पर्यटन बजार२० बैशाख २०७६, शुक्रबार मा प्रकाशित
वैशाख २०, काठमाडौँ ।यो बर्षको प्रतिक्षित चलचित्र ‘दाल भात तरकारी’ शुक्रबारदेखि देशभर रिलिज भएको छ । देशभरका ८० बढी पर्दामा यो चलचित्र रिलिज भएको निर्माणपक्षले जानकारी दिएको छ । सुदन केसीको डेब्यू चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, आँचल शर्मा, पुष्प खड्का, बर्षा राउत लगायतका कलाकारको मुख्य भूमिका छ ।
चलचित्र ‘दाल भात तरकारी’ले विशेषगरि अमेरिका जानका लागि करोडौ खर्च गरेर डुबेको एक परिवारको कथा भन्छ । श्रीमान् र श्रीमतीको झगडा, पारिवारिक सम्बन्ध, अमेरिकाको सपनालाई चलचित्रमा देखाइएको छ । चलचित्रले ‘दाल भात तरकारी’का लागि विदेश नै जानु भन्दा नेपालमा नै केही गर्न सकिन्छ भन्ने कथालाई प्रस्तुत गरेको छ ।
बक्स अफिस कलेक्सनले विश्वलाई चकित बनाइरहेको हलिउड फिल्म ‘एभेन्जर्स इन्ड गेम’सँग यो फिल्मले प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।
प्रदर्शनको दोस्रो सातामा रहेको ‘एभेन्जर्स इन्ड गेम’लाई मल्टिप्लेक्समा अत्याधिक सो दिइएको छ। दर्शक अकुपेन्सीका हिसाबले ‘दाल भात तरकारी’ले शुक्रवार हलिउड फिल्मलाई उछिनेको छ।
फिल्मको अधिकांश सोमा दर्शकको अकुन्पेन्सी बढ्दो छ। मल्टिप्लेक्स अन्तर्गतको क्यूएफएक्स लबिम र कुमारीका २ सो हाउसफूल नै छन्। अधिकांश सो फिलिङ फास्ट अर्थात हाउसफूल हुने प्रकृयामा छ।
‘मह संचार’ले बनाएको फिल्मलाई ओपनिङमा दर्शकको साथ देखिएको छ। कमेडी जनरामा बनेको यस फिल्मलाई सुदन केसीले निर्देशन गरेका हुन्। उनी फिल्मका प्रस्तुतकर्ता किरण केसी ‘रातामकै’का छोरा हुन्। हलिउडका २ फिल्ममा सहायक निर्देशनको अनुभव बटुलेका सुदनको यो डेब्यू फिल्म हो।
फिल्ममा शम्भुजित बास्कोटाको संगीत, दीर्घ गुरुङको सिनेम्याटोग्राफी, हरिवंश आचार्यको संवाद/पटकथा छ। यसै फिल्मका कारण फिल्म ‘काउसो’को प्रदर्शन १ हप्ता पछि सरेको हो।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit