एघार सय नेपालीलाई निःशुल्क ल्याउने इत्तेहादको प्रस्ताव, अनुमति दिन सरकारको आनाकानी

पर्यटन बजार१७ भाद्र २०७७, बुधबार मा प्रकाशित

एघार सय नेपालीलाई निःशुल्क ल्याउने इत्तेहादको प्रस्ताव, अनुमति दिन सरकारको आनाकानी

भदौ १७, काठमाण्डौ।  युएईमा अलपत्र परेका ११ सय नेपालीलाई निःशुल्क चार्टर उडानमार्फत ल्याउन इत्तेहाद एयरलाइन्सले अनुमति मागेको छ । एयरलाइन्सले नेपालस्थित युएई दूतावासमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा १४ भदौमा निवेदन दिएको हो ।

सेप्टेम्बर ४ देखि ८ वटा उडानमार्फत ११ सय २० नेपाली निःशुल्क ल्याउने प्रस्ताव गरेको भए पनि हालसम्म सरकारले अनुमति दिएको छैन । दूतावासले सिसिएमसीले जारी गरेका नियमअनुसार ७२ घन्टाको पिसिआर परीक्षणसमेत निःशुल्क गराएर नेपालीलाई ल्याउने प्रस्ताव गरेको छ ।

एयरलाइन्सले युएईको रोजगारदाता कम्पनीसँग सहकार्य गरेर नेपाली श्रमिकहरूलाई निःशुल्क ल्याइदिने प्रस्ताव गरेको हो । तर, एयरलाइन्सको प्रस्तावको विषयमा आफूलाई केही जानकारी नभएको पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले बताए । बुधबार कार्यालय गएर बुझ्ने उनको भनाइ छ । सरकारले ८ सय कोटा तोकेको र सोहीअनुसार प्रस्ताव अध्ययन गरेर मात्रै निर्णय लिने सचिव अधिकारीले बताए ।

एयरलाइन्सले ४ सेप्टेम्बरदेखि १८ सेप्टेम्बरसम्म चार्टर उडान प्रस्ताव गरेको हो । उडानमा आउने कुनै पनि नेपालीले पिसिआर परीक्षण र टिकटको शुल्क तिर्नुनपर्ने प्रस्तावमा उल्लेख छ । युएईस्थित नेपाली दूतावासले सिफारिस गरेका नेपालीलाई मात्र ल्याउनेछ । प्रत्येक चार्टर उडानमा १ सय ४० जना नेपाली कामदार मात्रै ल्याइनेछ ।

भिसा अवधि सकिएकाहरूका लागि सेप्टेम्बर ११ पछि अतिरिक्त शुल्क लाग्ने भएकाले पनि अनुमति दिन माग गरिएको हो । सरकारले १७ भदौदेखि नियमित उडानसमेत खुला गर्दै छ । जसमा नागरिक उड्डयन प्राधिकरणले चार्टर र नियमित दुवै उडानका सेड्युलसमेत सार्वजनिक गरिसकेको छ । जसमा दैनिक एक चार्टर र दुई नियमित उडान गर्ने गरी सेड्युल सार्वजनिक गरेको छ । सरकारले १७ भदौदेखि २९ दिनको तालिका सार्वजनिक गरिसकेको छ ।

Facebook Comment

छुटाउनुभयो कि?