कोरोनाका कारण न टिपियो यार्सा, न गइयो भोट

पर्यटन बजार२५ भाद्र २०७७, बिहीबार मा प्रकाशित

कोरोनाका कारण न टिपियो यार्सा, न गइयो भोट

भदौ २५, काठमाण्डौ। मुगु : मुगुम कार्मारोङ गाँउपालिका -१ का छिरिङ्ग तामाङको पाँचजनाको परिवार हरेक वर्ष यार्सा संकलनमा निस्कन्थ्यो। यार्सा बिक्री गरेर आएको रकमले तिब्बतको ह्याचीमारमा लाग्ने हाटबजारबाट वर्षभरी पुग्ने खाद्यन्न र लत्ताकपडा खरिद गर्थे उनीहरु।

सोही गाउँपालिका-५ का टासी तामाङको परिवारले पनि यार्सा सकंलनबाट आएकै आम्दानीले तिब्बतमा लाग्ने हाटबजारबाट खाद्यन्न र अन्य सामग्री ल्याएर जीविकोपार्जन गर्थ्यो।यार्साकै आम्दानीले परिवार पाल्ने छिरिङ्ग र टासी मात्र नभइ मुगुम कार्मारोङ गाँउपालिकाका १ देखि ९ वडाका १ हजार २ सय घरधुरी यार्साकै भरमा घर खर्च चलाउँछन् । यो गाँउपालिकाको मुख्य आयश्रोत भनेकै यार्सागुम्ब हो ।

यार्सागुम्बु संकलनबाट आएको आम्दानीले यहाँका स्थानीयबासी साउनको दोस्रो सातादेखि भदौको दोस्रो सातासम्म तिब्बतको ह्याचीमारमा लाग्ने हाटबजारबाट वर्षभरी पुग्ने खाद्यन्न लत्ताकपडासहित अन्य सामग्री पशुचौपायमार्फत ढुवानी गरेर ल्याउँथे ।

यो वर्ष कोरोनाका कारण सरकारले यार्सा संकलनमा रोक लगाएको छ। संकलनमा रोक लगाएसँगै यहाँका स्थानीयको मुख्य आयश्रोत नै गुमेको छ। तिब्बत सरकारले समेत यो वर्ष हाटबजार बन्द गरेकाले मुगुम कार्मारोङ गाँउपालिकाका स्थानीय परिवार पाल्ने चिन्तामा छन्।

जेठको दोस्रो सातादेखि असारको दोस्रो सातासम्म मुगुम कार्मारोङ गाँउपालिका-१ र २ वडाको अग्ला अग्ला पाटन क्षेत्रमा पुगी यार्सा संकलन गर्थे। आम्दानी रकमले तिब्बतको ह्याचीमोरामा लाग्ने हाटबजारबाट आवश्यक सामान खरिद गरी यो बेला घर पुगिसकेका हुन्थ्ये ।

कोरोना भाइरसका कारण यार्सा संकलन गर्न पाइएन । यार्सा संकलन नै यहाँका स्थानीयको मुख्य आयश्रोत हो । आयश्रोत नै बन्द भएपछि परिवारको पेट पाल्न धौ धौ भएको मुगुम कार्मारोङ गाँउपालिका-४ का पेमा छिरिङ्ग तामाङले बताए।

यार्साबाट आएको नगद आम्दानीसहित काठ, निगालोबाट बुनेका सामग्री, सुकाएका फलफूल, रातो चामल, खुर्सानी, चाँदीबाट बुनेका सामग्री र पशु चौपाया समेत लिएर तिब्बतीसँग साटासाट समेत गर्थे। यस्ता जिन्सी सामन भोट जान नपाएपछि घरमै थुपारिएर राख्नु परेको सोही गाँउपालिका१ का कार्मा नोर्बु तामाङ बताउँछन् ।

जेठ १५ गते देखि असार १५ सम्म यार्सा संकलन गरिसकेपछि तिब्बतीले मुगु गाँउका स्थानीयलाई हाटबजार लाग्ने समयको जानकारी पठाउँथे । तिब्बतीले पठाएको त्यही जानकारी अनुसार मुगु गाउँका स्थानीयले गाउँपालिकाभरी सबैलाई हाट बजार लाग्ने समय स्थानका बारे खबर गर्थे ।

हाट लाग्ने खबर पाउने वित्तिकै यार्सा संकलनमा गएकाहरुले संकलन गरेर ल्याएको यार्सा व्यापारीलाई बिक्री गर्थे। यो वर्ष कोरोनका कारण न यार्सा संकलन भयो न भोट जान पाइयो। परिवार कसरी पाल्ने भन्ने चिन्तामा रहेका मुगुम कार्मारोङ गाँउपालिका—२ का वडा अध्यक्ष कार्मा तामाङले बताए ।

Facebook Comment

छुटाउनुभयो कि?