ढोरपाटनमा वर्षको दोस्रो शिकार याम शुरु ,शिकारको मूल्य १३ लाख ५१ हजार

पर्यटन बजार२६ फाल्गुन २०७५, आईतवार मा प्रकाशित

ढोरपाटनमा वर्षको दोस्रो शिकार याम शुरु ,शिकारको मूल्य १३ लाख ५१ हजार

फागुन २६, काठमाडौँ । वैधानिक शिकारका लागि प्रख्यात ढोरपाटन शिकार आरक्ष क्षेत्रमा वर्षको दोस्रो शिकार याम शुरु भएको छ ।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार यो याममा दश नाउर र चार झारलको शिकार हुनेछ । बोलपत्र प्रक्रियाबाट छानिएका छ कम्पनीले पेशेवर विदेशी शिकारीलाई आरक्षमा शिकार गराउने छन् ।

बोलकबोलमा कम्पनीबीच भएको प्रतिस्पर्धाले यो याममा शिकारको दर पनि बढेको छ । एउटा नाउर शिकारको १३ लाख ५१ हजार रूपैयाँ र झारलको १३ लाख ५० हजार राजस्व तिर्न कम्पनी तयार भएका हुन् । अघिल्लो याम (असोज–मङ्सिर) मा नाउरको १२ लाख पाँच हजार र झारलको नौ लाख २० हजार बुझाइएको थियो ।

ट्र्याक एण्ड ट्रेल्र्स, नेपाल वाइल्ड लाइफ सफारिज र हिमालयन अउटफिटरले दुई-दुई नाउर तथा एक-एक झारलको शिकार गराउने छन् । यस्तै नेपाल वाइल्ड लाइफ एडभेञ्चरले एक नाउर र एक झारल, हिमालयन सफारिजले दुई नाउर र ग्लोबल सफारिज नेपालले एक नाउरको शिकार अनुमति पाएको छ ।

व्यवस्थित शिकारका लागि छ क्षेत्र तोकिएको विभागका व्यवस्थापन शाखा प्रमुख श्यामकुमार शाहले जानकारी दिए जसमा फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह छ ।  शिकारीले रोजेको ठाउँमा कम्पनीले शिकार गराउने गर्छन् ।

‘आवश्यक प्रक्रिया पूरा गरी कम्पनी शिकार गराउने तयारीमा छन्’, प्रमुख शाहले भने, ‘यो याममा १० नाउर र चार झारलको शिकार कोटा छ ।’

विभागले अघिल्लो महिना शिकारका लागि पेशेवर शिकारी अनुज्ञापत्र प्राप्त कम्पनीबाट शिलबन्दी दरभाउपत्र आह्वान गरेको थियो । नेपालमा शिकार कम्पनी थोरै भएकाले रकम कबोलमा बढी प्रतिस्पर्धा हुने गरेको ग्लोबल सफारिज नेपालका प्रबन्ध निर्देशक शम्शेर पराजुलीले बताए ।’कम्पनीले घाटा खाएरै भए पनि शिकार गराउँदैछन्’, उनले भने, ‘यो याममा राजस्व भने सबैभन्दा बढी उठेको छ ।

उनका अनुसार १० नाउर र चार भारल शिकारका लागि कम्पनीले एक करोड ८९ लाख १० हजार राजस्व बुझाएको छ । शिकारको माग बढी हुँदा राजस्वको दर पनि बढ्ने र माग घट्दा राजस्व पनि घट्ने गरेको छ ।

चैत पहिलो सातादेखि शिकार खेल्न शुरु हुने ढोरपाटन शिकार आरक्षका कामु प्रमुख संरक्षण अधिकृत सरस्वती सापकोटाले बताउँछन् । ‘आउँदो वैशाखसम्म शिकारको दोस्रो याम चल्छ’, उनले भने, ‘सौखिन र खर्चिला विदेशी शिकारी ढोरपाटन आउँछन् ।’ एउटै शिकारीले  ३० देखि ३५ लाखसम्म शिकारमा खर्चने गरेको बताइन्छ ।

शिकारी हेलिकप्टरबाट आरक्षमा पुग्ने गर्छन् । शिकारी, आरक्ष कार्यालय तथा कम्पनीका प्रतिनिधि, भरिया र पथप्रदर्शकसहितको टोलीले १५ दिन आरक्षमा बिताउँछन् । शिकार खेल्न अमेरिका, रुस, स्पेन, साउथ अमेरिका, नर्वे लगायतका देशबाट पेशेवर शिकारी ढोरपाटन आउने गरेको आरक्ष कार्यालयले जनाएको छ ।

ढोरपाटनमा बर्सेनी असोज–मङ्सिर र फागुन–वैशाख गरी दुई याममा शिकार खुला गर्ने गरिएको छ ।

साहसिक यात्रा र रोमाञ्चक शिकार अनुभवका लागि ढोरपाटन विदेशीको रोजाइमा छ । विसं २०३९ स्थापना भएको ढोरपाटन देशकै एक मात्र शिकार आरक्ष हो । एक हजार ३२५ वर्ग किमीमा फैलिएको आरक्ष बागलुङ, म्याग्दी र रुकुम जिल्लाको उच्च पहाडी र हिमाली भू–भागमा अवस्थित छ ।

(राससका लागि रामबहादुर थापा)

Facebook Comment

छुटाउनुभयो कि?