गुन्द्रुक ढिडो – सहरको ब्राण्ड , ग्रामिणको बाध्यता

पर्यटन बजार१० माघ २०७७, शनिबार मा प्रकाशित

गुन्द्रुक ढिडो – सहरको ब्राण्ड , ग्रामिणको बाध्यता

माघ १० ,काठमाडौँ।ढिँडो एक परम्परागत नेपाली खाना हो। यो मकै, गहुँ कोदो वा फापरको पिठोबाट बनाइन्छ। यो एक स्वास्थ्यबर्धक तथा सर्बसुलभ नेपाली परिकार हो। ढिडो र गुन्द्रुक शहरको छुटै ब्रान्ड हो ।

लेकाली भेगमा फापर, कोदो, मकै उत्पादन हुन्छन् । त्यस भेगका यि रैथाने उत्पदनबाट ढिडो बन्छ । जैविक खाना यसै स्वादिलो र स्वस्थ्यकर हुने भयो ।लेकाली भेगको मुख्य खान्की, शहरका सौखका । कतिपय लेकाली भेगमा अझैपनि ढिडो र गुन्द्रुक खाइन्छ । पिरो, अमिलो गुन्द्रुकसँग ढिडोले बिहान-साँझको छाक टारिन्छ । गाउँघरतिर यसलाई ‘अडिलो खाना’ भनिन्छ । अर्थात एक छाक भरपेट खाएपछि दिनभरलाई पुग्ने ।

पहिला पहिला–गाउँघरमा चामल उत्पादन कम हुने भएकाले कोदोको ढिँडो बढी खाने गरिन्थ्यो । त्यसैले पनि चामलको भातलाई कुनै विशेष चाडपर्वमा खानुपर्छ भन्ने मान्यता पनि रहेको थियो ।

तर, अहिले समय निकै परिवर्तन भएको छ । गाउ शहरमा चामल भन्दा ढिँडो लोकप्रिय बन्न थालेको छ । परिवारका सबै सदस्य भेट हुँदा घरमा मिठो परिकार बनाउने भनेर चिसोमा ढिडो खाने चलन समेत आएको छ ।

गुन्द्रुक पनि हाम्रो आफ्नै रैथाने परिकार हो । विश्वमा नेपालको चिनारी दिने परिकार हो, गुन्द्रुक । तिब्बत, भुटान, सिक्किम, दार्जलिङमा पनि गुन्द्रुकको प्रचलन भने छ । गुन्द्रुक नेपालको ग्रामीण भेगदेखि तारे होटलसम्म प्रख्यात छ । यो विदेशीले पनि अत्यन्तै पन पराउने परिकार हो । गुन्द्रुकमा ४८ प्रतिशत कार्बोहाइडेट, ४९ प्रतिशत प्रोटिन र ३ प्रतिशत चिल्लो पदर्थ हुने गर्छ । यो छोटो समयमै तयार गर्न सकिने स्वादिष्ट परिकार हो ।रायो वा तोरीको सागलाई ओइलाएर विशेष किसिमले गलाएपछि त्यो अमिलो हुन्छ । यसलाई घाममा सुकाएर भण्डारण गरिन्छ । जति–जति बेला तरकारी अभाव हुन्छ, गुन्द्रुकको झोल पकाइन्छ । अर्थात दुःखको छाक टार्ने खान्की पनि हो, गुन्द्रुक ।

ढिडो र गुन्द्रुक आपसमा मिल्ने परिकार हुन् । त्यसलाई गोलभेडा र टिमुरको अचारले थप तिख्खर बनाउँछ ।

ढिडो र गुन्द्रुकमा हामी आफ्नो स्वाद भेट्छौ । किनभने यो हाम्रा पूर्खाहरुले तयार गरेको थाली हो । अतः यो थाली कति सन्तुलित एवं पौष्टिक छ त ? ढिडो र गुन्द्रुक कति स्वस्थ्यवद्र्धक खान्की हो ?

पहिलो कुरा त, मकै, कोदो, फापर आदि हाम्रै खेतबारीमा उत्पादन हुने अन्न हुन् । यसकारण यो सर्वसुलभ छ, हाम्रो निम्तिी । अक्सर आफ्नै बालीनालीमा उत्पादन हुने भएकाले विषादीको प्रयोग हुँदैन । अर्थात जैविक उत्पादन भए । मकै, कोदो, फापरमा पोषकतत्व पनि पर्याप्त हुन्छ । मधुमेह, उच्च रक्तचाप, युरिक एसिड जस्ता समस्याबाट मुक्त रहनका लागि पनि यस्तो खान्की निकै उपयोगी हुने बताइन्छ ।

तिख्खर स्वादको गुन्द्रुक, नरम ढिडो र टिमुर–गोलभेडाको अचार । अथवा तपाईं यसमा लोकल कुखुराको झोल पनि समावेश गर्न सक्नुहुन्छ । थोरै साग । त्यसमाथि दही भए त गजब !

शहरमा चाहि ढिडो सौखिनहरुले खाने खान्की हो । कुनै दिन स्वाद फेर्नुपरेमा धेरैले आफ्नो भान्सामा ढिडो मस्काउन थाल्छन् । ढिडोको लागि कोदोको पिठो भए हुन्छ, मकैको पिठो भए हुन्छ, फापरको पिठो भए हुन्छ । अर्थात विकल्प धेरै छन् । पकाउन उत्तिकै सजिलो । सजिलो मात्र कहाँ हो र ? स्वादिलो पनि ।

त्यही कारण त शहरका नामी रेष्टुरेन्टको मेनुमा उपलब्ध छ, ढिडो र गुन्द्रुक । कतिपय त यस्ता रेष्टुरेन्ट छ, जसले मूख्य खान्कीको रुपमा ढिडो र गुन्द्रुक नै पस्कने गरेको छ । शहर एवं राजमार्गका होटल÷रेष्टुरेन्टको विकाउ परिकार हो यो । रुचीकर परिकार हो ।

Facebook Comment

छुटाउनुभयो कि?