पर्यटन बजार६ फाल्गुन २०७५, सोमबार मा प्रकाशित
फागुन ६, काठमाडौं । न्यूपारा वर्ल्ड प्राइभेट लिमिटेड पोखरा, कर्णाली एरोडाइनामिक रिसर्च सेन्टर जुम्ला र तातोपानी गाउँपालिकाद्वारा जुम्लामा प्याराग्लाइडिङ परीक्षण उडान सुरू गरिएको छ। सम्भाव्यता स्थानका लागि परीक्षण उडान सुरू गरिएको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा जुम्लाका विभिन्न स्थानमा परीक्षण उडान गरी सम्भावित स्थान खोजी गर्न अनुमति दिएअनुसार जुम्लाको तातोपानी गाउँपालिकाले पर्यटन प्रवर्द्धन गर्ने भन्दै परीक्षण उडान सुरू गरेको हो।
यसअघि तातोपानी गाउँपालिका निवासी टक्क सार्की आफैंले बनाएको प्याराग्लाइडिङ परीक्षण उडान गरेपछि अब भने जुम्लामा आवश्यक स्थानको पहिचान गरी उडान नियमित सञ्चालन गर्ने तयारी गरिएको कर्णाली एरोडाइनामिक रिसर्च सेन्टरका अध्यक्षसमेत रहेका सार्कीले जानकारी दिए।
गाउँपालिका वडा नं ५ लाम्रा गाउँको बाइसथाप्लाको डाँडाबाट पोखराका दक्ष पाइलटको उपस्थितिमा गाउँपालिकाले परीक्षण आरम्भ गरेको हो। न्यूपारा वर्ल्ड प्राइभेट लिमिटेडका पाइलट सुभास थापा, रमेश पहाडी, सुरज गौतम र प्रवीण विसी जुम्ला पुगेर प्याराग्लाइडिङ परीक्षण सुरू गरिएको हो। परीक्षण उडानमा जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्की र गाउँपालिका अध्यक्ष नवराज न्यौपाने सहभागी थिए। जिसस प्रमुख सार्कीले प्याराग्लाइडिङ उडान गरिसकेपछि जुम्लाकै पर्यटन प्रवर्द्धन गर्न उडान नियमित गर्नुपर्ने बताए।
गाउँपालिका अध्यक्ष न्यौपानेले तातोपानीमा प्याराग्लाइडिङबाट पर्यटकीय सम्भावना भएकाले यसलाई नियमित गर्न आवश्यक रहेको बताए। तातोपानीमा आन्तरिक तथा बाह्य पर्यटक धेरै आउने गरेकाले यो सञ्चालन गर्न सकिने उनको भनाइ थियो।
पाइलट थापाले जुम्लामा प्याराग्लाइडिङको सम्भावना निकै राम्रो रहेको बताए। यसैगरी जुम्लाको सिञ्जा, चौधबिस, गुठीचौर, च्यारेचौरलगायतका स्थानमा समेत परीक्षण उडान गर्ने सेन्टरका अध्यक्ष सार्कीले जानकारी दिए।
सरकारले दिएको १५ दिनको समयमा परीक्षण उडान गरिसक्ने र पोखराबाट आएको टिमले दिएको प्रतिवेदनअनुसार जुम्लामा प्लाराग्लाइडिङ व्यावसायिकरूपमा सुरूआत गर्ने तयारी भएको छ।
युट्युब हेरेर प्याराग्लाइडिङ बनाएर उडान गर्ने टक्कले एस एलसी उत्तीर्ण मात्रै गरे पनि विभिन्न सयौं विज्ञानका अनुकरणीय अभ्यास गर्दै आउँदा आफैं प्याराग्लाइडिङ बनाएर उडान भरेका थिए। उनी साहसिक काम गरेपछि उनकै गाउँमा अबिर जात्रासमेत गरिएको थियो। अहिले टक्ककै प्रयासमा जुम्लामा प्याराग्लाइडिङ उडान कार्य परीक्षण उडान सुरू भएको हो।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit