एक साँझ पशुपतिमा !

पर्यटन बजार२६ मंसिर २०७७, शुक्रबार मा प्रकाशित

एक साँझ पशुपतिमा !

 बिनिता सिवाकोटी मंसिर २६ ,काठमाडौं । लामो समयको लक डाउन , कोरोना त्रास , लामै समयको घर बसाई , लामो समय पश्चात काठमाडौँको यात्रा र लामै समय पछि एक साँझ पशुपतिनाथ सम्मको इभिनिङ्ग वाक ।

चाबहिलको बसाई साँझ पख साथीहरुसंग सल्लाह भयो , पशुपति जाने। चिसो मौषमलाइ चुनौती दिंदै २ थान बाक्ला लुगाका साथ हामी लाग्यौं पशुपतिनाथ तर्फको इभिनिङ्ग वाकको लागि ! पाइला अघि बढ्दै गए , काठमाडौँमा दिउसो खासै चिसोको अनुभव नभएता पनि साँझमा त चिसो चिसो नै हुँदो रहेछ। गौरीघाट तर्फ़बाट हामी लगभग पशुपतिको नजिक नै पुग्यौं। पहिले जस्तै यो कोरोनाको समयमा पनि निर्धक्कका साथ फुल ब्यापारीहरु नाङ्ग्लोमा फुल सजाएर बेच्दै हुनुहुन्थ्यो। पशुपतिको बाहिर बाटै दर्शन गर्न आउनेको लर्को पनि उस्तै ! त्यहाँ पुग्दा लाग्यो खै कहाँ छ कोरोना भाइरस ?

जुन कोरोनाबाट डराएर म ९ महिना सम्म गाउँ गएर लुकेर बसेको थिए , सहरमा त त्यहि भाइरसलाइ सबैले स्वीकार गरेर कोरोनासंगै बाच्न सिकिसकेका रहेछन। एकपल सोचे अरे ! मै मात्र पो डराएर बसेको हो कि म जस्ता अरु पनि ,मानिसहरु छन् ?

उसो त ठिकै पनि हो, कतिन्जेल कोरोना संग डराएर , मन मस्तिष्कमा राखेर , त्रास पालेर बस्ने , यहाँ पेट पाल्ने अवस्था नै हराइसक्यो। बाबा ! ९ महिनाको भाडा सम्झिउ त , एकदिन नबसी खनखनि घर बाट मागेर ल्याएको पैसा घरबेटीलाइ बुझाउदाको त्यो नमिठो पल। म पनि त अब गएर काम सुरु गरौँ भनेर नै त फेरी आएकी हुँ काठमाडौँ।

थोरै अघि बढ्यौं , पशुपतिनाथ प्रांगण भित्र चिर्ने गेटैमा भिंड रहेछ। कोरोना महामारीमा दुरी कायम गरौँ , दुरी कायम गरौँ , भनेको यत्रो सुन्दा सुन्दै पनि दुरी त पटक्कै पो कायम गरेका छैनन् कसैले ! त्यहिँ भिंड मा दुरी कायम नगरी के भएको रहेछ भनेर हामी ३ जना पनि थापियौं , के गर्ने नहेरी चित्तै बुझेन।

एकजना बाजे बलिरहेको दियो माथि के के बोलेर काम्दै हुनुहुदो रहेछ , वरिपरि धेरै जना शिरमा मयुरको प्वाँख लगाउनु भएका , र हातमा ढ्यांग्रो बोक्नु भएका व्यक्तिहरु पनि देख्न पाइयो। एकछिन त अलमल्लमा पर्यौं हामी , कसैलाई नसोधी फेरी कहाँ चित्त बुझ्छ र ?

दाइ ! यो के गर्नु भएको ?
पशुपतिनाथ खोल्नु पर्यो भनेर यस्तो गरेको हो बैनी !
तुरुन्तै मनमा आयो ओहो ! ब्रेकिङ्ग न्युज पो रहेछ यहाँ , साथीलाई भने ओए मोबाइल झिकेर फोटो र भिडियो खिच त , हाम्रो लागि ब्रेकिङ्ग पो हो त।
साथी मोबाइल झिकेर केहि तस्बिर र भिडियो खिच्न थाली म थप जानकारी लिन तर्फ थाले।

बुझ्दै जाँदा पुर्वबन झाक्री तान्त्रिक झारफुक संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्र नेपालले पशुपतिनाथ छिट्टै खोल्नुपर्यो , हामीले मन्दिरमा आएर दर्शन गर्न पाएनौ भनेर यो शान्तिपूर्ण आन्दोलन गर्नुभएको रहेछ। त्यहाँको जानकारी फोटो भिडियो सहित हामी फेरी अघि बढ्यौं।

अब हामी पुग्यौं अर्को गेट तर्फ त्यहाँ बन्द गेट बाहिर तस्बिर खिच्ने धेरै जना थिए। पालो गरि गरि आफ्नो बेलुकीको समयलाई खास बनाउन बिभिन्न पोजमा तस्बिर लिने मानिसहरु बेलाबेला गेट भित्र हेरेर ढोग्ने गर्दथ्ये। सोहि तस्बिर खिच्दै गरेका एक युवाले कुकुरलाई लात्ती ले हाने, त्यो देखेर अर्का एक ब्यक्ति झोक्किए।

पशुको सम्मान र माया गर्न नजान्नेहरु किन आउनुहोला पशुपति? आफ्नो मात्र सोच्ने कस्ता मान्छे होलान , बिचरा त्यो कुकुर !

उनको त्यो भनाइ पनि बास्तबमा सहि थियो। ठिकै भन्यो है त्यो मान्छेले , साथीहरु भन्न थाले ! म हो मा हो मिलाउदै गए। थोरै पर पुगेपछि झण्डा बाजे ठुलो नेपालको झण्डा फहराउदै आउंदै हुनुहुदोरहेछ। झण्डा बोकेर बिभिन्न ठाउँमा पुग्ने वहा आज पशुपतिमा भेटिनुभयो। वहालाई रोकेर वहाको पनि भिडियो खिच्यौं वहाले उपहार स्वरुप झण्डाको स्टिकर हाम्रो मोबाइलमा टासिदिनु भयो। हामी दङ्ग पर्दै लाग्यौं घाट तर्फ।

हाम्रै अघिबाट एक शबलाइ बोकेर केहि मलामीहरु जाँदै थिए , र घाटमा जल्दै थिए धेरै लासहरु। तिनै लास संगै तड्पिदै थिए बिछोडिएका मनहरु ! बितिजा नेको सम्झनामा रुँदै थिए धेरै आँखाहरु !

त्यहाँ पुगेपछि जसलाई पनि लाग्छ , जिन्दगि त केहि होइन यार ! घमण्ड गर्नेले पशुपतिको आर्यघाट गए हुन्छ त्यसै भनेका होइनन , यस्तै कुरा गर्दै नजर मोडियो पारीपट्टिको सन्ध्या आरतितर्फ !

आहा ! यहाँ जतिको आनन्द कहाँ छ र ? जति पिर परोस , जति मनमा बाढी आओस , जति जीवनमा समस्या होस , आरति हेर्दै पशुपतिलाई नियाल्दा ति सब समस्याहरु छु मन्तर हुन्छन। साँचै जादु छ पशुपतिमा अनि सन्ध्याकालीन आरतिमा !

तर यसपटक खासै आनन्द लिन पाइएन आरतिमा ! ब्राम्हण भुवन चालिसे एक्लैले आरति गर्दै हुनुहुन्थ्यो , संधै भाका हालेर भजन गाउने गायक ज्यु ले आज बिना भाकै फटाफट आरति गाइदिनुभयो। र त्यहि आरतीको साक्षि बन्यौं हामी ७/८ जना भक्तजनहरु। भक्तजनको लिस्ट मै एकजना बिदेशी महिला एलेन पनि थिइन उसो त उनले आरति छुटाउदिनन। लकडाउन अघि देखि नै उनलाई हामीले याद गरेका थियौं र एकाध बार उनीसंग कुराकानी पनि भएको थियो। खुशी लाग्छ हाम्रो नेपालको संस्कृतिलाइ अरुले यति धेरै आत्मीयताको साथ हेरिदिदा।

पशुपतिनाथको – जय होस
शिब शंकर भगवानको – जय होस
मातृभूमिको – जय होस
भक्तजनहरुको – जय होस
संगै आधा घण्टा बढीको आरति १० मिनेटमा सकियो।

हामी आरति स्थानबाट निस्क्यौं पुन अघिकै बाटो पहिल्याउदै।

अलि वर देख्न पाइयो यस लकडाउन हालसम्मको पशुपतिनाथ बन्द भएको अवस्थामा कम्तिमा बाँदरहरुले खुलेरै आफ्नो जीवन बिताइरहेका छन्। वाह ! क्या सहि छ है यीनिहरुको जीवन , कहाँ कहाँ चढ्न सक्छन , त्यति सानो तार मा पनि हिड्न सक्छन , माथि माथिबाट हाम फाल्न सक्छन। हामीले पनि यस्तै शक्ति पाए त क्या रमाइलो हुन्थ्यो है ? साथीहरुसंग फेरी भलाकुसारी भयो। सबै मान्छेसंग यस्तो शक्ति भए त जिपलाइन , केबुलकार को त विकास नै हुँदैन थियो होला है ?
साथी ले भनि – हाहा है !

यिनै रमाइला कुरा का साथ हाँसी मजाक गर्दै लाग्यौं हामी घरतर्फ !

Facebook Comment

छुटाउनुभयो कि?