इच्छा विपरित लोला हानेमा प्रहरी कन्ट्रोलको १०० नम्बरमा कल गर्नुस् – प्रहरी

पर्यटन बजार४ चैत्र २०७५, सोमबार मा प्रकाशित

इच्छा विपरित लोला हानेमा प्रहरी कन्ट्रोलको १०० नम्बरमा कल गर्नुस् – प्रहरी

चैत ४,काठमाडौं ।  होली पर्वमा कसैले जबरजस्ती लोला हानेमा प्रहरीले नियन्त्रणमा लिएर कारवाही गर्ने भएको छ । होलीमा सरकारले सार्वजनिक बिदा दिएपनि काम विशेषले सडकमा निस्कनेहरुमाथि कसैले लोला हानेमा त्यस्ता व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही गरिने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिएका छन् । 

‘कसैले इच्छा विपरित लोला हानेमा प्रहरी कन्ट्रोलको १०० नम्बरमा कल गर्नुस्’ एसएसपी लामाले भने, ‘प्रहरी तत्काल घटनास्थल पुग्छ, हामी पक्राउ गरेर कारवाही गर्छौं ।’ 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको स्वयम्भुस्थित भुइँखेल चौर,   भृकुटीमण्डप, सिफल चौर, गोंगबु बसपार्क, लैनचौर, ठमेल, क्षेत्रपाटी र  सामाखुसी लगायतका १८ स्थानका होली विशेष कार्यक्रम गर्न अनुमति दिएको छ । 

असन, होटल मल्ल र कुलेश्वर भलिबल ग्राउण्डमा समेत अनुमति लिएर होली विशेष कार्यक्रम गर्न लागिएको जनाइएको छ। होलीको अवसरमा ठूला कार्यक्रमहरु समेत आयोजना गरिने काठमाडौंमा होली सुरक्षाका लागि मात्रै २ हजार २ सय प्रहरी परिचालन गरिने छ । होली विशेष ठूला कार्यक्रममा १५ जनाको दरले प्रहरी परिचालन गरिने काठमाडौं प्रहरीले जनाएको छ । 

काठमाडौं प्रहरी परिसरले ‘होली विशेष सुरक्षा योजना’ बनाएर सोमबारदेखि नै प्रहरी परिचालन गरिसकेको छ । काठमाडौं प्रहरीले दिएको जानकारी अनुसार १०७ ठाउँमा पिकेट ड्युटी परिचालन गरिएका छ । कार्यक्रम हुने स्थान र सडकमा पैदल हिँड्नेहरुका लागि समस्या नपरोस् भन्नका लागि पिकेट ड्युटी खटाउने गरिन्छ । 

फागुन ६ गते पहाडी जिल्ला र काठमाडौं उपत्यकामा मनाइने फागू पूर्णिमा अर्थात होली तराईमा ७ गते मनाइँदै आएको छ । होली खेलेर बिना हेलमेट मोटरसाइकल चलाउने र मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई कारवाहीको दायरामा ल्याइने पनि काठमाडौं प्रहरीले जनाएको छ । 

Facebook Comment

छुटाउनुभयो कि?