर्शन गरे पनि मुक्तिनाथ नपुग्दासम्म मुक्ति मिल्दैन भन्ने धार्मिक विश्वास रहेको छ । बौद्ध धर्मावलम्बीहरुले तान्त्रिक सिद्धगुरु रिम्पो छे संग जोडेर हेर्ने हुदा मुक्तिक्षेत्र हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा र पवित्र तीर्थस्थल बनेको हो । मन्दिरमा मुक्तिनाथ लक्ष्मी सरस्वती र गरुडका तामाका मूर्ति रहेका छन् । मुक्तिनाथमा १ सय आठ धाराहरु छन् । ती धाराहरुमा सबै तिर्थाटन पर्यटकहरुले नुवाउँछन् । सबै धाराहरुमा साडेको मुख आकृती रहेको छ । यो सबै राजा मुकुन्द सेनले बनाएका हुन भन्ने कुरा इतिहासमा उल्लेख छ ।

मुक्तिनाथ जाँदा कागबेनी बाटैमा पर्दछ । कागबेनी संगममा शिला खोज्ने, सुन, शिला फुटाउने, श्राद्ध गर्ने गरिन्छ । पितृलाई तर्पण दिन नेपाली र भारतीहरु पुग्छन् । कागबेनीको अर्थ यस्तो छ– ‘का’ भनेको ‘काली’ ‘ग’ भनेको ‘गण्डकी,’। ‘वेणी’को अर्थ ‘संगम’। किंवदन्ती अनुसार भुसन्डु ऋषिले तिलिचोमा तपस्या गरेका थिए । त्यहाँ गर्मी भएपछि उनी कागखोलामा आएर स्नान गरेर पितृका लागि तर्पण दिएका थिए । संसारमा मुक्तिनाथ मात्र यस्तो ठाउँ हो जहाँ पञ्चतत्व पाइन्छ । 

मुक्तिनाथ पुग्ने धेरै मानिसहरु मार्फा र जोमसोमको चहल पहललाई नै मुस्ताङ सझिएर मुक्तिनाथको दर्शन गरेर फर्कने गर्दछन । मुक्तिनाथ पुगेपछि उपल्लो मुस्ताङ अर्थात लोमाथाङ पुगेन भने मुस्ताङ जिल्लाको महत्वनै थाहा हुदैन । उपल्लो मुस्ताङको जनजीवन, धर्म, सस्कृतीका बारेमा अध्यन भएन भने मुस्ताङ जिल्ला पुग्नु र नपुग्नुले केहि अर्थ हुदैन भन्दा पनि हुन्छ । नेपालको नक्सामा स्वसासित तिब्बत तिर फैलिएको अर्थात नक्सा हेर्दा टोपि लगाएको जस्तो देखिने भाग नै मुस्ताङ जिल्लाको उपल्लो क्षेत्र अथवा लोमाङन्थाङ हो । उपल्लो मुस्ताङ क्षेत्रमा लोमान्थाङ, सुर्खाङ, चराङ, घमी, छोन्हुम र छोसेर को केन्द्र अर्थात उपल्लो मुस्ताङको राजधानी लोमान्थाङ गाउ हो । प्राचिन कला सस्कृती, मानवबस्तीका गुफा र पर्खालले घेरेको शहर लोमान्थाङ को बिशेषता हो । उपल्लो मुस्ताङमा गुम्वा र काचोमाटोबाट निर्माण गरिएको घरहरु देख्न सकिन्छ । 

Facebook Comment

छुटाउनुभयो कि?