पर्यटन बजार९ बैशाख २०७६, सोमबार मा प्रकाशित
वैशाख ९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रतिक्रियावादी शक्तिसँग घाँटी जोडेर गलत नीति अपनाएको आरोप लगाएका छन्। आज नेपाल कम्युनिस्ट पार्टीको ७० औं जन्मदिवसमा प्रज्ञा भवनमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो आरोप लगाएका हुन्।
सहयात्री कम्युनिस्टमाथि राष्ट्रियतामा साथ दिन नसकेको आरोप लगाउँदै ने क पाका अध्यक्षसमेत रहेका ओलीले भने, ‘कांग्रेसले गलत बाटो समात्यो। कांग्रेसले त्यो बाटो अहिले पनि सच्याउन सकेको छैन।’
लोकतान्त्रिक शक्तिसँग मिल्नुपर्ने धारणा राख्दै ओलीले थपे, ‘मिलेर अघि बढ्न सक्थ्यो। धेरै दबाव दिएमात्र बाध्य पारेमात्र सहकार्यक गर्ने। प्रतिक्रियावादी शक्तिसँग घाँटी जोड्ने गलत नीति कांग्रेसले लियो। अब त्यो बाटो लिनुहुदैन। कांग्रेस लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्नुपर्छ।’
कांग्रेसका कतिपय नेता अझै पनि राजतन्त्रको सपना बोकेर हिँडेको देख्दा आफूलाई अचम्म लागेको ओलीको भनाई थियो। ‘आज अचम्म लाग्छ। कांग्रेस कहाँ पुग्यो? कांग्रेसका धेरै नेताहरु राजतन्त्र फर्काउने सपना देखेर हिड्दा विचित्र लाग्छ। मेरो शासक भइदेउ भनेर कुनै लोकतन्त्रवादीले निवेदन हाल्दैन,’ ओलीले भने।
त्यस्तै प्रधानमन्त्री ओलीले पार्टी एकजुट रहेको भन्दै कुनै पनि हालतमा विभाजित नहुने बताएका छन् । उनले पार्टी विभाजित हुने दाबी गर्दै ज्योतिषले समेत भविष्यवाणी गर्ने गरेको भन्दै त्यस्तो थाहा पाउने ज्योतिषले तत्कालीन एमाले र माओवादी मिल्दैछ भनेर किन थाहा पाएनन् भन्दै व्यङ्ग्य गरे ।
‘पार्टीमा कुनै समस्या छैन सबै ढुक्क हुँदा हुन्छ’, ओलीले भने, ‘ हल्ला यसरी चलाउन थालिएको छ हुँदाहुँदा यो महिना पार्टी टुक्रिन्छ भनेर ज्यातिषीले पनि भन्न भन्न थालेका छन्, यस्तो थाहा पाउनेले एमाले र माओवादी मिल्छ भनेर किन थाहा पाएनन् ?’
उनले पार्टी कुनै भवितब्यले नमिलेको भन्दै देश विकासको उद्देश्य राखेर एकता गरिएको बताए ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit