कोरोनाका कारण साना पर्यटन व्यवसायीहरु पलायन हुनसक्ने सम्भावना छ – व्यवसायी थपलिया

पर्यटन बजार२० बैशाख २०७७, शनिबार मा प्रकाशित

कोरोनाका कारण साना पर्यटन व्यवसायीहरु पलायन हुनसक्ने सम्भावना छ – व्यवसायी थपलिया

बैशाख २०, काठमाडौं ।जीवन थपलिया पर्यटन व्यवसायमा संघर्षरत युवा व्यवसायी हुन् । उनी एडभेन्चर ट्रेक एंड ट्राभल, एडभेन्चर भिजन भेहिकल सर्भिसेस र एडभेन्चर गोट फार्म का सञ्चालक हुन् । पर्यटन व्यवसायी दाजु राम चन्द्र थपलिया बाट प्रेरित बनेका जीवन ले सानै उमेर देखि पर्यटन लाई बुझ्ने मौका पाएका थिए ।करिब ११ वर्ष देखि पर्यटन व्यवसाय मा लागेका थपलिया मेहनती र कर्ममा विश्वास राख्छन्। उनलाई सुरुवाती दिनमा पर्यटन व्यवसायी सुरेश दाहालले धेरै सहयोग गरेका थिए । सबैको सफलताको पछाडि कसैको हात रहन्छ, आफूलाई अघि बढ्न सुरेश दाहाल र उनका दाजु को सल्लाह, सहयोग र सत्मार्ग ले नै आफू यहाँ सम्म आइपुगेको उनले सुनाए ।
प्रस्तुत छ, युवावस्था मै विभिन्न व्यवसाय मा व्यस्त बनेका थपलिया सँग पर्यटन बजार टीम ले लक डाउन का सन्दर्भ मा गरिएको कुराकानी :

लक डाउन ले तपाईंको व्यक्तिगत र व्यवसायिक जीवनमा कस्तो प्रभाव पारेको छ ?
लक डाउन को समयमा म आफ्नो गृह जिल्ला धादिङ आएको छू। परिवारसँगको दैनिकी राम्रै संग बितिरहेको छ। बुवा आमाको छोराले समय दिँदैन भन्ने गुनासोलाई केही हद सम्म कम गर्ने मौका मिलेको छ। गाउँले जीवन मा , अर्गानिक खानामा र आफ्नो घरबारी को काम गर्दा जुन मजा आउँछ त्यो अन्त पाइँदैन ।व्यवसायिक जीवनको कुरा गर्नुपर्दा सबै कुरा नै डामाडोल बनेको छ। व्यवशाय चौपट भएको छ ,विदेशी पर्यटकले नेपाल आउन बुक गरेका सबै प्याकेज क्यान्सिल भइसकेका छन् । केही समय पर्यटन व्यवशाय मा टिक्न नै मुश्किल पर्ने अवस्था आएको छ । हाल सबैको नै हाल उस्तै छ भन्ने सम्झेर आफूले पनि चित्त बुझाइरहको छु ।
लक डाउन पछि यस व्यवसायमा कस्ता खालका असरहरू देखिएलान् ?
कोरोना कहर र लक डाउन ले सबै व्यवशाय मै असर परेको छ तर प्रत्यक्ष असर परेको भनेको पर्यटन व्यवसाय नै हो ।
पर्यटक भित्रिने सिजनमा त कतिपय व्यवसायी लाई आफ्नो व्यवसाय धान्न गार्हो पर्ने गर्दथ्यो भने अब त ६ महिना देखि वर्ष दिन सम्म पर्यटक नेपाल भित्रिने को सङ्ख्या एकदमै न्यून हुन्छ । जसले गर्दा साना पर्यटन व्यवसायीहरु पलायन हुनसक्ने संभावना पनि छ । त्यस्तै ठूला व्यवसायी को लगानी नै जोखिम बनेकोले गर्दा माथि उठ्न कति समय लाग्छ अनुमान नै गर्न गाह्रो छ । अहिले नै हामी अस्वास्थ्य प्रतिष्पर्धा संग जुद्दै आइरहेका थियौं , लक डाउन पछि यो समस्या झनै विकराल बन्न सक्छ। पर्यटन व्यवसायसँगै अन्य कुनै वैकल्पिक व्यवशाय पनि सञ्चालन गर्नुहुने व्यवसायी लाई अर्को पेशा ले केही राहत दिन सक्छ। पूर्णरुपमा यसै क्षेत्रमा संघर्ष गरिरहनुभएका व्यवसायीको लागि केही समय चुनौतीपूर्ण रहनेछ। तर यस समयलाई पनि हामीले स्वीकार गरेर काम गर्न भने छाड्नुहुन्न ।

सामान्य अवस्थामा फर्किन व्यवसायी ले कति समय पर्खनु पर्ला ?
लक डाउन, र कोरोना को असर केवल नेपालमा मात्र छैन यो विश्वभरि नै छ । अहिले सबैको कमाई घटेको छ , धेरै मानिसहरू बेरोजगार बनेका छन्, धेरै संस्थाहरु बन्द भएका छन् । त्यसैले मानिसहरूले सुरुमा आफ्नो इनकम मजबूत बनाउनु पर्ने हुन्छ, गाँस ,बास, कपास को आवश्यकता पछि मात्र मानिसहरू घुम्न निस्कन्छन् ।स्थिति सामान्य बनेपनि तत्काल सबै देशले आफ्नो नागरिक अन्य देशमा जाने अनुमति नदिन सक्छन । पर्यटक नै नआए पर्यटन व्यवसाय नै रहँदैन जसले गर्दा मानिसको दैनिकी जव सामान्य बनेर ऊ बाहिर निस्कन सक्ने क्षमताको हुन्छ तव हाम्रो व्यवशाय पनि सामान्य अवस्थामा फर्किन्छ । मेरो विचारमा पर्यटन व्यवसाय सामान्य अवस्थामा फर्किन २ वर्ष चाहिं हामीले धैर्य गर्नै पर्छ ।

कोरोना पछि नेपालमा पर्यटक भित्र्याउन के गर्नुपर्ला ?
२०७२ सालको भूकम्प पछि बल्ल तल्ल पर्यटन व्यवसाय मा केही सुधार आएको थियो । नेपाल घुम्नको लागि सुरक्षित छ भनेर सरकार ले भ्रमण वर्ष २०२० पनि घोषणा गर्यो तर कोरोनाकैं कारण भ्रमण वर्ष पनि स्थगित गर्नु पर्ने अवस्था आयो । कोरोना कहर पछि पनि हामीले नेपाल घुम्न सुरक्षित छ भनेर विश्व सामु पुर्याउन जरुरी छ । अन्तराष्ट्रिय टुर अपरेटर लाई केही छुट दिएर,उनीहरूलाई उत्साहित बनाउनुपर्छ। विदेशी बजार मा धेरै भन्दा धेरै नेपालको प्रचारप्रसार गरेर पर्यटक भित्र्याउन प्रयास गर्नुपर्छ । यसमा सबै भन्दा ठूलो हात भनेको सरकार कै हुन्छ , सरकारले नै नयाँ रणनीति बनाएर पर्यटक भित्र्याउन सहयोग गर्नुपर्छ। नेपालमा भएका पर्यटन व्यवसायीलाई पलायन हुन् नदिन पनि केही कदम चाल्नुपर्छ ।

कृषि व्यवसायमा पनि हात हाल्नु भएको रहेछ, कृषि तर्फ फर्किनु को के कारण होला ?
कृषिमा हात हालेको हो फर्किएको होइन। गाउँमा हुर्के बढेकोले कृषि संग सानै देखिको नाता छ । बीचको केही समयमा कृषि बाट टाढिएको भने पक्कै हो ।कृषिमा हात हाल्नुको मुख्य दुई कारण छन्।

पहिलो भनेको हाल म जन्मेको स्थान बाट हाइवे मा सरेको छू। जसले गर्दा आफू जन्मेको गाउँ मा जाने काम नपर्दा त्यस गाउँ बाट म टाढिँदै गए । त्यो मलाई स्वीकार्य भएन , फेरि त्यस स्थान संग जोडिन केही व्यवसाय गर्ने सोच बनाएँ र बाख्रा पालन प्रति इच्छा बढेर गयो अनि सुरुवात गरे ।पहाडी हावा पानी संग मेल खाने बोयर जातका बाख्रा पालन सुरु गरेको छु। करिब १० लाख लगानीमा एक वर्ष अघि बाख्रा पालन सुरु गरेको हुँ। लकडाउन को समयमा मैले बाख्राको रेखदेखमा पनि समय व्यतीत गरिरहेको छु ।

दोस्रो भनेको चाहिँ पर्यटन र कृषि एक अर्काका परिपुरक बन्दै गएको कारणले हो । म पर्यटन व्यवसाय मा त छदै थिए अब कृषि लाई पनि पर्यटन सँगै लग्ने योजना बनाए।
देशको अर्थतन्त्रमा कृषिको ठूलो हात रहेको छ , अहिलेको समयमा सबै खेत बारी बाँझो बन्दै गएको छ। हराभरा गाउँ छाडेर एक कोठा मा जीवन बिताउन हामी उत्साहित छौ। त्यसैले आफूले सकेको केही व्यवशाय आफ्नै गाउँमा किन नगर्ने भन्ने सोच लिएर मैले बाख्रा पालन सुरु गरें, भविष्यका दिनमा यस ठाउँमा गर्न सकिने अन्य व्यवसाय सुरु गर्ने योजना समेत बनाएको छु ।

Facebook Comment

छुटाउनुभयो कि?