घुमन्तेहरुको लागि १० उत्कृष्ट गन्तब्य

पर्यटन बजार२९ माघ २०७७, बिहीबार मा प्रकाशित

घुमन्तेहरुको लागि १० उत्कृष्ट  गन्तब्य

माघ २९, काठमाण्डौ। देशभर घुम्ने गन्तव्य धेरै छन् । विदेशी पर्यटकको आकर्षणमा रहेका ठाउँ चर्चित भए पनि घुम्ने बानी र स्थलबारे नेपाली र विदेशीको रुचि भने केही फरक हुन्छ । त्यसमाथि नेपालीमाझ पछिल्लो समय घुम्ने संस्कृति गज्जबसँग मौलाएको पनि छ । जहाँतहींको अनुभवले पनि भन्छ– पर्यटन उद्योग उकालो लाग्ने हो भने आन्तरिक पर्यटन पनि उसैगरी बढ्नुपर्छ ।

घुमफिरको मूडमा हुनुहुन्छ भने यो उपयुक्त मौसम पनि हो । यहाँ हामी निकै चर्चामा रहेका भन्दा केही फरक १० गन्तव्यबारे तपाईंलाई जानकारी दिंदैछौं । 

वन्यजन्तुले रोमाञ्चक शुक्लाफाँट

विशाल घाँसे मैदानको फाँट र एकैसाथ देखिने दुई हजार भन्दा बढी बाह्रसिङ्गाको बथान शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रमुख आकर्षण हो । ३०५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको शुक्लाफाँटामा करीब १७ प्रतिशत घाँसे मैदान छ । शुक्लाफाँटामा बाह्रसिङ्गाका साथसाथै पाटेबाघ, एकसिङ्गे गैंडा, कृष्णसार लगायतका वन्यजन्तु पाइन्छन् । निकुञ्जभित्र रहेका बाबाताल, रानीताल, लालपानी क्षेत्रबाट बाघ हेर्नु निकै रोमाञ्चक हुन्छ ।

कञ्चनपुर जिल्ला सदरमुकाम महेन्द्रनगरबाट निकुञ्ज प्रवेशद्वार मजगाउँ पाँच किलोमिटर पश्चिममा पर्छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा परापूर्वकालमा थारू राजा सिंपालको दरबार रहेको उल्लेख भएको शिलालेख छ ।शुक्लाफाँटा पुग्नेले छुटाउनै नहुने ठाउँ साविकका दोधारा र चाँदनी गाविस जोड्ने करीब १५०० मिटर लामो झोलुङ्गे पुल पनि हो ।

होटल खर्चः महेन्द्रनगरमा तीन तारे होटलको सुविधा भए पनि निकुञ्ज नजिक भने एउटा मात्रै रिसोर्ट छ । रिसोर्टमा सुविधा अनुसार रु.१२०० देखि रु.२५०० तिरेर एक रात विताउन सकिन्छ । निकुञ्जसँगै जोडिएको क्षेत्रमा राना थारू सामुदायिक होमस्टे सञ्चालनमा छ । होमस्टेमा भने एक रात बास बसेको रु.५०० मात्र लाग्छ ।

कसरी जानेः काठमाडौं नयाँ बसपार्कबाट ७०४ किलोमिटरको दूरीमा रहेको महेन्द्रनगर बसबाट करीब १८ घण्टामा पुगिन्छ । महेन्द्रनगरबाट शुक्लाफाँटा पाँच किलोमिटर पश्चिममा छ । हवाईजहाजबाट जाने हो भने काठमाडौंबाट धनगढीसम्म ५० मिनेट र धनगढीबाट गाडीमा करीब डेढ घण्टामा शुक्लाफाँटा पुगिन्छ । बसमा जाँदा काठमाडौंबाट महेन्द्रनगरसम्मको भाडा एसी बसमा रु.२०००, डिलक्समा रु.१६०० र साधारण बसमा रु.१३५० लाग्छ ।

प्रमुख आकर्षणः घाँसे मैदान, बाह्रसिङ्गा, दोधारा चाँदनीमा रहेको झोलुङ्गे पुल ।

प्रकृति र संस्कृतिको संगम बर्दिया

९६८ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघसहित एकसिङ्गे गैंडा, चितुवा, जरायो, चित्तल, बाह्रसिङ्गा, जंगली हात्ती लगायत ५६ प्रजातिका जनावर पाइन्छन् । यस्तै निकुञ्जमा घडियाल गोही, मगर गोही, सोंस लगायतका सरीसृप र ४५० भन्दा बढी किसिमका चरा छन् । चाहना अनुसार हात्ती वा जीपको सफारी या जंगलमा पैदल यात्रा गरेर मनोरम दृश्यसँगै जंगली जनावरको आनन्द लिन सकिन्छ ।

निकुञ्ज कार्यालय ठाकुरद्वारा नजिक थारू होम रिसोर्ट चलाइरहेका मोहन चौधरी बर्दियामा पर्यटकको भीडभाड नहुने भएकाले प्रकृतिसँग एकाकार हुन सहज हुने र जंगली जनावर सजिलै देख्न पाइने बताउँछन् । जंगलको आनन्दसँगै थारू संस्कृति बुझ्ने मौका पनि बर्दियाको महत्वपूर्ण आकर्षण हो । यहाँ कर्णाली र बबई नदीमा र्‍याफ्टिङ र फिसिङको मजा पनि लिन सकिन्छ ।

निकुञ्जबाट करीब २५ किलोमिटर पूर्वतर्फ खैरापुरमा रहेको लोपोन्मुख वन्यजन्तु कृष्णसार संरक्षित क्षेत्रमा कृष्णसारका बथान हेर्न पाइन्छ । संरक्षित क्षेत्र बर्दिया सदरमुकाम गुलरियाबाट ५ किलोमिटर दूरीमा छ ।

बर्दिया पुगिसकेपछि प्रदेश–५ र सुदूरपश्चिम प्रदेशको सीमा छुट्याउने चिसापानीस्थित कर्णाली नदीमाथि एउटा टावरमा तारले अड्याइएको पुलसम्म पुग्न सकिन्छ । त्यहाँ बाह्रै महीना चल्ने चिसो हावा र माछाको स्वादले थप रोमाञ्चित बनाउँछ ।

होटल खर्चः बर्दिया निकुञ्जमा नेपालीलाई रु.८०० मा अट्याच बाथरुम सहितको कोठा र रु.१६०० मा वातानुकूलित कोठा पाइन्छ । होमस्टेमा एक छाक खानासहितको बासका लागि रु.८०० पर्छ ।

कसरी जानेः काठमाडौंबाट जहाजमा ५० मिनेटमा नेपालगञ्ज र त्यहाँबाट डेढ घण्टाको बस यात्रामा बर्दिया राष्ट्रिय निकुञ्ज पुग्न सकिन्छ । काठमाडौंको नयाँ बसपार्कबाट बर्दिया सदरमुकाम गुलरिया जान रु.११०० मा डिलक्स बस पनि पाइन्छन् । बिहान र बेलुका काठमाडौंबाट छुट्ने यी बसले करीब १५ घण्टामा बर्दिया पु्‍र्‍याउँछन् ।

गुलरियाबाट पाँच किलोमिटर पर रहेको कृष्णसार संरक्षण क्षेत्र हेर्दै बर्दिया राष्ट्रिय निकुञ्ज पुग्न सकिन्छ । सदरमुकाम नगएर सीधै निकुञ्ज पुग्नका लागि बर्दियाको भुरीगाउँसम्म पुग्ने बसहरू पनि पाइन्छन् । भुरीगाउँबाट स्थानीय बसमा ३० मिनेटमा ठाकुरद्वारा पुगिन्छ ।

प्रमुख आकर्षणः हात्ती र गोही प्रजनन् केन्द्र, थारू सांस्कृतिक संग्रहालय, रु.५०० मा एक घण्टा हात्ती सफारी ।

लाङटाङ र गोसाइँकुण्ड ट्रेक

सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लामा ६,४४० मिटरको उँचाइसम्म फैलिएको लाङटाङ हिमाली क्षेत्रको पहिलो राष्ट्रिय निकुञ्ज हो । ६६० वर्ग किलोमिटर क्षेत्रफल ओगट्ने लाङटाङ राष्ट्रिय निकुञ्जमा चर्चित हिम उपत्यका लाङटाङ, केन्जिन भ्यालीका साथै धार्मिक स्थल गोसाइँकुण्ड छ । हिमाली क्षेत्रको पदयात्रामा लाङटाङ विश्वकै चर्चित गन्तव्यमध्येको हो ।

लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने गोसाइँकुण्ड र लाङटाङ उपत्यका जाने छुट्टाछुट्टै ट्रेकिङ ट्रेल छन् । लाङटाङ र केन्जिन भ्याली उपत्यकाको पदयात्रा पूरा गरेर काठमाडौं फर्किन पाँच दिन लाग्छ । गोसाइँकुण्डको पदयात्रा भने चार दिनमा पूरा गर्न सकिन्छ । असोज–कात्तिक महीना लाङटाङ ट्रेकमा जाने राम्रो समय हो ।

यहाँ पदयात्राका क्रममा रेड पाण्डा, हिमचितुवा, जंगली कुकुर लगायतका जनावर पनि देख्न पाइने संयोग मिल्न सक्छ ।

होटल खर्चः एक रात बस्नुपर्ने स्याफ्रुबेसी र धुन्चेमा तातो–चिसो पानी आउने सुविधा सहितका होटलहरू रु.१२०० देखि पाइन्छन् । यस्तै, गोसाइँकुण्ड र लाङटाङ ट्रेकिङ रुटमा पनि सुविधाजनक होटलहरू छन् । सामान्य खर्च दैनिक रु.१५०० सम्म हुन्छ ।

कसरी जानेः गोसाइँकुण्ड जान काठमाडौंको माछापोखरीबाट रसुवा सदरमुकाम धुन्चेसम्म सार्वजनिक यातायातमा पाँच घण्टामा पुगिन्छ । एक रात धुन्चे बसेर विस्तारै हिंड्दा पनि दुई दिनमा गोसाइँकुण्ड पुगिन्छ । फर्किंदा भने एक दिनमा सहजै धुन्चे पुग्न सकिन्छ ।

लाङटाङ उपत्यकाः धुन्चेबाट गाडीमा एक घण्टामा स्याफ्रुबेसी पुगिन्छ । स्याफ्रुबेसीमा रात बिताएर अर्को दिन बिहानदेखि ट्रेकिङ गर्दै लाङटाङ उपत्यका पुग्न तीन दिन र फर्किन एक दिन लाग्छ ।

प्रमुख आकर्षणः हिम उपत्यका, मनोरम प्राकृतिक दृश्य ।

पर्सा, गढीमाई र सिम्रौनगढ

जंगल सफारी भन्ने बित्तिकै धेरैको ध्यान चितवनतर्फ पुग्छ । तर, चितवनभन्दा फरक ठाउँ जान चाहनेका लागि पर्सा राष्ट्रिय निकुञ्ज राम्रो विकल्प हो ।काठमाडौंबाट पर्सा राष्ट्रिय निकुञ्ज प्रवेशद्वार हात्तीसार १५० किलोमिटरको दूरीमा छ । यहाँ ९१९ प्रजातिका बोटबिरुवा र १०० भन्दा बढी प्रकारका जंगली जनावर छन् । गौरी गाई पर्साको प्रमुख आकर्षण हो ।

पर्सा निकुञ्जको सिमाना पश्चिममा चितवन राष्ट्रिय निकुञ्ज र दक्षिणमा भारतको वाल्मीकि राष्ट्रिय निकुञ्जसँग जोडिएकाले पर्सामा चितवनमा पाइने सबै किसिमका जनावर देखिन्छन् । पाटेबाघ, हात्ती, एकसिङे गैंडा, मृग र जरायोका बथानहरू पर्सामा सजिलै देख्न पाइन्छ ।

पर्सा राष्ट्रिय निकुञ्ज घुमेपछि करीब ४० किलोमिटरको दूरीमा रहेको बाराको गढीमाई पुग्न सकिन्छ । पाँच वर्षमा विशेष मेला लाग्ने गढीमाई प्रसिद्ध शक्तिपीठ हो । थप एक दिन समय छ भने प्राचीन मिथिला राज्य तिरहुतको राजधानी सिम्रौनगढ पनि पुग्न सकिन्छ ।

सन् १०९७–१३२६ सम्म मिथिला राज्यको राजधानी रहेको सिम्रौनगढ अहिले बारा जिल्लाको सिम्रौनगढ नगरपालिकामा पर्छ । तिरहुत सभ्यता र संस्कृतिको केही अवशेष अहिले पनि त्यहाँ देख्न पाइन्छ । ५२ बिघा क्षेत्रफलमा फैलिएको पोखरी सिम्रौनगढको अर्को आकर्षण हो ।

होटल खर्चः सिमरा र निकुञ्ज नजिकै रहेको अमलेखगञ्जका होटलमा रु. १००० मा साधारण कोठा र रु.१५०० मा एसी सहितका कोठा पाइन्छन् ।

कसरी जानेः आफ्नै गाडी छ भने हेटौंडाबाट पर्सा राष्ट्रिय निकुञ्ज, गढीमाई, सिम्रौनगढ र जनकपुरसम्म घुमेर बीपी राजमार्ग हुँदै सिन्धुली गढी भएर ६ दिनमा काठमाडौं फर्किन सकिन्छ । सार्वजनिक यातायातमा जाने हो भने बल्खुबाट जीप चढेर तीन घण्टामा हेटौंडा पुगिन्छ । हेटौंडाबाट पर्सा राष्ट्रिय निकुञ्ज प्रवेशद्वार गाडीमा २० मिनेटमा पुगिन्छ । जहाजमा काठमाडौंबाट सिमरा १५ मिनेटमा पुगिन्छ, त्यहाँबाट १० किलोमिटरको दूरीमा हात्तीसार छ ।

प्रमुख आकर्षणः गौैरी गाई, नेपालको पुरानो रेलवे स्टेसन अमलेखगञ्ज, रु.७०० मा एक घण्टा हात्ती सफारी, रु.१५०० मा जंगल सफारी प्याकेज ।

इतिहासको शान सिन्धुली गढी

वि.सं. १८२४ मा गोर्खाली फौजले अंग्रेज फौजसँग बहादुरीपूर्वक लडेर विजय प्राप्त गरेको स्थान हो, सिन्धुली गढी । काठमाडौंका अन्तिम राजा जयप्रकाश मल्लले सहयोगका लागि बोलाएको कप्तान किन्लक नेतृत्वको अंग्रेज फौजलाई यही स्थानमा गोर्खाली फौजले परास्त गरेका थिए । गोर्खालीले अंग्रेजलाई हराएको गढी क्षेत्रमा त्यसबेला बनाइएका ट्रेन्च, आड तथा दुर्गहरू अहिले पनि हेर्न सकिन्छ । लेकको खाना, रसिला जुनार र डाँडाबाट तराईको दृश्यावलोकनले यहाँको मजा बेग्लै छ ।

सदरमुकाम सिन्धुलीमाडीबाट करीब १६ किलोमिटर उत्तरतर्फ र काठमाडौंबाट १४० किलोमिटर पूर्वमा पर्ने सिन्धुली गढी पुग्नेलाई बीपी राजमार्गले सहज बनाएको छ । नागबेली परेको बीपी राजमार्गमा यात्रा गर्ने प्रायःले ‘सेल्फी डाँडा’ मा फोटो खिचेकै हुन्छन् । थप एक दिन समय छ भने दुई घण्टामा धार्मिक र पौराणिक शहर जनकपुरधाम पनि पुग्न सकिन्छ ।

होटल खर्चः सिन्धुलीका होटलमा एक रात बास बस्न न्यूनतम रु.१५०० लाग्छ । सामान्य खर्च गर्ने हो भने काठमाडौंबाट सिन्धुली गढी घुमेर फर्कंदा रु.६ हजार खर्च हुन्छ ।

कसरी जानेः काठमाडौंको कोटेश्वरबाट १५–१५ मिनेटमा छुट्ने माइक्रो बसले तीन घण्टामा सिन्धुलीमाडी पु¥याउँछन् ।

प्रमुख आकर्षणः सिन्धुली गढी, जुनार खेती ।

पाल्पाको रानीमहल र चुकाउनी

सेन वंशीय राज्यको राजधानी पाल्पा विक्रम सम्वत् १८६१ मा नेपाल राज्यमा गाभियो । रानीमहल, श्रीनगर डाँडा, राम्दी सुन गुफा, कालीगण्डकी आदि पाल्पाका प्रमुख पर्यटकीय स्थलहरू हुन् ।तत्कालीन पश्चिम कमाण्डिङ जनरल खड्गशमशेरले आफ्नी दिवंगत रानीको सम्झनामा रानीमहल बनाएका थिए । पाल्पा सदरमुकाम तानसेनबाट १५ किलोमिटर उत्तरपश्चिममा अवस्थित रानीमहल पुग्न गाडीमा एक घण्टा र पदयात्रा गर्दा तीन घण्टा लाग्छ । रानीमहल क्षेत्रमा खानाको व्यवस्था भएका सामान्य होटल छन् ।

पाल्पा पुग्नेले छुटाउनै नहुने ठाउँ होे श्रीनगर डाँडा । तानसेनबाट २० मिनेटको हाइकिङमा पुगिने श्रीनगर डाँडाबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे हिमालहरू देख्न सकिन्छ । फर्किंदा पाल्पाली ढाका टोपी र करुवा उपहार ल्याउन सकिन्छ । यस्तै पाल्पाको चुकाउनीले पनि धेरैको जिब्रो रसाउँछ । पाल्पाबाट करीब दुई घण्टामा भैरहवा पुगिन्छ । थप समय छ भने भैरहवाबाट लुम्बिनी पुग्न सकिन्छ ।

होटल खर्चः तानसेनमा एक रात बास बस्न रु.१ हजारदेखि माथि सुविधा अनुसारका होटलहरू पाइन्छन् । भैरहवा र लुम्बिनीमा भने तारे होटलहरू छन् ।

कसरी जानेः काठमाडौंको नयाँ बसपार्कबाट पाल्पा जाने बस र माइक्रो बस पाइन्छन् । रु.७०० भाडा लिने माइक्रोले ७ देखि ८ घण्टामा पाल्पा पुर्‍याउँछन् । यस्तै, जहाजबाट भैरहवा ३५ मिनेटमा र त्यहाँबाट बसमा दुई घण्टामा तानसेन पुग्न सकिन्छ । रु.४ हजारले दुई दिन पाल्पा बस्न पुग्छ ।

प्रमुख आकर्षणः रानीमहल, श्रीनगर डाँडा, पल्पाली ढाका ।

प्रकृतिकी रानी इलाम


इलाम भनेपछि अधिकांशका दिमागमा चियाबगानको चित्र आउँछ । हुन पनि महेन्द्र राजमार्गको चारआलीबाट उत्तरतर्फ उक्लँदै गर्दा चिया बगानको मनोरम दृश्य देखिन शुरू हुन्छ । चैतदेखि मंसीरसम्म बगानमा चिया टिपेको दृश्यले मुग्ध पार्छ । इलामेली लवज, स्थानीय संस्कृति, घरका डिजाइन धेरैका लागि आकर्षण हुन सक्छन् ।

त्यहाँ पुगेकामध्ये फिक्कल र कन्यामका चिया बगानमा फोटो नखिच्ने कमै होलान् । फिक्कलबाट १० किलोमिटरमा दार्जीलिङ पस्ने नाका पशुपतिनगर पुगिन्छ ।

समुद्र सतहबाट २,३२८ मिटरको उँचाइमा रहेको अन्तुडाँडाबाट ताजा चियाको चुस्की लिंदै सूर्योदय हेर्नुको आनन्द अन्यत्र पाइँदैन । अन्तुडाँडा इलामबाट गाडीमा तीन घण्टामा पुगिन्छ । इलामको अर्को आकर्षण हो, इलाम बजारबाट १८ किलोमिटरको दूरीमा रहेको माइपोखरी ।

माइपोखरीबाट पाँच घण्टाको पैदल दूरीमा ३,६३६ मिटर उँचाइमा रहेको सन्दकपुर पुगिन्छ । सन्दकपुरबाट कञ्चनजंघा, मकालु, सगरमाथा लगायतका हिमाल देखिन्छन् । सन्दकपुरबाट सूर्योदय पनि निकै रमाइलो देखिन्छ । इलाम घुमेर पाँचौं दिनमा काठमाडौं फर्किन सकिन्छ ।

होटल खर्चः इलाममा रु.१२ सय भन्दा माथि सुविधा अनुसारको मूल्य पर्ने होटलहरू प्रशस्तै छन् । यहाँ होमस्टेको पनि सुविधा छ । होमस्टेमा रु.५०० मा बास बस्ने सुविधा पाइन्छ ।

कसरी जानेः काठमाडौंको कोटेश्वरबाट इलाम जाने बस पाइन्छन् । ६९० किलोमिटर दूरीमा रहेको इलाम बजार कोटेश्वरबाट १४ घन्टामा पुगिन्छ । यस्तै, झापाको चन्द्रगढीसम्म जहाजमा र त्यसपछि बस, जीपमा पनि इलाम पुग्न सकिन्छ ।

प्रमुख आकर्षणः चिया बगान, अन्तुडाँडा, माइपोखरी, सन्दकपुर ।

एेतिहासिक गोरखा र बन्दिपुर


गोरखा, नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्मस्थल । गोरखा बजारबाट दरबारसम्म पुग्ने मोटर बाटो भए पनि धेरै पर्यटकहरू करीब एक घण्टा पदयात्रा गरेर दरबार पुग्छन् । दरबार सदरमुकामबाट पूर्वदक्षिण पहाडको टुप्पोमा छ ।

दरबारबाट उत्तरतिर मनास्लु, धवलागिरि, गणेश हिमाल लगायतका हिमालको मनमोहक दृश्य देखिन्छ । चर्चित मनास्लु पदयात्रामा जान पनि गोरखा पुग्नै पर्छ । अन्नपूर्ण क्षेत्रको पदमार्ग मोटरबाटोले बिगारेपछि पछिल्लो समय मनास्लु जाने पर्यटकको संख्या बढेको छ ।

एक रात दुई दिनमा गोरखा घुमेर फर्किंदा करीब अढाइ सय वर्ष पुरानो बन्दीपुर जान सकिन्छ । २०२५ सालसम्म तनहुँको सदरमुकाम रहेको बन्दीपुर आकर्षक पारिवारिक पर्यटकीय गन्तव्य हो । नेवारी संस्कृतिको झल्को दिने घर, रहनसहन, प्राकृतिक सौन्दर्य बन्दीपुरका विशेषता हुन् ।

बन्दीपुरबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लाङटाङ लगायत हिमाल देखिन्छन् । बन्दीपुर बजारबाट एक घण्टा ओरालो हिंडेपछि सिद्ध गुफा पुगिन्छ ।

होटल खर्चः गोरखा सदरमुकाममा रु.१ हजारदेखि माथिका होटलहरू पाइन्छन् । बन्दीपुरमा भने होमस्टेदेखि सुविधासम्पन्न होटलहरू छन् ।

कसरी जानेः काठमाडौं नयाँ बसपार्कबाट बसमा करीब पाँच घण्टामा गोरखा पुगिन्छ । फर्कंदा गोरखाबाट आँबुखैरेनी हुँदै डुम्रे बजारसम्म आउने बसहरू पाइन्छन् । डुम्रेबाट आठ किलोमिटर दक्षिणपश्चिम उकालो उक्लेपछि बन्दीपुर बजार पुगिन्छ । बन्दीपुरका लागि डुम्रेमा बस र जीप पाइन्छन् । सार्वजनिक यातायातमा यात्रा गर्दै चार दिनमा गोरखा र बन्दीपुरको यात्रा गर्ने हो भने दैनिक रु.२ हजार भए पुग्छ ।

प्रमुख आकर्षणः गोरखा दरबार, बन्दीपुर बजार ।

सुदूरपश्चिम शक्तिपीठ प्याकेज 


सुदूरपश्चिममा खप्तड, अछामको रामारोशन, दार्चुलाको अपि र बझाङको सैपाल हिमाल साथै कैलालीको टीकापुर, घोडाघोडी ताल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज लगायतका घुम्ने ठाउँ छन् ।

पछिल्लो समय सुदूरपश्चिमका पर्यटन व्यवसायीले शक्तिपीठ प्याकेज प्रवद्र्धन गरिरहेका छन् । शक्तिपीठ प्याकेज अन्तर्गत डडेलधुराको उग्रतारा भगवती, बैतडीको निंगलाशैनी भगवती, त्रिपुरासुन्दरी र मेलौली भगवतीको दर्शन गरिन्छ ।दुई दिन बैतडीमा बिताएपछि चौथो दिन बझाङमा सुर्मा देवीको दर्शन गरेर शैलेश्वरी देवीको दर्शन गर्न डोटी आइपुगिन्छ । यी सातवटै मन्दिर पक्की सडकसँग जोडिएकाले दर्शन पूरा गरेर पाँचौं दिन धनगढी फर्किन सकिन्छ ।

जगदम्बा ट्राभल एण्ड टुर्सका सञ्चालक तथा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल सुदूरपश्चिम प्रदेशका अध्यक्ष माया भट्ट निजी गाडीमा ६ जनाको समूह बनाएर धनगढीबाट सातै शक्तिपीठको दर्शन गर्न रु.४० हजार लाग्ने बताउँछन् । शैलेश्वरी मन्दिरको दर्शनपछि तीन दिन समय हुने हो भने खप्तडसम्म पुगेर आउन सकिन्छ ।

होटल खर्चः डडेलधुरा र डोटीमा रु. १ हजार भन्दा माथिका सुविधाजनक होटलहरू छन् । बैतडीमा भने एक रात बसेको रु.७ सयसम्म पर्ने सामान्य होटल छन् ।

कसरी जानेः काठमाडौंबाट सीधै डडेलधुरा पुगेर पनि शक्तिपीठको यात्रा शुरू गर्न सकिन्छ । काठमाडौंको नयाँ बसपार्कबाट बसले २२ घण्टामा डडेलधुरा पुर्‍याउँछ । जहाजमा जाने हो भने काठमाडौंबाट धनगढी करीब एक घण्टामा र त्यहाँबाट बसमा डडेलधुरा पाँच घण्टामा पुगिन्छ ।

प्रमुख आकर्षणः सात देवीको दर्शन, अमरगढी ।

सम्पदाको भण्डार दैलेख


कर्णाली प्रदेशको दैलेखमा पञ्चकोशी क्षेत्र, कृति खम्ब, दुल्लु दरबार, पाथरनाउली, सात खम्ब, कोतगढी, पञ्चदेवल, वेलासपुर लगायतका महत्वपूर्ण सम्पदास्थल छन् । कोटिला, नाभिस्थान, श्रीस्थान, पादुका र धुलेश्वरलाई पञ्चकोशी क्षेत्र भनिन्छ ।

कर्णाली राजमार्गले दैलेख, जुम्ला र मुगुलाई सडक सञ्जालबाट जोडेको छ । सुर्खेतबाट कर्णाली राजमार्ग हुँदै दैलेख जाँदा सदरमुकाम दैलेख बजार नपुग्दै २५ किलोमिटर वर दुल्लु क्षेत्रमा रहेको पञ्चकोशी तीर्थस्थलको श्रीस्थान र नाभिस्थानमा नित्य प्रज्वलित ज्वाला हेर्न सकिन्छ ।

नेपाली भाषाको पहिलो शिलालेख दुल्लु नगरपालिकामा छ । शिलालेख भएको ठाउँमा कीर्तिस्तम्भहरू पनि छन् । योगी नरहरिनाथले गरेको अनुसन्धान अनुसार कीर्तिस्तम्भमा सिंजा राज्यका खस राजाहरूको वंशावली कुँदिएको छ । पृथ्वी मल्लको कीर्तिस्तम्भ, दामुपालको स्तम्भ, सउना कार्कीको कीर्तिस्तम्भ, दुल्लु गढीको स्तम्भ र दैलेख बजारका चारखम्ब जस्ता स्तम्भ अध्येताका लागि विशेष रुचिका विषय हुन् ।

खस राज्यको ग्रीष्मकालीन राजधानी जुम्लाको सिंजा तथा हिउँदे राजधानी दुल्लु थियो । दुल्लु दरबार अहिले पनि यथावत छ ।दैलेख सदरमुकाममा युनेस्कोले विश्व प्रतिभा सूचीमा सूचीकृत गरेको पञ्चदेवल छ । पञ्चदेवलमा शिखर शैलीमा निर्मित २२ वटा पुरातात्विक महत्वका स्मारकहरू छन् ।

बहादुर शाहको नेपाल एकीकरण अभियानको क्रममा वि.सं. १८४६ मा गोर्खाली सेनाले निकै कलात्मक ढङ्गले दैलेख बजारमा निर्माण गरेको ऐतिहासिक कोतगढी छ । दैलेख पुगिसकेपछि जुम्ला हुँदै मुगुको रारा तालसम्म पुग्न सकिन्छ ।

होटल खर्चः दैलेखमा एक रात बसेको रु.१००० सम्म पर्ने सामान्य होटलहरू छन् । सुर्खेतमा भने सुविधाजनक होटलहरू पाइन्छन् ।

कसरी जानेः काठमाडौंबाट बसमा करीब १५ घण्टामा सुर्खेत पुगिन्छ । बस भाडा रु.१६०० सम्म पर्छ । नेपालगञ्जसम्म जहाज र त्यहाँबाट बसमा चार घण्टामा सुर्खेत पुगिन्छ । सुर्खेतबाट तीन घण्टामा दुल्लु र दुल्लुबाट एक घण्टामा दैलेख बजार पुगिन्छ । सुर्खेतदेखि दैलेख बजारसम्मको सडक कालोपत्रे गरिएको छ ।

प्रमुख आकर्षणः पञ्चकोशी क्षेत्र, पञ्चदेवल र कोतगढी ।

Facebook Comment

छुटाउनुभयो कि?