‘चराको आवाज लामो समय सुन्न पाएन भने मान्छे बिरामी हुन सक्छ’

पर्यटन बजार१० फाल्गुन २०७७, सोमबार मा प्रकाशित

‘चराको आवाज लामो समय सुन्न पाएन भने मान्छे बिरामी हुन सक्छ’

फागुन १०, काठमाण्डौ। मिर्मिरेमा चराको चिरबिर सुन्दा झर्को मान्ने मान्छे सायदै होलान् । निद्राले छाड्न नपाउँदै सुनिएको आवाजले झर्को नभइ आनन्द दिनु त्यो आवाजप्रतिको प्रेम हो । चराविद् डा. हेमसागर बराल यही कुरालाई मानिस र चराबीचको सम्बन्धको बलियो प्रमाण मान्नुहुन्छ ।

बराल भन्नुुहन्छ ‘बिहान उठ्दा धोबिनी चराले गाइदिएको हुन्छ, मैनाचरी कराएको हुन्छ, कागहरु कराएका हुन्छन्, यी आवाजमा हाम्रो दिमाग अभ्यस्त भएको हुन्छ । हामीले वास्ता नगरेको भए पनि हाम्रो दिमागलाई शान्तितिर लैजान चरा कराएको आवाज वा प्राकृतिक सङ्गीतले साथ दिइरहेको हुन्छ । यो कुरा हामीले थाहा नपाए पनि हाम्रो लागि यसले काम गरिरहेको हुन्छ ।’

हामीले सुन्दै आएको भँगेरा, काग, मैनाचरी, धोबिनी जस्ता चराको आवाज लामो समय सुन्न पाइएन भने बिरामी पनि हुन सक्छौँ ।

‘होमसिक’ अर्थात् घरतिरको सम्झनाले हुने थकानमा धेरै कारण हाम्रो वरपर रहेका चराहरु हुन्छन्, जसले हामीलाई नजानिँदो तरिकाले साथ दिइरहेका चराविद् बरालको भनाइ छ ।

बेलायतीहरु अष्ट्रेलियातिर जाँदा आफ्ना ठाउँमा पनि चरा पनि लिएर जाने गरेको उदाहरण दिँदै बराल भन्नुहुन्छ ‘हामीलाई थाहा नहुन सक्छ तर हाम्रो हुर्काइ तथा शान्तिमा चराको भूमिका महत्त्वपूर्ण हुन्छ ।’

चराबाट फाइदै फाइदा

तपाईँ व्यस्त दैनिकीबाट केही समय निकालेर जङ्गलतर्फ जानुस् त्यहाँ मन शान्त हुन्छ । सधैं भन्दा भिन्नै प्रकारको अनुभूति दिलाउने जङ्गलमा चराको आवाजले हाम्रो मनलाई पुलकित बनाउँछ । अनुभव गरिने यी सम्बन्ध मात्र हैनन् । चराबाट हामीले प्रत्यक्ष लाभ पनि लिइरहेका छौं ।

चराविद् डा. बराल भन्नुहुन्छ ‘सबैभन्दा महत्त्वपूर्ण कुरा त हाम्रो पारिस्थितिकीय प्रणाली जोगाउन यिनीहरुको भूमिका हुन्छ । एकले अर्कोलाई खाएर चलिरहने हाम्रो पारिस्थितिकीय प्रणालीमा चराहरु मान्छेको बालीनालीलाई क्षति गर्ने किराहरु खानेदेखि बोटविरुवाको परागसेचनसम्ममा चराले काम गरिरहेका हुन्छ । बोटविरुवाको विस्तारका लागि एक ठाउँबाट अर्को ठाउँमा बीउ लैजाने काममा पनि यिनीहरुको भूमिका हुन्छ ।’

मान्छेलाई मासु तथा अण्डा प्राप्त तथा चरा पालेर आम्दानी गर्नेलगायतका थुप्रै महत्त्वहरु रहेका हुन्छ। उड्ने साधन बनाएर आकासमा विचरण गर्न सिकाउने पनि यिनै चराहरु हुन् ।

Sometimes it feels good to get your point across, says James Marston

घट्दै चराको सङ्ख्या

अघिल्लो महिना देशका १४ ठाउँका पाँच दर्जनभन्दा धेरै नदी, सिमसार र तालतलैया क्षेत्रमा जलपक्षी गणना भएको छ । वेटलेण्ड इन्टरनेशनल संस्थाको समन्वय र नेपालको हिमाली प्रकृति संस्थाको सहकार्यमा चरा गणना भएको हो । चरा गणनाका राष्ट्रिय संयोजक चराविद् डा. हेमसागर बराल पूरै तथ्याङ्क प्राप्त भइनसकेको तर अहिलेसम्म उपलब्ध जानकारीअनुसार पानीमा आश्रित चरा तथा जलपक्षीहरूको सङ्ख्या घटेको पाइएको बताउनुहुन्छ ।

प्रजातिमा समस्या नदेखिए पनि सङ्ख्या घटेको र यसमा रैथाने र आगन्तुक दुवै चराहरुको सङ्ख्या घटेको उहाँले बताउनुभयो । तालतलैया तथा सिमसार क्षेत्र वरपर विकास निर्माण तथा मनोरञ्जनस्थल बन्ने क्रम, बढ्दो प्रदूषणलगायत, चोरीसिकारलगायतका कारण चराहरुको सङ्ख्या घटेको बराल बताउनुहुन्छ ।

जलपक्षीसँगै नेपालमा अरु चराहरुको सङ्ख्या पनि घटिरहेको छ । नेपालमा झण्डै ८८७ प्रजातिका चराहरू पाइन्छन् । तीमध्ये नौ प्रजातिका चरा लोप भएको अनि १६८ प्रजातिका चरा सङ्कटापन्न अवस्थामा रहेका चराविद् बरालले जानकारी दिनुभयो ।

नेपालमा पाइएका चरामध्ये दुई सय प्रजातिका पानीमा आश्रित छन् भने झण्डै एक सय २० प्रजातिका चरा जलपक्षी रहेका बराल बताउनुहुन्छ । नेपालमा रैथाने चरासँगै आगन्तुक चराको सङ्ख्या पनि ठूलो छ ।

नेपालमा जाडो याममा चीन, मङ्गोलिया तथा रुसको साइबेरियासम्मबाट जलपक्षीहरू आइपुग्छन् । यस्तै गर्मी छल्न पनि यहाँ चरा आउने गरेका छन् । चराले कुनै देशको सीमा नचिन्ने र जाडो वा गर्मी छल्न यात्रा गर्ने क्रममा नेपालमा सिमसार क्षेत्रहरुमा आइपुग्ने र कतिपयले यतै बच्चा हुर्काएर फर्कने गरेका बराल बताउनुहुन्छ ।

समस्यामा पर्दै जानेहरुमा ठूलो शरीर भएका चराहरु बढी सङ्कटमा परेको चराविद्हरु बताउँछन्।

चरा घट्नुमा मानवीय क्रियाकलाप बढी दोषी

तुलनात्मक रुपमा जलपक्षी बढी जोखिममा रहेका चराविद्हरु बताउँछन् । जलक्षेत्र, सिमसार तथा तालतलैया वरपर विकास तथा पर्यटनका नामबाट गरिने क्रियाकलापका कारण चराहरुमा सङ्कट आइरहेको छ।

सिमसार क्षेत्रमा हुने विवाह, भोजभतेर, ठूलाठूला आवाजमा बजाइने गीत जस्ता कारण पनि चराहरुलाई असर पर्छ । नदीनाला, सिमसार क्षेत्रहरूमा वासस्थान विनाश हुनु, सिमसार क्षेत्रहरू घट्दै जानु र बालीहरूमा विषादीको प्रयोग, नदीहरुमा बढ्दो प्रदूषणलगायतका कारण चराहरुलाई असर गरिरहेको छ ।

सिमसारसँगै घाँसे मैदानको क्षेत्रसमेत घट्दै गएकोले घाँसे मैदान र पानीमा आश्रित चराहरू सङ्कटमा पर्दै गएका छन् । यस्तै जलवायु परिवर्तनका कारण उत्पन्न अवस्थाले पनि चराहरु संकटमा छन् । चराविद् बराल भन्नुहुन्छ ‘भर्खरै हिउँ पग्लिएको ठाउँमा गुँड लगाउने चरा पनि छन् तर जलवायु परिवर्तनले हिउँ पग्लिने दर र समय परिवर्तन हुँदा त्यस्ता चराहरुले बच्चा हुर्काउन नपाएको समस्या पनि देखिन थालेको छ ।’

चोरी सिकार पनि चरा मासिँदै जानुको अर्को मूख्य कारण रहेको बराल बताउनुहुन्छ ।

चरा बचाउन जुट्नुपर्छ

चराका लागि बढ्दै गएको सङ्कट कम गर्न हरेक व्यक्तिले चराको महत्त्व बुझ्नुपर्ने चराविद् डा. हेमसागर बराल बताउनुहुन्छ । मानिसका लागि हाम्रो वरपरको वातावरण र चरा अति महत्त्वपूर्ण छन् भन्ने कुरा बुझेमा मात्रै पनि समस्या धेरै कम हुने उहाँको भनाइ छ । माछा मार्न जाँदा माछा भोलिका लागि पनि चाहिन्छ र यो प्रकृतिका अरुले पनि उपयोग गर्छन् भन्ने कुरा बुझेमा पनि समस्या कम हुने बराल बताउनुहुन्छ ।

यो संसार चराको पनि हो र उ पनि यहाँ स्वतन्त्रतापूर्वक बाँच्न पाउनुपर्छ भन्ने कुरा सबैले बुझ्नुपर्छ । चराको चोरीसिकार रोक्ने, बासस्थानमा खलल नपुर्याउने, जथाभाबी विषादीको प्रयोग नगर्ने, नदी तथा सिमसार क्षेत्रहरुमा ढललगायत मिसाएर प्रदूषण नबढाउने जस्ता काम गरेमा प्रकृतिको सुन्दर उपहार चरा सधैं रहिरहने बराल बताउनुहुन्छ । दर्शन जस्तो लागे पनि चराले अप्रत्यक्ष रुपमा दिने शान्ति र चराको संसारका बारेमा बालबालिकाहरुलाई बुझाएर सबैमा चराप्रति सकरात्मक धारणा बनाउनुपर्ने बराल बताउनुहुन्छ ।

मानव जातिको बहुमूल्य स्रोतहरू हावा, पानी, प्रकाश, खोलानाला, हिमाल, वनजंगल, घाँसे मैदान हुन् । तर यी प्रकृतिप्रदत्त बस्तु किन्न नपरेकाले हामी त्यसलाई मूल्यवान् ठान्दैनौँ । बरु पैसा तिरेर मात्र पाइने विलासिताका सामानमा हाम्रो जोड रहन्छ ।

हामी डाँडामा टावर ठड्याउन चाहन्छौँ तथा त्यहाँको चरा जोगाउन खास अर्थ देख्दैनौँ त्यसैले चराहरु सङ्कटमा पर्न सक्छन् । चरा जोगाउन हरेक व्यक्तिमा यसको बुझाइ र आफूले पुर्याएको क्षतिबारेमा जानकारी हुनुपर्छ ।

Facebook Comment

छुटाउनुभयो कि?