जसरी पनि असोज १ देखि लामो दुरीको यातायातका साधन सञ्चालनमा ल्याउछौ

पर्यटन बजार२५ भाद्र २०७७, बिहीबार मा प्रकाशित

जसरी पनि असोज १ देखि लामो दुरीको यातायातका साधन सञ्चालनमा ल्याउछौ

भदौ २५ ,काठमाडौँ । यातायात व्यवसायीले जसरी पनि असोज १ देखि यातायातका साधन सञ्चालनमा ल्याउने बताएका छन् । सरकारले असोज १ बाट लामो दूरीका सवारी सञ्चालन गर्ने निर्णय गरे पनि अन्योलपूर्ण अवस्था कायमै रहेका बेला व्यवसायीले यस्तो दाबी गरेका छन् । कोरोनाका कारण देखाउँदै सरकारले पटकपटक लामो दूरीका सवारी सञ्चालन गर्ने समय सार्दै आएकाले पनि व्यवसायी सरकारको कदममा ढुक्क छैनन् ।

अब पनि रोक लगाए त्यसलाई नमान्ने र जबर्जस्ती सवारी चलाउने व्यवसायीको भनाइ छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र तीनवटै मजदुर ट्रेड युनियनसहितको टोलीले बुधबार यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई भेटेका छन् । भेटमा व्यवसायीले असोज १ बाट सवारी चलाउने वातावरण बनाइदिन माग गरे । ६ महिनादेखि सार्वजनिक सवारी घर, ग्यारेज र बसपार्कमा थन्किएकाले कतिपय सवारी चलाउनै नसकिने गरी बिग्रिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाको दाबी छ । ‘अब गाडी चलाउनैपर्छ, धैर्य गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘स्वास्थ्य मापदण्ड अपनाएर गाडी चलाउन दिनुपर्छ ।’ भोक र रोगले यातायात मजदुर थला पर्दै गएको उनले सुनाए । ‘गाडीको कन्डिसन ठीक छैन, सरकारले असोज १ गतेबाट सवारी सञ्चालन गर्न दिने निर्णय गरिसकेको छ,’ उनले भने, ‘यसलाई कार्यान्वयन गरियोस् ।’

व्यवसायीलाई बिमा र बैंकले किस्ता तिर्न ताकेता गरिरहेका छन् । चैत ११ देखि सवारी ठप्प भएकाले आम्दानी छैन । जसले गर्दा किस्ता तिर्न सक्ने अवस्था नभएको व्यवसायी बताउँछन् । कतिपय गाडीका इन्जिन बिग्रिएको र टायरसमेत ड्यामेज भएका छन् । ‘कोभिडले गर्दा सरकारले दिएको निर्देशन एकदम अनुशासित भएर पालना गर्‍यौं,’ उनले भने, ‘सबै मजदुरले पालना गरे, अब रोगले भन्दा पनि भोकको सामना गर्न गाह्रो हुने भयो ।’ सरकारले केही सहुलियत नदिँदा झन् बढी समस्या भएको उनको भनाइ छ ।

सरकारले यातायात श्रमिकलाई राहतका नाममा एक गेडो चामल पनि उपलब्ध नगराएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले गुनासो गरे । ‘यातायात श्रमिकको अवस्था अत्यन्त नाजुक छ,’ उनले भने, ‘खाद्यान्न संकट त्यत्तिकै छ ।’ दैनिक काम गरेर छाक टार्ने श्रमिक धेरै रहेको उनले बताए । ‘दुई/तीन महिना भाडा तिर्न नसकेका यातायात मजदुरलाई घरधनीले पक्राउ गरेर प्रहरीमै बुझाए,’ उनले भने, ‘त्यसैले अवस्था नाजुक बन्दै गएको छ, यातायात मजदुरलाई ज्वरो आउँदा सिटामोल खान सक्ने अवस्था छैन ।’ सरकारसँग पटकपटक राहतका लागि याचना गरे पनि केही सुनुवाइ नभएको उनको भनाइ छ

Facebook Comment

छुटाउनुभयो कि?