चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको गएराती निधन

पर्यटन बजार३० मंसिर २०७६, सोमबार मा प्रकाशित

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको गएराती निधन

मंसिर ३० ,काठमाडौं । नेपाली चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको गएराती निधन भएको छ । उनको राती १० बजेर २० मिनेटमा निधन भएको हो ।

हृदयघातका कारण उनको निधन भएको आशंका गरिएपनि के कारण निधन भयो भन्ने बारेमा खुल्न सकेको छैन । राती एक्काशि विरामी भएपछि उनलाई उपचारका लागि ओम अस्पताल लगिएको थियो । तर अस्पताल पुर्याउँदा पुर्याउँदै उनको बाटैमा निधन भएको हो ।

नेपाली चलचित्र क्षेत्रका वरिष्ठ निर्माता तथा कलाकार भट्टराईले निर्माण गरेको पछिल्लो चलचित्र ‘यात्रा’ हो । उनले निर्माण गरेका थुप्रै चलचित्रले समाजमा राम्रो छाप छोडेका छन् भने व्यापार पनि उल्लेख्य गरेका छन् ।

नेपाली चलचित्र क्षेत्रमा ३० वर्ष भन्दा धेरै समय बिताएका भट्टराईका ‘आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, देवरवावु, छोडी गए पाप लाग्ला, सो सिम्पल’ लगायत दर्जनौं चलचित्र हिट भएका छन् ।

गएको ४ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई नेपाली चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । यसअघिकी अध्यक्ष निकिता पौडेलले २२ माघ ०७५ मा पदबाट राजीनामा दिएपछि चैतमा भट्टराई अध्यक्षमा नियुक्त भएका थिए । उनले चलचित्र विकास बोर्डको अध्यक्ष भएपछि केहि नयाँ काम गर्ने आफ्नो सोच रहेको बताएका थिए । तर छोटो समयमै उनको निधन भयो ।

उनको निधनले नेपाली चलचित्र उद्योगमा अपूरणिय क्षति पुगेको छ । ५१ वर्षिय भट्टराईका श्रीमती र एक छोरा छन् ।

Facebook Comment

छुटाउनुभयो कि?