पर्यटन बजार९ बैशाख २०७६, सोमबार मा प्रकाशित
वैशाख ९, काठमाडौं । प्राकृतिक दृश्यावालीहरुमा मनोरम, अनुपम र अद्भूत प्राकृतिक दृश्यावली भएको स्थान हो– खप्तड । सुदुर पश्चिमाञ्चलमा पर्ने, १४०० देखि ३३०० मिटरसम्मको उचाईमा रहेको खप्तड राष्ट्रिय निकुञ्जको स्थापना चर्चित धार्मिक व्यक्तित्व खप्तड बाबाको इच्छाअनुरुप १९८४ मा भएको थियो ।
बझाङ, बाजुरा, अछाम र डोटी जिल्लाका करिब २२५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको खप्तड क्षेत्रलाई २२४ प्रजातिभन्दा बढी अमूल्य जडीबुटीहरु तथा प्राकृतिक इतिहासको जीवन्त संग्राहलय पनि भन्ने गरिन्छ । नेपालभरि पाइने करिब ५६७ प्रजातिका फूल फुल्ने विरुवाहरुमध्ये ११ प्रतिशत विरुवा खप्तडमा पाइने आँकलन गरिएको छ ।
मनै लोभ्याउने खप्तड चराचुरुङ्गीहरुको दृश्यावलोकनको लागि सबैभन्दा उत्तम ठाउँहरुमध्येका एक मानिन्छ । २८७ प्रजातिका चराहरु पाइने खप्तडमा भुक्ने मृग, जंगली कुकुर, बँदेल, घोरल, हिमाली कालो भालु र विभिन्न जातका बाँदरहरु पनि पाइन्छ । पछिल्लो तथ्यांकअनुसार त्यहाँ २३ प्रजातिका स्तनधारी जनावार तथा सोही संख्यामा सरिसृप तथा उभयचरहरु पाइन्छ ।
खप्तड दह, नाग दह, माथिल्लो त्रिवेणी लगायत पर्यटकीय क्षेत्र समेटेको खप्तडका अन्य आकर्षणहरु खप्तड बाबाको आश्रम, धार्मिक धाम शैलेश्वरी, पाँच शहरका नामले चर्चित रामरोशन, मल्लिका देवीको घरको रुपमा चिनिने बडीमल्लिका, सुरमा सरोबर आदि पर्दछन् ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit