ट्रेकिङ गर्ने/गराउने मान्छेहरु धेरै पटक मृत्युको मुखमा पुगेर पुनर्जिवित हुन्छ – ट्रेकिङ ब्यबसायी कार्की

पर्यटन बजार१५ मंसिर २०७६, आईतवार मा प्रकाशित

ट्रेकिङ गर्ने/गराउने मान्छेहरु धेरै पटक मृत्युको मुखमा पुगेर पुनर्जिवित हुन्छ – ट्रेकिङ ब्यबसायी कार्की

ट्रेकिङ सुन्दा जति रोचक लाग्छ , त्यति सहज छैन। ट्रेकिङ एक खतरनाक पेशा हो भन्दा फरक पर्दैन। ट्रेकिङ गर्ने क्रममा धेरै ले ज्यान सम्म गुमाएका हुन्छन। प्रस्तुत छ ट्रेकिङ ब्यबसाय मा लामो समय बिताउनु भएका ब्यबसायी बिनोद कार्की संग पर्यटन बजार डट कमले गरेको कुराकानी :

हिमालयन ट्रेकिङको बारेमा बताईदिनुहोस न ?

सन् २००५ देखि म ट्रेकिङ  क्षेत्रमा लागेको हुँ,  बिगत एक बर्ष देखी चाहीं मैले हिमालयन एडभेन्चर इन्टरनेसनल ट्रेक्स एण्ड एक्सपिडिसन  नामक  आफ्नै कम्पनि खोलेको छु। यो कम्पनीले ट्रेकिङको काम संगै एक्सपिडिसनका कामसम्म गर्दछ। हामीले अन्नपूर्ण बेस क्याम्प , एभरेस्ट बेस क्याम्प , डोल्पो  ,लाङ्टाङ् रिजन ट्रेकिङ लगायतका स्थानमा ट्रेकिङको सेवा दिंदै आएका छौं।  एक्सपिडिसनतर्फ हामीले चोयु हिमाल ,कन्चनजङगा हिमाल ,मनास्लु हिमाल , धवलागिरी हिमाल , अपि हिमाल , लोत्से  हिमाल लगायतका हिमालहरुमा सेवा दिईरहेका छौं। हाम्रो मुख्य बिशेषता भनेकै आफुले जिम्मा लिएको यात्रु टिम लाई शुलभ  सेवा दिने र उत्कृष्ट तरिकाले यात्रा तय गराएर फिर्ता ल्याउने हो। त्यस्तै हामीले चाहिं कैलाश मानसरोबर को काम समेत गर्दै आएका छौं। हमिसम्म आइपुग्नु भएको टिमको रिभ्युले नै हामीले छोटो समयमै धेरै पर्यटकको मन जित्न सफल भएका छौं।

ट्रेकिङ क्षेत्रमा लाग्ने प्रेरणा कसरी प्राप्त गर्नु भयो?

मेरो घर सोलुखुम्बु हो , सानै देखी हिमालको काखमा हुर्किए। हिमालसंग सानै देखी लगाब पनि थियो।केहि बर्ष पढ्दै साथीहरु संग बेलामौकामा ट्रेकिङ पनि जाने गरेको थिए। पछि पढाईको सिलसिलामा म सोलु छाडेर काठमाडौँमा आए।  यहीं पढ्दै गर्दा सोलुका साथीहरु भेटिए।  पढ्दै काम गर्ने इच्छा लागेर आयो।  साथीहरुले पनि पर्यटन क्षेत्रम राम्रै हुन्छ भनेर हौसला दिए। अनि साथीहरुकै सल्लाह अनुसार एक ट्रेकिङ कम्पनिमा जागिरको लागि पुगें। अझै पनि मलाई याद छ, त्यो समय मलाई कम्पनिको साउले मान्छे त् सानो छौ , ८० /९० केजीको भारी बोकेर हिड्न सक्छौ के त भनेर सोध्नु भएको थियो।  मैले हिम्मतका साथ सक्छु भनेर भरियाको रुपमा जागिर सुरु गरें।

ट्रेकिङ क्षेत्र एउटा धेरै नै रिस्क भएको क्षेत्र हो , यस क्षेत्रमा लाग्न परिवारबाट कत्तिको साथ् समर्थन पाउनुभयो ?

ट्रेकिङ  साच्चै  नै एउटा चुनौतीपूर्ण कार्य हो। जहाँ गईसकेपछि  ज्यान मै रिस्क बोकेर हिड्नु पर्ने हुन्छ। परिवारबाट  यस क्षेत्रमा लाग्न समर्थन नभएको  होइन , भको  छ।  नर्मल ट्रेकिङ ६ हजार भन्दा तलका हिमाल जाँदा  परिवारबाट  रोकटोक  खासै हुँदैन थियो तर ६ हजार भन्दा माथिका हिमाल चड्दा चाहीं  झगडा नै पर्ने गर्थ्यो।  बुवा आमा श्रीमतीले नजान आग्रह गर्नुहुन्थ्यो। तर मैले जिद्दी गर्थ्ये  मर्नु नै छ भने यहि पनि मरिन्छ , हिमालमा गएर मात्र मरिन्छ भन्ने छैन भनेर जितेर नै बोरुञ्चे गए तर अन्नपुर्णमा जाँदा चाहिं नभनी गए।

ट्रेकिङको क्रममा घरपरिवारको कुरा नसुनेर मैले गल्ति गरेछु भन्ने आभास भयो की  भएन  ?

त्यस्तो अनुभव भएको छ, एकपटक मात्र होइन धेरै पटक ! एउटा अनुभव सुनाउन चाहें  मैले , जव म बोरुञ्चे  गएको थिएँ  त्यो समय मैले सक्छु भन्ने आत्मबल आयो र गए  पनि। जव हिमाल चढी सकेर हामी बेस क्याम्पमा फर्कियौं ,त्यस समय हामीसंग प्रसस्त समय थियो। हामीले त्यहाँ पछि चाहिं छुट्टै छुट्टै फर्किने निर्णय गर्यौं। जव बेस क्याम्पबाट फर्किदै थिए त्यस समय एकदमै मुटुमा चिसो पस्यो , प्रकृति लाई  त् कसैले च्यालेन्ज गर्न सक्दैन , यदि हिजो मलाई हिमालमा केहि भैदिएको थियो भने मेरो घर परिवार , बालबच्चाको त बिचल्ली हुनेथियो। मैले यसो गर्नुहुदैन थियो, परिवारको कुरा मान्नुपर्थ्यो भन्ने सोच्दै म घर फर्किए।  पछि अर्को हिमाल चड्दा  चाहिं मैले परिवार लाई थाहै  दिईन , के सोचें भने मृत्यु संग डराउनेले ट्रेकिङ गर्ने सक्दैन , अब देखि मनमा डर नपाल्ने प्रतिबद्दता गर्दै अहिले सम्म ट्रेकिंग तथा एक्सपिडिसनको क्षेत्रम लगातार काम गरिरहेको छु।

तपाइको सुखद क्षण र दुखद क्षणको बारेमा केहि बताइदिनुस न ?

ट्रेकिङ् पेसा हेर्दा त् आफैमा रमाइलो पेसा हो देख्नेले झट्ट हेर्दा हिमाल, डांडा पाखा गयो ,फोटो खिच्यो घुम्न पाएको छदै छ, कमाइ पनि उस्तै भन्ने सोच्छन  तर हरेक कुराको नदेखिने पाटो भए जस्तै ट्रेकिङ् पेसाको पनि भिन्न भिन्न पाटोहरु हुन्छन।  त्यस्तै एउटा कहानी छ मेरो पनि, ट्रेकिङ् गर्दा हिउँमा हराएको।  एउटा ट्रेकिङ् टिम संग म दुइ दिन हराएको थिए।  मौसम खराबीको कारण पनि थियो त्यो तर सम्झदा एकदमै दुखद क्षण छ। कुहिरोले बाटो कतै नदेखिने भएकाले गर्दा हामि एकदमै खतरनाक हिमालमा चढ्न पुगेछौ ४५ डिग्रि देखि ६० डिग्री को थियो होला, त्यहि क्याम्प लगाएर बसेका रहेछौ  त्यसको थोरै तल एउटा झरना रहेछ , सानो गल्ति गरेको भए पनि हामि त्यहाँ पर्ने निश्चित थियो।   अहिले देख्दा पनि आङ् जिरिङ्ग हुन्छ ,धन्न पो बाँचेका रहेछौ हामि त्यो दिन भनेर।  हाम्रो भाग्यले गर्दा राति चाहिँ मौसम सफा भयो र जुनको उज्यालोले बाटो पत्ता लगाउन सजिलो भयो र फर्केर आयौ तर भोलिपल्ट उस्तै मौसम, फेरी हरायौ हामि  कुहिरोको त्यो जंगलमा, सामानहरु बिस्तारै आफैलाई भारि हुदै गईरहेको थियो, कति अति आवश्यक सामानहरु कता कता खसे, स्वास्थ्यमा नि समस्या देखा पर्यो त्यो दिन त बाच्ने आशा मरिसकेको थियौ  तर मौसम खराब भएपनि हिउँ धेरै परेको कारण बाँच्न सफल भयौ, हिउं धेरै  हुनाले हामि चिप्लिने सम्भावना कम भयो र हामि बिभिन्न समस्याका बाबजुद सफलतापुर्वक हाम्रो गन्तब्यमा पुग्यौ र हाम्रो हिउले उत्रिएको अनुहारमा पुन एक पटक खुसि फुल्यो सबैले पुनर्जीवनको उत्सब मनायौ।  यस्ता धेरै चुनौतिहरुको सामना गर्नुपर्ने हुन्छ हामीले।  ट्रेकिङ्ग गर्ने/गराउने मान्छेहरु हामि धेरै पटक मृत्युको मुखमा पुगेर पुनर्जिवित हुन्छौ। त्यसैले हरेक जीवनको उत्सब मनाउन छुटाउदैनौ। दुख पनि त्यहि र सुख पनि त्यहि हो हाम्रो लागि।

ट्रेकिङ र ट्रेकिङ ब्यबसायको लागि महिला कति सक्षम छन् ?

महिलाहरु हरेक कुरामा सक्षम छन् । आजको अवस्था हेर्ने हो भने ट्रेकिङ् जाने महिला र पुरुष उस्तै उस्तै संख्यामा छन्। तर मलाइ सहनशिलता र फुर्तिलोलाइ आधार मान्ने हो भने  महिलाहरु  पुरुषको तुलनामा अझै धेरै अगाडि छन।  उनीहरु जस्तोसुकै अवस्थालाई पनि सहजै पार गर्न सक्छन।  मेरो पछिल्लो अनुभब छ बिदेशी महिलाहरुसंग लगभग ६००० मिटरको उचाइमा जानुपर्ने थियो तर उनीहरुमा  कत्ति पनि डर थिएन आफ्नो तेत्रो सामान बोकेर पनि उनीहरुको हिडाई सम्झन लायक थियो।   जस्तो सुकै परिस्थितिमा पनि उही लगनशीलता र धैर्यता थियो। म आफै सोच्न बाध्य भएको थिएकी महिला भएर पनि (हाम्रो समाजले दिएको उपमा महिलाहरु कमजोर हुन्छन) भन्ने भ्रम चिर्न सफल भएका थिए । तर महिलाहरु संग हामि पुरुषले गाइडिंग गर्नुपर्दा अलिक अफ्ठ्यारो परिस्थिति पनि सामना गर्नु पर्ने हुन्छ महिला दिदिबैनिलाई कतिपय यस्ता समस्याहरुपनि आइदिन्छ कि उनीहरुले चाहेर पनि सहजै हामीसंग सेयर गर्न सक्दैनन्  त्यसैले महिलाहरु नै उनीहरुको गाइड हुन्थ्ये भने सजह हुन्थ्यो जस्तो लाग्छ।

Facebook Comment

छुटाउनुभयो कि?