चिडियाखाना अझै बन्द, थपियो एक जोडी डाँफे

पर्यटन बजार९ मंसिर २०७७, मंगलवार मा प्रकाशित

चिडियाखाना अझै बन्द, थपियो एक जोडी डाँफे

९ मंसिर, काठमाडौं । गत चैतदेखि बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखाना कहिले खोल्ने भन्ने विषय अझै यकिन भएको छैन । चिडियाखाना व्यवस्थापनले स्वास्थ्य मापदण्ड पूरा गरी तिहारपछि खोल्ने तयारी गरे पनि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) बाट निर्णय नआउँदा कहिले खुल्ने भन्ने निश्चित नभएको हो ।

विश्वभर फैलिएको कोभिड–१९ का कारण गत चैत ७ गतेदेखि अवलोकनका लागि पूर्णरूपमा चिडियाखाना बन्द गरिएको थियो ।

लामो समयसम्म बन्द रहँदा जीव जनावरको खानपान र कर्मचारी व्यवस्थापन गर्न समस्या भएकाले खोल्ने तयारी गरे पनि निर्णय नआएकाले अन्योल भएको चिडियाखाना व्यवस्थापन प्रमुख डा. चिरञ्जीवीप्रसाद पोखरेलले जानकारी दिए । ‘कोरोना भाइरस संक्रमण कम भएको छैन, त्रास केही कम भएकाले सावधानी अपनाएर खोल्ने तयारी गरेको हो । त्यसका लागि मापदण्ड पनि तयारी अवस्थामा छ,’ पोखरेलले भने ।

मास्क अनिवार्य ल्याउनुपर्ने, एकपटकमा ८०० मानिसलाई मात्र अवलोकन गर्न दिने, चिडियाखानाभित्र बसेर खान र जीवजनावरलाई खुवाउन, छुन नपाउने, एक व्यक्ति बढीमा डेढ घण्टा मात्र बस्न पाउने, बालबालिकालाई खेलाउन नपाउनेजस्ता मापदण्ड तयार गरिएको छ ।

यसअघिझैं हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुने गरी नै मापदण्ड तयार गरिएको भए पनि एकपटकमा केही सीमित व्यक्तिलाई मात्रै प्रवेशको व्यवस्था गरिएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?