तराई–मधेशमा आज हर्षोल्लासपूर्वक होली मनाइँदै

पर्यटन बजार७ चैत्र २०७५, बिहीबार मा प्रकाशित

तराई–मधेशमा आज हर्षोल्लासपूर्वक होली मनाइँदै

चैत ७, काठमाडौं । सद्भाव, सौन्दर्य र रशरङ्गको रङ्गीन पर्व मानिएको होली तराई–मधेशमा आज हर्षोल्लासपूर्वक मनाइँदैछ । भौगोलिक संरचना र मान्यताअनुरूप हिमाली र पहाडी भेकमा पूर्णिमाका दिन ‘फागु’ काे रुपमा मनाइने यो पर्व मधेशमा पूर्णिमाको भोलिपल्ट काे रुपमा मनाइन्छ ।

मधेशमा होरी, होली, फगुआ र फागुका नामले मनाइने यो प्रेम र स्नेहको चाड पनि हो । सबै प्रकारका भेदभावलाई भष्म गरी सबैलाई एउटै रङ्गमा रङ्गाउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको छ ।

सांस्कृतिक महत्वका साथै वैज्ञानिक महत्व रहेको यस पर्वमा खेलिने रङ र अबिरले छालाको रोग निवारण गर्ने, खोकी नाश गर्ने, होलिका दहनको धुवाँबाट शीतकालजन्य रोग नाश हुने, खरानीले दृष्टात्माको कुदृष्टि समेत नपर्ने मान्यतासमेत रहेको पाइन्छ ।

हिन्दू, मुस्लिम, सिख, इसाई, मङ्गोल, किराँत, राई आदिमा एकताको सन्देश दिँदै यस पर्वले सबैको मनमा उमङ्ग एवं उत्साहको सञ्चार गर्ने पर्वकाे रुपमा मधेशमा मनाइन्छ । वैदिक यज्ञसँग जोडिएको होरीमा आगोमा चीर डढाउने यो पर्वमा मिथिलाञ्चलमा नयाँ अन्नलाई आगोमा पोलेर प्रसादका रूपमा खाने चलन पनि छ ।

यसै क्रममा होली पर्वको परम्परा ऋतुराज वसन्तका मित्र मदन अर्थात् कामदेवको पूजाबाट शुरू भएकाले यस उत्सवलाई मदनोत्सव या वसन्तोत्सवका रूपमा पनि मनाइन्छ । रसरङ, नाचगान, खानपिन, मनोरञ्जन र आफ्नो रङ्गमा अरूलाई रङ्ग्याउने, ढोल, डम्फु ,झाल, मृदङ्ग बजाउँदै भेदभाव, मनोमालिन्य त्याग्दै भ्रातृत्व भावना बढाउने यस पर्व हिजो आज भने केही ओझेलमा परेको पाइन्छ ।

 

Facebook Comment

छुटाउनुभयो कि?