पर्यटन बजार२६ फाल्गुन २०७५, आईतवार मा प्रकाशित
फागुन २६,भद्रपुर । झापा र इलामको सीमा नजिकै बाह्य पर्यटकलाई लक्षित गरेर ठूलो लगानीमा ‘हिल उड होटल एण्ड रिसोर्ट’ सञ्चालनमा आएको छ । इलामको रोङ गाउँपालिका–३ कुटीडाँडास्थित मेची राजमार्ग छेउमा शनिबारदेखि सञ्चालनमा आएको सो रिसोर्ट इलाम पाथिभरा दर्शन प्रालिलेमा रु चार करोड लगानी भइसकेको र थप रु आठ करोड लगानी गरिने पर्यटन उद्यमी एवं प्रालिका अध्यक्ष वीरबहादुर कटुवालले जानकारी दिए ।
पाथिभरा मन्दिर जाने धार्मिक तीर्थयात्री, इलामको कन्याम र श्रीअन्तु एवं ताप्लेजुङको कञ्चनजङ्घा हिमाली क्षेत्रमा घुमफिरका लागि आउने पर्यटकलाई गुणस्तरीय सेवा र सुविधा पुर्याउने रिसोर्टको लक्ष्य भएको कटुवाल बताए ।
‘झापामा उधुम गर्मी हुँदा यहाँ चिसो भइरहेको हुन्छ, अन्य पहाडी क्षेत्रमा सहन नसकिने चिसो भइरहेको बेला यहाँ न्यानो हुन्छ’, झापा ट्राभल्स सङ्घका अध्यक्ष नेत्र कार्की यस क्षेत्रको विशेषता बताउँदै भन्छन्, ‘इलाममा यस्तै सुविधासम्पन्न रिसोर्टको खाँचो थियो, बल्ल पूरा भएको छ ।’
इलाम पाथिभरा दर्शन प्रालिले संचालनमा ल्याएको उक्त रिसोर्ट छपन्न रोपनी जग्गा ५० वर्षका लागि भाडामा लिएर पर्यटन उद्यमी कटुलालले एकल लगानीमा निर्माण गर्नुभएको हो ।
नेपालमा पर्यटक आगमन बढिरहेको बेला ठूलो लगानीमा खुलेको यो रिसोर्टले आन्तरिक पर्यटकसहित भारतको पश्चिम बङ्गाल र बिहारका पर्यटकलाई समेत आकर्षित गर्ने सम्भावना रहेको पूर्वी नाकामा क्रियाशील पर्यटन व्यवसायी शङ्कर भट्टराई बताउँछन्।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit