पर्यटन बजार२९ माघ २०७७, बिहीबार मा प्रकाशित
माघ २९, पोखरा : कोरोना (कोभिड—१९) पछि सुस्ताएको पर्यटन उद्योगले विस्तारै गति लिन थालेको छ। आन्तरिक पर्यटक घुमघाममा निस्कन थालेपछि पर्यटन उद्योग चलायमान हुन थालेको हो। विदेशी पर्यटक भने आउने अवस्था अझै बनिनसकेको पोखराका पर्यटन व्यवसायी बताउँछन्।
कोभिडपछि विभिन्न जिल्लाबाट विद्यार्थी शैक्षिक भ्रमण र कृषक समूह अध्ययन भ्रमणमा आउन थालेको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले जानकारी दिए। बर्दिया बाँझगढीका ४० जना कृषक समूह फेवातालको किनारमा आइतबार ताल अवलोकन गर्दै थिए। कोरोना सतर्कता अपनाएर पोखरा घुम्न आएको आमा फूलबारी कृषक समूहकी सदस्य सीता थारूले बताइन्। कृषक सोमली थारूले पहिलो पटक घुम्न आएको र पोखरा निकै रमाइलो लागेको सुनाइन्।
विद्यालयले नै विद्यार्थीलाई शैक्षिक भ्रमणमा ल्याउन थालेका हुन्। सर्लाही मलङ्वाको पदमरत्न विद्यामन्दिरका ४५ जना विद्यार्थी पोखरा भ्रमणमा छन्। विद्यालय खुलेसँगै शैक्षिक भ्रमणमा आउन पाउँदा निकै खुसी लागेको विद्यार्थी राहुल यादवले बताए। पोखरा, मनकामना, सौराहा, देवघाट, हेटौंडाको सहिद स्मारक घुम्ने गरी ५ देखि १० कक्षासम्मका विद्यार्थीलाई शैक्षिक भ्रमण ल्याएको शिक्षक गुणराज धमलाले बताए।
आन्तरिक पर्यटकले पोखराका होटल तथा रेस्टुरेन्ट विस्तारै चलायमान हुन थालेको पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले बताए। विदेशी पर्यटक आउने अवस्था सहज नबन्दासम्म पर्यटन उद्योग सस्टेन हुन नसक्ने पनि उनले सुनाए। पोखराको पर्यटन अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रामा जाने विदेशी पर्यटकको कारण बढी चलायमान हुने गर्थ्यो। विदेशी पर्यटक नआउँदासम्म यहाँका होटल, रेस्टुरेन्ट, ट्रेकिङ सपलगायत उद्योग चलायमान नहुने टान पोखराका अध्यक्ष सुशीलराज पौडेलले बताए। पदयात्रा क्षेत्रमा काम गर्ने मजदुर पदयात्राका लागि आउने विदेशी पर्यटक नआउँदासम्म बेरोजगार बन्ने पनि उनले सुनाए।
अन्नपूर्ण संरक्षण क्षेत्रमा सन् २०१९ मा १ लाख ८१ हजार विदेशी पर्यटकले पदयात्रा गरेका थिए। अन्नपूर्ण संरक्षण क्षेत्रमा आउने पर्यटक पोखरा हुँदै संरक्षण क्षेत्रको पदयात्रामा जाने गर्छन्। फर्कंदा पनि पोखरामै केही दिन बसेर फर्कन्छ। यसैले पोखरा चलायमान हुने गरेको टान पोखराका अध्यक्ष पौडेलले बताए। उनले भने, ‘कोरोना संक्रमणको कारण सन् २०२० मा भने स्थापनाकालको भन्दा पनि कम पर्यटक अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रामा पुगे। त्यो पनि कोरोना संक्रमण हुनुअघि।’
सन् २०२० मा १८ हजार ७ सय ९६ जना पर्यटक मात्र पदयात्रा गर्न पुगेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का सूचना अधिकारी ऋषि बरालले जानकारी दिए। सन् १९८९ मा अन्नपूर्ण संरक्षण क्षेत्रमा ३६ हजार ५ सय ८४ पर्यटक पुगेका थिए। सन् १९९० मा घटेर ३५ हजार ८ सय ११ पर्यटक अन्नपूर्ण संरक्षण क्षेत्रमा पदयात्रा गरेको उनले बताए।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit