पर्यटन बजार२६ फाल्गुन २०७५, आईतवार मा प्रकाशित
फागुन २६, पोखरा । गण्डकी प्रदेशले होमस्टे प्रवर्द्धन कार्यक्रम सुरु गरेको छ । चालू आर्थिक बर्ष भित्रमा प्रदेशभित्रका तीन सय गाउँलाई पर्यटकीय गाउँ बनाउने योजनाअनुरूप प्रवर्द्धन कार्यक्रम सुरु गरिएको हो ।
पहिलो चरणमा १९० गाउँ छनौटमा परेका छन् । १ सय ९० होमस्टेमध्ये सबैभन्दा धेरै स्याङ्जा र पर्वतका मात्रै ४२/४२ वटा छन् । सबैभन्दा कम मनाङबाट दुईवटा मात्रै गाउँ छनोटमा परेका छन् । यसैगरी तनहुँमा ३३, कास्कीमा १९, बाग्लुङमा १६, लमजुङमा १४, गोर्खामा ९, नवलपुरमा ६, म्याग्दीमा ४ र मुस्ताङमा ३ वटा होमस्टे छनौटमा परेका छन् ।
होमस्टे सञ्चालनका लागि प्रदेशका ११ जिल्लाबाट दुई सय २८ गाउँले निवेदन दिएका थिए । त्यसमध्ये आवश्यक मापदण्ड पूरा गरेका १ सय ९० गाउँलाई सरकारले छनौट गरेको हो । छनौटमा नपरेका ३८ गाउँलाई पनि आवश्यक प्रक्रिया पूरा गरेपछि अनुमति दिइने जानाइएको छ ।
प्रदेश सरकराले प्रदेशभित्रका ८५ स्थानीय तहबाट एक/एक गाउँ छनोट गरी नमुना पर्यटकीय गाउँका रूपमा विकास गर्न लागेको प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले जानकारी दिए ।होमस्टे सञ्चालनका लागि छनोट भएका गाउँलाई पाँच वर्षभित्र स्मार्ट भिलेज बनाउने सरकारको योजना छ । प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अहिले हामेस्टेका लागी छानिएका गाउँले राम्रो काम गरे ५ वर्षभित्र स्मार्ट भिलेजका रूपमा विकास गर्ने सरकारको योजना रहेको सुनाए ।
पर्यटकीय गाउँ बनाउने योजनाका लागी सरकारले चालू आर्थिक वर्षको बजेटमा ३० करोड रुपैयाँ विनियोजन गरेको छ । छानिएका प्रत्येक गाउँले १०/१० लाख अनुदान पाउनेछन् । सो रकम गाउँमा खानेपानी, विद्युत्, इन्टरनेट सेवा, सामुदायिक भवन निर्माणमा खर्च गनुपर्ने छ । छनोटमा परेका प्रत्येक गाउँले पहिलो किस्ताबापत चार लाख अनुदान पाइसकेका छन् ।
पहिलो चरणमा छनोट भएका यी होमस्टेले मासिक ५० हजार रुपैयाँ आम्दानी र एक हजारलाई रोजगारी प्रदान गर्ने सरकारको दाबी छ ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit