खाडी मुलुकमा रहेकाहरूको उद्धार पहिलो प्राथमिकतामा

पर्यटन बजार९ जेष्ठ २०७७, शुक्रबार मा प्रकाशित

खाडी मुलुकमा रहेकाहरूको उद्धार पहिलो प्राथमिकतामा

जेठ ९, काठमाडौं।विदेशमा अलपत्र नेपालीको उद्धार गर्दा खाडी मुलुकमा रहेकाहरू पहिलो प्राथमिकतामा पर्ने सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बताएका छन् । त्यसरी उद्धार गरिएकाहरूलाई राख्न होटल तथा रिसोर्टलाई क्वारेन्टाइन बनाउने तयारी भइरहेकाे उनले जानकारी दिए ।

बिहीबार सहरी विकास मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री मानन्धरले घर फिर्ती चाहेका नेपालीको उद्धारका लागि तिनको वर्गीकरण गर्न लागेकाे बताए ।  वर्गीकरणमा खाडीमा कार्यरत नेपालीलाई पहिलो प्राथमिकतामा राखिने उनकाे भनाइ छ ।

विपदमा फसेका नेपालीबारे सरकार चिन्तित छ,’ बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री मानन्धरले भने, ‘तिनको वर्गीकरण गरेर उद्धार थाल्छौं । त्यसरी उद्धार गर्दा खाडीमा रहेका पहिलो प्राथमिकतामा रहनेछन् ।’

विदेशबाट उद्धार गरिएकालाई क्वारेन्टाइनमा राखेर आवश्यक स्वास्थ्य परीक्षणपछि मात्रै घर पठाउने योजना सरकारको छ ।

मन्त्री मानन्धरका अनुसार, उद्धार गरिएका नेपालीलाई राख्नका लागि होटल तथा रिसोर्टलाई क्वारेन्टाइन बनाउने तयारी पनि सरकारले सँगसँगै अगाडि बढाएको छ ।

‘व्यवस्थित ढंगले देशभर चलेका होटल तथा रिसोर्टहरूलाई क्वारेन्टाइन बनाउनेबारे आवश्यक परामर्श थालिसकेका छौं,’ मन्त्री मानन्धरले भने । त्यसरी प्रयोगमा ल्याइने निजी होटल तथा रिसोर्टलाई उपभोगबापत निश्चित रकम उपलब्ध गराउने मन्त्री मानन्धरले जानकारी दिए ।

Facebook Comment

छुटाउनुभयो कि?