ए हजुर कता ? जनकपुर स्टेसन मा रेल हेर्न !

पर्यटन बजार२ आश्विन २०७७, शुक्रबार मा प्रकाशित

ए हजुर कता ? जनकपुर स्टेसन मा रेल हेर्न !

जनकपुरधाम । जनकपुरधामको स्टेशनमा रेल हेर्नेको भिड लागेको छ। भारतबाट आउन लागेको रेल हेर्न नागरिकहरु जनकपुरधामको रेल्वे स्टेशनमा जम्मा भएका हुन् । शुक्रबार दिउँसोसम्म आइपुग्ने रेल हेर्नेहरुको भिडले महामारीको रुपमा फैलिरहेको कोरोना (कोभिड-१९)लाई भने बिर्साइदिएको छ ।

स्टेशनमा भिड बढ्दै गएपछि नेपाल तथा सशस्त्र प्रहरीको टोली पनि तैनाथ गरिएको छ । रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार एउटा इन्जिन र चारवटा बोगीसहितको दुई सेट रेल आउन लागेका छन् । बिहारको हाजिपुर स्टेशनमा पछिल्लो एक महिना यता पार्किङमा राखिएको दुईवटा रेलको सेट जनकपुरधाम आउन लागेका हुन् ।

भारतमा निर्माण गरिएको नेपाली रेल नेपाली भूमिमा प्रवेश गरिसकेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए ।

उनले पहिलो पटक रेल आउन लागेकाले बाटो हेर्दै आउने बताए । रेल जयनगरबाट नेपाल प्रवेश गरिसकेको बताउँदै उनले रुटको बाटोको अवस्था मूल्यांकन गर्दै आउने भएकाले केही समय लाग्न सक्ने उनले बताए । यद्यपि केही घण्टामै रेल आइपुग्ने उनले बताए ।

रेल आएपछि नेपाली पक्षलाई हस्तान्तरण गरिनेछ । एउटा सानो समारोहको आयोजना गरेर रेल नेपालीलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।

उक्त कार्यक्रमको प्रमुख अतिथिमा प्रमुख जिल्ला अधिकारी भट्टराईलाई नै राखिएको छ भने रेल्वे विभागका महानिर्देशक बलराम मिश्र र निर्देशकहरुको सहभागिता रहनेछ । उनीहरु सबै जनकपुरधाम आइपुगेको भट्टराईले बताए ।

Facebook Comment

छुटाउनुभयो कि?