आन्तरिक पर्यटकको चहलपहल बढ्यो

पर्यटन बजार१९ आश्विन २०७७, सोमबार मा प्रकाशित

आन्तरिक पर्यटकको चहलपहल बढ्यो

असोज १९, काठमाडौं । सरकारले आन्तरिक हवाई उडान र अन्तरजिल्ला यातायात खुला गरेसँगै देशभर आवतजावत गर्ने को संख्या बढेको छ । ६ महिनाभन्दा लामो समयदेखि ठप्प पर्यटकीय गतिविधि समेत बढ्न थालेको छ ।

नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रका व्यवसायी घुमफिरका प्याकेजको तयारी र बिक्रीमा लागेका छन् । यसबीचमा सगरमाथा आधार शिविरसम्मको पदयात्रा, रारा ताल र पोखराका गन्तब्यमा नेपालीहरुको चासो बढी देखिएको छ । नेपाल पर्यटन बोर्डका सीइओ धनन्जय रेग्मीका अनुसार १ असोजपछि देशैभर आन्तरिक पर्यटनका धेरैजसो गतिविधि सुचारु भएका छन् ।

पहिला व्यवसायी र सरोकारवाला निकायहरु नै घुमफिर गरेर पर्यटकीय माहोल बढाउने प्रयास भइरहेको छ । ‘आफैं सर्वप्रथम फिल्डमा गएर अनुभव गरेपछि मात्र आफ्ना पाहुनालाई राम्रो सेवा दिन सकिन्छ,’ सीइओ रेग्मी भन्छन्, ‘त्यसकारण पर्यटन व्यवसायीलाई नै घुमघाममा प्रोत्साहन गरिरहेका छौं ।’

पदयात्रा र पर्वतारोहण

सरकारले पदयात्रा र पर्वतारोहण खुला गरेसँगै यससँग सम्बन्धित गतिविधि बढेको छ । अहिले बहराइनका १८ जनाको टोली सगरमाथा क्षेत्रमा छ । बहराइनका राजकुमारसहितको टोलीले लोबुचे हिमाल चढिसकेको छ  अब सोही टोली मनास्लु हिमाल आरोहणमा जाने छ ।

पर्यटन विभागका अनुसार एक टोलीले यो सिजन हिमाल आरोहणका लागि अनुमति लिएको छ । पदयात्राका लागि भने विदेशबाट पर्यटक आइसकेका छैनन् । नेपालीहरुको चासो भने बढेको व्यवसायी बताउँछन् ।

 होटेल

होटेल संघ नेपाल (हान)का अनुसार देशभरका मुख्य पर्यटकीय गन्तब्यका होटेल खुलेका छन् । यद्यपि, पाहुना भने छैनन् ।

देशभर क्वारेन्टिन भनि तोकिएका बाहेक अन्य होटेल पनि खुला भएको सन्देश प्रवाह गर्न होटलहरु खुलेको संघका सदस्य युवराज श्रेष्ठ बताउँछन् ।

ठूला शहरबाट नजिकै रहेका गन्तब्यमा शुक्रबार र शनिबार पाहुना बढेको हानको भनाइ छ । चन्द्रागिरि रिसोर्टसहित काठमाडौं नजिकका रिसोर्ट, धुलिखेल, सौराह र पोखरामा आन्तरिक पर्यटक बढिसकेका छन् ।

 प्याराग्लाइडिङ

नेपाल पर्यटन बोर्ड पोखरा च्याप्टरका अनुसार नेपालको मुख्य पर्यटकीय गन्तब्य पोखरामा २ असोजबाट सम्पूर्ण पर्यटकीय गतिविधि सुचारु भएको छ । यसमा सबैभन्दा आकर्षक प्रडक्ट प्याराग्लाइडिङ बनेको छ ।

यसबाहेक पोखरामा होटेल, ट्रेकिङ, ट्राभलसहितका पर्यटकीय गतिविधि खुला भएका छन् । काठमाडौंबाट हरियो नम्बर प्लेटका पर्यटक गाडीले पोखरा र चितवनका लागि सेवा थालेका छन् ।

यी सबै गतिविधिमा विश्व स्वास्थ्य संगठन, नेपाल सरकारको गाइडलाइन र नेपाल पर्यटन बोर्डले बनाएको सुरक्षा मापदण्डलाई पूर्ण पालना अनिवार्य गरिएको बोर्ड, पोखरा च्याप्टरले बताएको छ ।

देशैभरका होमस्टे पाहुनाको स्वागतमा तयार

पछिल्लो समय आतिथ्य सेवामा आकर्षक उत्पादन हो होमस्टे । कम लगानीमा मनग्य आम्दानी हुने र ग्रामिण भेगमा शहरको पैसा आउने उत्पादनका रुपमा रहेका होमस्टेले देशभरबाट सेवा सुरु गरिसकेको होमस्टे एशोसिएसनका अध्यक्ष केशव बडालले जानकारी दिए ।

जलयात्रा र जीपलाइन पनि सुरु

नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिज (नारा)ले १ अक्टोवरबाट देशभरका नदीमा जलयात्रा खोल्ने निर्णय गरेको छ । आफ्नो समूह बनाएर पर्यटक जलयात्रामा जान चाहेमा त्यसको प्रवन्ध गरिने नाराका अध्यक्ष गंगा प्रसाद नेपाल बताउँछन् ।

आन्तरिक तथा बाह्य पर्यटकबाट चासो राखेर सोधखोज शुरु भएकोले यो निर्णय गरेको उनले बताए । कोरोनापछि कुनै टोली नदीमा जलयात्राका लागि भने गइसकेको छैन । नेपालमा जलयात्राको मौसमसमेत भर्खरै प्रारम्भ भएको छ ।

धुलिखेलमा जीपलाइनमा रमाउन चाहनेका लागि पनि उत्साहजनक खबर छ । कम्पनीले पूर्ण सुरक्षा प्रवन्ध गरेर शनिबारबाट सेवा प्रारम्भ गरेको जानकारी दिएको छ ।

बन्जीका लागि भोटेकोशी जानेहरुले भने अझै केही समय कुर्नुपर्ने भएको छ । कम्पनीले शुक्रबार फेसबुकमा आफ्ना ग्राहकलाई एक सन्देश पोष्ट गरेको छ, जसअनुसार अब बन्जीका लागि सबै मुलुकका नागरिकले समान शुल्क तिर्नुपर्ने छ ।

 

आन्तरिक एअरलाइन्सका अक्कुपेन्सी ९० प्रतिशत

५ असोजबाट आन्तरिक एअरलाइन्सले साविकको तुलनामा २५ प्रतिशत उडान गर्न थाले । १५ असोजबाट यो संख्या १०–१५ प्रतिशतसम्म वृद्धि भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार अहिले जहाजहरु औसत ९० प्रतिशत सिट भरिएर उडिरहेका छन् ।

हवाई यात्रा गर्नेमा अधिकांश घुमफिर नभई अत्यावश्यक काममा निस्कनेहरु छन् । दशैंका सामान किनमेल गर्ने व्यापारीदेखि बिरामी र अत्यावश्यक काममै निस्कने यात्रुले जहाज भरिने गरेको छ ।

Facebook Comment

छुटाउनुभयो कि?