पर्यटन बजार२७ भाद्र २०७७, शनिबार मा प्रकाशित
भदौ २७, काठमाण्डौ। टाेखा नगरपालिका वडा नं. ०९ सिद्धेश्वर मन्दिर क्षेत्र परिसरमा आज गुर्जोको बिरुवा वितरण गरिएको छ। पातन्जल याेग समिति नेपाल- काठमाडौं तथा विष्णुमती सरसफाइ अभियान एवं विभिन्न संघ सस्थाकाे सहकार्यमा गुर्जाेकाे बिरुवा वितरण गरिएको हो।
काेभिड- १९ काे महामारी फैलिरहेकाे याे विषम परिस्थितिमा राेगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता भएकाे अतिनै उपयोगी गुर्जाेकाे बिरुवा बितरण गरिएको आयोजकले बताएको छ।
पातञ्जल याेग समिति नेपाल वागमती प्रदेश प्रमुख याेग गुरु सुवर्णलाल चित्रकारकाे प्रमुख उपस्थितिमा संम्पन्न भएको कार्यक्रममा कमल बहादुर राजलवटले उपलब्ध गराएका २८० बिरुवा वितरण गरिएको थियो। कार्यक्रममा बोल्दै गुरु चित्रकारले हामीले प्रकृतिलाई माया गरे मात्र प्रकृतिले हामीलाई माया गर्ने बताउनु भयो। वहाँले गुर्जोको महत्व बुझाउदै सानो तिनो बिरामी हुदा पनि सिटामोल लगायतका औसधि प्रयोग नगरेर प्राकृतिक जडिबुटि प्रयोग गर्न सुझाउनुभयो। “हाम्रो बातावरणमा धेरै जडिबुटि हुदाँ हुदै पनि हामीले पहिचान गर्न नसकेर बाध्यता बस हामि डाइरेक्ट अस्पताल धाइरहेका छौ तर हामीले पहिचान गर्न सकेको खण्डमा धेरै रोगको उपचार जडिबुटि जन्य माध्यमबाट गर्न सक्छौ” वहाँले बताउनुभयो।
गुर्जोले मानव शरीरमा रोग प्रतिरोधी क्षमताको विकास, शारीरिक क्षमतामा बढोत्तरी गर्नाका साथै शरीरभित्र जमेका विकारलाई बाहिर निकाली मानिसलाई स्वस्थ बनाउने विष्णुमति सरसफाई अभियानका अभियन्ता शोभाकान्त पाण्डेले बताउनुभयो । विश्वव्यापी रूपमा कोरोना भाइरस फैलिएका बेला शरीरभित्र रोग प्रतिरोधी क्षमता बढाउन यसको नियमित सेवन उपयोगी भएकाले पनि गुर्जो को उपयोगिता बुझाउन बिरुवा वितरण गरिएको समेत उहाँले बताउनु भयो । साथै आफु स्वयं स्वास्थ्य बने आफ्नो जहान परिवारलाइ स्वास्थ्य बनाउन सकिने र समाज , देश नै स्वास्थ्य बने मात्र देश सम्बृद्ध बन्न सक्ने समेत पाण्डेले जानकारी गराउनुभयो।
गुर्जोको उपयोगिता
१. ज्वरोमा गुर्जाेको लहरालाई थिची रस निकाली १० देखि २० एमएल बिहान बेलुका सेवन गर्नाले सबै प्रकारको ज्वर शान्त हुन्छ ।
२. मुत्र बिकारमा यसको स्वरस बिहान बेलुका सेवन गर्नाले सबै प्रकारका मुत्ररोगहरु ठिक हुन्छ ।
३. जण्डीस रोगमा गुर्जोको स्वरस बिहान बेलुका मह मिलाई सेवन गर्नाले जण्डीस रोग चाँडै निको हुन्छ ।
४. अर्श (पाइल्स) मा गुर्जोको स्वरसलाई ताजा महीसँग सेवन गर्नाले अर्श ठिक हुन्छ ।
५. यसको चूर्ण महको साथ सेवन गर्नाले बल वृद्धि भई शरीरमा कान्ती आउने तथा स्फूर्ती बढ्छ ।
६. शरीरमा भएको दाग तथा अन्य चर्मरोगहरुमा यसको चूर्ण नीम पानीसँग सेवन गर्ने र यसको स्वरस प्रभावित ठाउँमा लगाउनाले फाइदा गर्दछ ।
७. प्रमेह तथा शुक्रक्षयमा यसको स्वरस अथवा चूर्ण बिहान बेलुका नियमित सेवन गर्नाले आराम हुन्छ ।
८. अतिसार, रक्तातिसारमा यसको चूर्ण सेवन गर्नाले ठिक हुन्छ ।
९. अम्लपित्तमा यसको चूर्ण बिहान बेलुका खाली पेटमा सेवन गर्नाले भोक बढाउनुका साथै अम्लपित्त नाश हुन्छ ।
१०. शरीर पोल्ने, बढी तिर्खा लाग्ने भएमा यसको स्वरस बिहान बेलुका मिश्रीसँग सेवन गर्नाले दाह र तिर्खा शान्त हुन्छ ।
कसरी खाने गुर्जो ?
१. राती, आफ्नो (खाने मान्छेको ) हातको भित्ताले एक भित्तालामो गुजोको डाँठलाई मजाले धोएर खालमा वा सिलौटामा कुट्नुहोस । यसरि कुटिएको औषधिलाई १५० मि.ली. पानीमा हालेर रातभरी छोडिदिनुस । बिहान भएपछि यो पानीलाई कपडाले छानेर मजाले पिउनुहोस ।
२. तत्काल पिउनु एक हात लामो र कान्छिऔला बराबर मोटो गुर्जोको लहरालाई खलमा कुटेर रस निकालेर २० मि.ली. रस प्रतिदिन पिउन सकिन्छ ।
३. तत्काल पिउने भए यसरि खलमा कुटिएको गुर्जोको क्वाथलाई एकचोटि भुलुक्क उमालेर हल्का मनतातो भएपछि पनि पिउन सकिन्छ वा २० देखि ३० मि.ली. क्वाथ उसै पनि पिउन सकिन्छ ।
४. गुजोको चूर्ण लिने हो भने ५ ग्राम वा एक चिया चम्चा गुर्जोको चूणलाई एक गिलास तातोपानीमा हालेर केहिक्षण पश्चात लिन सकिन्छ ।
५. अहिले बजारमा गुर्जोको क्यापसुल पनि पाईन्छ । यो क्यापसुल राती सुत्ने बेलामा दिनको एउटा लिन सकिन्छ ।
गर्भवतीले भने गुर्जोका प्रयोग गर्नु हुँदैन भने पाँच वर्षमुनिका बालबालिकालाई पनि सेवन नगराउनु राम्रो हुन्छ। डाँठ र पात दुवै प्रयोग गर्न सकिने गुर्जो सुकाएर वा काँडा पानी बनाएर दुवै रूपमा उपयोग गर्न सकिन्छ।
हालसम्म राजलवटले देशभर ६० हजार गुर्जोका बिरुवा वितरण गरिसकेका छन्। । राजधानीका विभिन्न नगरपालिकामा समेत गुर्जो वितरण गरिएको उनले जानकारी दिए। नगरपालिकामार्फत राजधानीवासीका घरघरमा गुर्जो रोपण अभियान विस्तार गरिने जनाइएको छ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit