कोरोना निको भएका व्यक्तिहरू प्लाज्मा दान अभियान सञ्चालन गर्दै

पर्यटन बजार७ आश्विन २०७७, बुधबार मा प्रकाशित

कोरोना निको भएका व्यक्तिहरू प्लाज्मा दान अभियान सञ्चालन गर्दै

असोज ७, काठमाण्डौ। कोभिड– १९ संक्रमणबाट निको भएका व्यक्तिहरूले प्लाज्मा दान अभियान सुरु गरेका छन् ।कोभिड– १९ संक्रमणबाट निको भएपछि प्लाज्मा दान गरी थप चारजनासम्म संक्रमितको जीवनरक्षा गर्न सकिने भन्दै संक्रमण निको भएका व्यक्तिहरूले बुधबारदेखि प्लाज्मा दान अभियान सुरु गरेका हुन् ।

काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा पुगेर कोभिड– १९ संक्रमण निको भएका व्यक्तिले प्लाज्मा दान अभियानको  सुरुवात गरेका हुन् । उनीहरूले ‘मैले जितेँ कोरोना, म गर्छु (प्लाज्मा) रक्तदान’ भन्ने नारासहित प्लाज्मा दानको अभियानलाई अगाडि बढाएका छन् ।

कार्यक्रममा त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले कोभिड– १९ संक्रमणबाट मृत्युसँग लडिरहेका बिरामीको जीवन बचाउन प्लाज्मा थेरापीले मद्दत गर्ने भएकाले प्लाज्मा दान अभियान सुरु गरिएको बताए । प्लाज्मा संकलनका लागि अस्पतालमा प्लाज्मा बैंकको स्थापना गरिएको पनि उनले बताए ।

कार्यक्रममा कोभिड– १९ संक्रमणबाट निको भएका व्यक्तिले संक्रमितको अत्मबल बलियो भए सजिलै भाइरसलाई जित्न सकिने बताए । उनीहरूले संक्रमणबाट गम्भीर अवस्थामा पुगेका बिरामीको उपचारका लागि प्लाज्मा थेरापी महत्वपूर्ण हुने भएकाले आफूहरूले प्लाज्मा दान अभियानको सुरुवात गरेको बताए ।

‘मिल्नेले दान गरौँ नमिल्नेले उत्प्रेरित गरौँ सबै लागौँ सँगसँगै लागौँ’ भन्दै अभियान सुरु गरिएको उनीहरूले बताए ।यस अभियानका संयोजक प्रकाश भुजेलले महामारीका वेला सबैलाई उत्प्रेरणा भर्ने उद्देश्यले यस अभियान अघि बढाएको बताए । अन्य निको भएका दुईजना व्यक्तिले पनि यस अभियानमार्फत सबैमा यस महामारीसँग जुध्न हातेमालो गर्ने सन्देश दिन चाहेको बताए ।

पछिल्लो समय प्लाज्मा थेरापीबाट कोभिड– १९ संक्रमितको उपचार देशका धेरै अस्पतालले गरिरहेका छन् । सरकारले पनि परीक्षणको रूपमा बिरामीको स्वीकृति लिएर उपचार गर्न सक्ने व्यवस्था गरेको छ । त्यसैले संक्रमण निको भएका व्यक्तिहरू पनि प्लाज्मा दिएर संक्रमणसँग लडिरहेका बिरामीहरूको जीवनरक्षा गर्ने अभियानमा जुटेका हुन् ।

यो अभियानलाई देशैभर सञ्चालन गर्ने पनि उनीहरूले बताए ।

Facebook Comment

छुटाउनुभयो कि?