कोरोनाबाट बच्न युरोपेली देशले अपनाएका उपाय

पर्यटन बजार७ आश्विन २०७७, बुधबार मा प्रकाशित

कोरोनाबाट बच्न युरोपेली देशले अपनाएका उपाय

असोज ७, काठमाण्डौ। कोरोना भाइरस (कोभिड–१९) महामारीले सबैभन्दा धेरै असर युरोपेली देशहरूमा पुर्‍याएको छ । त्यससँगै अमेरिका र एशियाका विभिन्न देशमा पनि यो भाइरसले असर गरेकोे छ । कोरोना भाइरस संक्रमण रोक्ने एउटै उपाय भ्याक्सिन मानिएको छ । धेरै देशले भाइरस संक्रमण रोक्न भ्याक्सिन निर्माणको काम अघि बढाइरहेका छन् । त्यसमध्ये कतिपय भ्याक्सिन अन्तिम चरणको परीक्षण पूरा नहुँदै प्रयोग गर्न पनि थालिएको छ । यद्यपि, ती भ्याक्सिन सार्वजनिक प्रयोगका लागि उपलब्ध भइसकेको छैन । भ्याक्सिन तयार हुनुअघिसम्म मानिसको व्यावहारिक परिवर्तनले संक्रमण रोक्न मद्दत पुर्‍याउनेछ । भाइरस संक्रमण फैलिएपछि मानिसमा मास्क लगाउने, शारीरिक दूरी कायम गर्नेलगायत व्यावहारिक परिवर्तन देखिएको छ । कोरोनाले सबैभन्दा बढी असर गरेको युरोपका देशहरूले यो संकटबाट बच्न अपनाएका व्यावहारिक उपाय यहाँ प्रस्तुत गरेका छौँ :

फ्रान्स : मास्क प्रयोग अनिवार्य

गत जुलाईमा कोरोना संक्रमण फैलिएपछि फ्रान्सेली सरकारले सार्वजनिक स्थानमा मास्क प्रयोगलाई अनिवार्य गरेको थियो । फ्रान्सले कोरोनाका कारण घोषणा गरेको लकडाउन अहिले पूर्ण रूपमा हटाउने प्रयास गरिरहेको छ । त्यसको प्रयासस्वरूप स्थानीय सरकारले सुरक्षाका नयाँ–नयाँ उपाय तय गरेका छन् । राजधानी पेरिस र त्यसवरपरको स्थानमा ११ वर्ष र त्योभन्दा माथिको उमेरका व्यक्तिलाई अझै पनि मास्क अनिवार्य गरिएको छ । तोउलोउस, निस, लिल्ली, ल्योनलगायत अरू धेरै नगरपालिकाले पनि यो नियमलाई अनिवार्य गरेका छन् । फ्रान्समा सरकारी कार्यालयमा मास्क अनिवार्य गरिएको छ ।

स्पेन : विद्यालय जाने बालबालिकालाई मास्क अनिवार्य
स्पेनमा ६ वर्षभन्दा माथिका बालबालिकालाई मास्क लगाउन अनिवार्य गरिएको छ । साथै, सार्वजनिक यातायात र ‘इन्डुअर’ कार्यालयमा मास्क अनिवार्य गरिएको छ । प्रायः क्षेत्रमा घरबाहिर जाँदा मास्क लगाउनैपर्छ । स्पेनमा विद्यालय खुलेको छ । विद्यालय जाने ६ वर्षभन्दा माथिका विद्यार्थीलाई पनि मास्क अनिवार्य गरिएको छ ।

जर्मनी : पसल र सार्वजनिक यातायातमा मास्क नलगाउनेलाई जरिवाना

जर्मनीमा ठूलो संख्यामा जम्मा हुन लगाइएको प्रतिबन्ध यो वर्षको अन्त्यसम्मका लागि लम्ब्याइएको छ । सोही कारण बुन्डेस लिगा फुटबल पनि विनादर्शक सुरु भएको छ । विभिन्न देशबाट आउने पर्यटकलाई विमानस्थलमा परीक्षण अनिवार्य गरिएको छ । साथै, पसल र सार्वजनिक यातायातमा मास्क प्रयोग नगर्नेलाई ५० युरो जरिवाना तोकिएको छ ।

इटाली : रात्रिकालीन क्लब बन्द

भाइरस संक्रमण फेरि बढ्न थालेपछि इटालीमा रात्रिकालीन क्लबहरू पुनः बन्द गर्न निर्देशन दिइएको छ । गत १७ अगस्टदेखि नै इटालीमा यस्ता सबै क्लब बन्द छन् । सामाजिक दूरी कायम गर्न नसकिने स्थानमा फेस मास्क अनिवार्य गरिएको छ । ६ महिनापछि इटालीका कतिपय ठाउँमा विद्यालय खुलेका छन् ।

डेनमार्क : बार चाँडै बन्द गर्न निर्देशन
डेनमार्क कोरोना महामारीपछि युरोपमा चाँडै विद्यालय खोल्ने देशमध्येको एक हो । त्यहाँ गत अप्रिलमै विद्यालय खोलिएको हो । तर, अगस्टको अन्त्यबाट डेनमार्कमा फेरि संक्रमितको संख्या बढ्न थाल्यो । त्यसपछि सरकारले सार्वजनिक यातायातमा मास्क अनिवार्य गरेको छ । राजधानी कोपेनहेगन र संक्रमितको संख्या बढेको त्यस वरपर क्षेत्रका बारहरू चाँडै बन्द गर्न निर्देशन दिइएको छ ।

बेल्जियम : फुटबल खेलमा दर्शकलाई अनुमति

बेल्जियममा फेरि संक्रमितको संख्या बढ्न थालेपछि यसअघि बन्द रहेका स्थान यथावतै राखिने निर्णय गरिएको छ । रात्रिकालीन क्लबहरू अझै बन्द छन् । चाडपर्व मनाउन रोक लगाइएको छ । राजधानी ब्रसेल्सका सबै ठाउँमा मास्क प्रयोगलाई अनिवार्य गरिएको छ । यद्यपि, फुटबल खेल हुँदा दर्शकलाई स्टेडियम जान अनुमति दिइएको छ । तर, थोरै संख्यामा मात्रै दर्शकलाई स्टेडियम जान अनुमति दिएको छ ।

नेदरल्यान्ड्स : ६ जनासम्म भेला हुन पाउने

नेदरल्यान्ड्समा ६ जनासम्म भेला हुन सक्छन् । यद्यपि, उनीहरू १.५ मिटरको दूरीमा बस्नुपर्नेछ । भाइरस संक्रमण फैलनबाट रोक्न सुरक्षाको अरू नियम लागू गर्ने जिम्मेवारी स्थानीय सरकारलाई दिएको छ । १७ अगस्टदेखि विद्यालय खुला छ । विद्यार्थीका सुरक्षाका लागि विभिन्न उपाय अपनाइएको छ ।

ग्रिस : बाहिरबाट आएकालाई परीक्षणा अनिवार्य

ग्रिसमा सार्वजनिक ‘इन्डुअर’ कार्यालय र सार्वजनिक यातायातमा मास्क लगाउन अनिवार्य गरिएको छ । ग्रिसको केही राज्यहरूले स्थानीय रूपमा आफ्नो छुट्टै नियमहरू पनि जारी गरेका छन् । साथै, बाहिर देशबाट आएकाहरूलाई संक्रमण परीक्षण गर्न पनि अनिवार्य गरिएको छ ।

आयरल्यान्ड : तीनभन्दा बढी घरका मानिस एकसाथ हिँड्न नपाउने

रिपब्लिक अफ आयरल्यान्डमा केही फरक नियम जारी गरिएको छ । एकपटकमा बढीमा ६ जनासम्म मानिस कसैको घरमा जान सक्छन् । तर, उनीहरू तीनभन्दा बढी घरको हुनुहुँदैन । बाहिर हुने जमघटमा १५ जनाभन्दा बढी उपस्थित हुन नपाउने नियम जारी गरिएको छ । ७० वर्षभन्दा बढी उमेरकालाई सकेसम्म घरभित्रै बस्न भनिएको छ । यस्तै, घरबाटै कार्यालयको काम गर्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।

– एजेन्सीको सहयोगमा

Facebook Comment

छुटाउनुभयो कि?