उपेन्द्र र बाबुरामको पार्टीबीच एकता , जन्मियो ‘समाजवादी पार्टी नेपाल’

पर्यटन बजार२३ बैशाख २०७६, सोमबार मा प्रकाशित

उपेन्द्र र बाबुरामको पार्टीबीच एकता , जन्मियो  ‘समाजवादी पार्टी नेपाल’

बैशाख २३ , काठमाडौँ । बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादव अध्यक्ष रहेको संघीय समाजवादी फोरमबीच आज एकता भएको छ। दुई पार्टीले आफ्नो आफ्नो पार्टी विघटन भएको घोषणा गर्दै ‘समाजवादी पार्टी नेपाल’ निर्माण भएको घोषणा गरेका हुन्।

राजधानीको प्रज्ञा भवनमा कार्यक्रम आयोजना गरेर दुवै पार्टीले एकताको जानकारी दिएका हुन्। एकीकृत पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको वकालत गर्ने भएको छ। त्यस्तै नेपालको शासकीय स्वरुपको पुर्नसंरचनाको माग अगाडि सार्ने भएको छ। समाजवादी फार्टीले दश प्लस एक को अवधारणामा अगाडि बढ्ने जनाएका हुन्।

यो एकतासँगै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफैंले नयाँ शक्ति बनाउने तीन वर्ष लामो अभियानलाई बिश्राम दिँदै नयाँ बनेको समाजवादी पार्टी नेपालमार्फत भट्टराईले अबको यात्रा तय गर्नेछन्।

एमाओवादी परित्याग गरेको आठ महिनापछि २०७३ जेठ ३० मा  भट्टराईले नयाँ पार्टी घोषणा गरे- नयाँ शक्ति पार्टी नेपाल। युद्ध लडेका थोरै सहयोद्धा लिएर उनले नयाँ शक्ति खोलेका थिए।  भट्टराईले गठन गरेको नयाँ शक्तिमा राजनीतिक पृष्ठभूमिका अनुहारभन्दा पनि निवृत्तिभरण लिइसकेका कर्मचारीदेखि सेना, प्रहरीसम्म र चर्चित कलाकार थिए।

भट्टराईलाई पत्नी तथा नेतृ हिसिला यमी, गंगा श्रेष्ठ, देवेन्द्र पराजुलीलगायतले साथ दिए। पार्टी निरन्तर कमजोर हुँदै गएको अवस्थामा स्थानीय चुनाव ‘फेस’ गरेका भट्टराईले अपेक्षा गरे अनुसार नतिजा ल्याएनन्। 

 मधेसवादी दलको पहिचान बनाएको फोरमले केही समयअघि पहाड चढ्न अशोक राईको तत्कालीन पार्टीसँग एकता गरेको थियो। गत चुनावमा अर्को मधेसवादी दल राजपासँग चुनावी तालमेल गरेको फोरम अहिले नयाँ शक्तिसँग एक भएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?