तारेहोटल सुनसान हुँदा गाउँ क्षेत्र भरिभराउ

पर्यटन बजार२५ माघ २०७७, आईतवार मा प्रकाशित

तारेहोटल सुनसान हुँदा गाउँ क्षेत्र  भरिभराउ

माघ २५, काठमाण्डौ। कोरोना भाइरस (कोभिड–१९) महामारीलाई भुल्दै नेपालीहरू घुमघाममा निस्कन थालेका छन् । घुमघाममा निस्कँदा आन्तरिक पर्यटनलाई केही राहत पुगेको छ ।

पर्यटक नै नआएर सुनसान जस्तै बनेको प्रमुख पर्यटकीय गन्तव्यहरू अहिले भरिभराउ हुन थालेका छन् । राजधानी काठमाडौं बाहिरका होटलहरूको अकुपेन्सी बढ्न थालेको छ । अहिले मानिसहरूले कोभिडलाई ‘न्यू–नर्मलको’ रूपमा लिएर घुमघाममा निस्कँदा उपत्यका बाहिरका सौराहा, पोखरा, धुलिखेल, नगरकोट लगायतका क्षेत्रमा शुक्रबार र बिदाको दिन होटलमा कोठासमेत पाउन मुस्किल हुन थालेको छ ।

पछिल्लो समय राजधानीभन्दा बाहिर विभिन्न संघ–संस्थाहरूले सभा र सेमिनारहरू समेत गर्न थालेका छन् । यहाँको भीडभाडबाट केही समय मुक्त हुने सोचका साथ पनि मोफसलमै कार्यक्रमहरू हुन लागेका कारण होटलहरू भरिभराउ हुन थालेका हुन् ।जंगल सफारी लजका सञ्चालक एवं क्षेत्रीय होटल संघ चितवनका निवर्तमान अध्यक्ष सुमन घिमिरेले बिदाका दिन घुम्न आउनेहरूको संख्यामा वृद्धि भएको बताए ।

सभा, सेमिनार र गोष्ठीहरूसमेत पछिल्लो समय चितवनमा धेरै हुन लागेको उनले जानकारी दिए । कोभिडपछिको होटलको अवस्था अहिले सन्तोषजनक रहेको बताउँदै १८ देखि २० प्रतिशत होटलको अकुपेन्सी रहेको बताए ।सन् २०२१ सुरु भएपछि सौराहामा घुम्न आउने पर्यटकहरूको संख्यामा वृद्धि भएको व्यवसायीको भनाइ छ । काठमाडौंबाट नजिक र शान्त वातावरण भएकाले पनि अधिकांशको रोजाइ चितवन र सौराहा परेको त्यहाँका व्यवसायीहरूको भनाइ छ ।

सौराहा मात्र होइन पोखराका होटल व्यवसायसमेत अहिले फस्टाउँदै गएको छ । घुमघाममा निस्कनेहरूको रोजाइमा पोखरा पर्ने गरेको छ । त्यहाँका पर्यटन व्यवसायीहरूका अनुसार आन्तरिक पर्यटकको आगमनले केही चलायमान भएको छ ।

होटल रानीवन आर्किटका सञ्चालक हरि भुजेलका अनुसार अपेक्षा गरेको भन्दा बढी नै आन्तरिक पर्यटकहरू पोखरामा आउन थालेको बताए । कोभिडले ठप्प भएको त्यहाँको पर्यटन पर्यटनलाई चलायमान बनाउन फेवातालको बोटिङ, प्याराग्लाइडिङ, रेष्टुराँ र होटलहरूमा दिएको छुटको कारण व्यवसाय बढ्ने अवस्थामा पुगेको उनको भनाइ छ । पोखराको साइड सिनकै लागि धेरै पर्यटकहरू आउन थालेका छन् ।

अहिले पोखरामा घुम्न आउनेहरूका लागि होटलहरूले ६० देखि ६५ प्रतिशतसम्म छुट दिन थालेका छन् । अर्थात ४ हजारदेखि ५ हजारसम्म पर्ने कोठालाई अहिले २ हजारदेखि २ हजार ५ सय रुपैयाँसम्ममा दिन थालेका छन् ।

यति मात्र होइन, प्याराग्लाइडिङमा आधा छुट दिन थालिएको छ । अरू बेला ७ देखि ९ हजारसम्म पर्ने गरेकोमा अहिले ३ हजार ५ सयदेखि ४ हजार रुपैयाँसम्मै गराई रहेको व्यवसायीको भनाइ छ ।

एयरलाइन्सहरूले समेत सस्तोमा टिकट बिक्री गर्न थालेका छन् । बसको टिकटको मूल्यमा एयरलाइन्सको टिकट पाएकाले पनि धेरै पर्यटकहरू घुमघाममा निस्कन थालेको पर्यटन व्यवसायीहरूको भनाइ छ ।

काठमाडौं नजिकैको भक्तपुरको रानीकोटमा रहेको होटलहरूसमेत भरिभराउ हुने गरेका छन् । राजधानी नजिकै भएकाले त्यहाँ हाइकिङ र ट्रेकिङमा जाने पर्यटकहरूको भीडभाड हुने गरेको हाइल्याण्ड रिसोर्टका सञ्चालक रामसुन्दर बाकेले जानकारी दिए ।

त्यति मात्र होइन, त्यहाँ विभिन्न सेमिनारहरू र वनभोजका लागि समेत मानिसहरू जान थालेका छन् । कोरोनालाई भुल्दै आन्तरिक पर्यटकहरू घुमघाममा निस्कनेको संख्या बढेको उनको भनाइ छ ।

अर्को पर्यटकीय गन्तव्य नगरकोटमा रहेको क्लब हिमालयका सेल्स डाइरेक्टर प्रमिता शाक्यका अनुसार अहिले आन्तरिक पर्यटकहरूले बिदाको दिन भरिभराउ हुने गरेको छ । अन्य बेला विदेशी पर्यटकहरूले भरिभराउ हुने सो होटलमा पछिल्लो समय आन्तरिक पर्यटकहरूले नै भरिभराउ हुन थालेको शाक्यले जानकारी दिइन् ।

अहिले होटलले भ्यालेन्टाइन डेलाई लक्षित गरी विशेष प्याकेजहरू ल्याइरहेको उनको भनाइ छ । पहिले विदेशीहरूलाई विशेष फोकस गरिरहेको सो होटलले अहिले भने नेपालीहरूलाई नै लक्षित गरी प्याकेजहरू ल्याइरहेको हुँदा धेरैको रोजाइ पर्न थालेको उनले बताइन् ।

आन्तरिक पर्यटकहरूको अर्को आकर्षक गन्तव्यको रूपमा दोलखाको कालिञ्चोकलाई पनि लिने गरिएको छ । अहिले हिउँ परेसँगै त्यहाँका होटलहरू भरिभराउ हुन थालेको कन्ट्री भिल्लाका सञ्चालक नोर्बु तामाङले जानकारी दिए । कोभिडले थला परेको त्यहाँका पर्यटन व्यवसायीहरू अहिले भने केही उत्साहित हुन थालेको उनले सुनाए ।

इलाममा रहेको श्री अन्तुमा पनि आन्तरिक पर्यटकको चहलपहल बढेको छ । चिया बगानसँगै रहेको त्यहाँका होमस्टेहरू भरिभराउ हुन थालेका त्यहाँका व्यवसायी रुद्रश्री घिमिरेले जानकारी दिए ।

यता काठमाडौंमा रहेको तारे होटलहरूको बुकिङ भने अत्यन्त न्यून छ । साना होटलहरूमा केही ग्राहकहरू आए पनि विदेशीहरू नआएकै कारण बुकिङमा समस्या भएको होटल एसोसिएसन अफ नेपाल(हान)का वरिष्ठ उपाध्यक्ष विनायक शाहले बताए । अहिले काठमाडौंका होटलहरू र तारे होटलहरूको अकुपेन्सी २ प्रतिशत रहेको उनले बताए ।

Facebook Comment

छुटाउनुभयो कि?