तिलमानपास यात्रा , एक अध्ययन

पर्यटन बजार२८ पुष २०७७, मंगलवार मा प्रकाशित

तिलमानपास यात्रा , एक अध्ययन

मौसम चिसो हुदै थियो । विन्टर अर्थात हिउँद महिना शुरु हुदै थियो तर हिमालको यात्रा तय गरियो । जाडो महिनामा हिमालको यात्रा वास्तवमै चुनौती भन्ने थाहा थियो त्यसैले नेपालको प्रमुख पर्यटकीय नगरी ठमेलमा जाडो छेक्नका लागि पर्याप्त सामनहरु खरिद गरियो त कुनै भाडमा लियौ । सबै तयारीपछि मंसिर महिनाको ३ गते घरको श्रीमतिको हातबाट शुभयात्राको खादा लगाउदै २२० को पल्सरमा पछाडी सिटमा बसेर साँखुतिर हुइँकियो । दुइजना पल्सरमा अन्य साथीहरु फोरह्वील जीपमा ।

साँखुको बाटो हुदै खाजा खाना जरसिंहपौवामा गएर रोटी तरकारी ब्रेकका लागि पल्सर र गाडीको ब्रेक लगाइयो । निकै मिठो रोटी तरकारी । खाजापछि हामी अगाडी बढ्यौ । कस्तो होला तिलमानपास ? कस्तो होला पाँचपोखरी ? खुल्दुली मनलाई बराल्न जरसिंपौवाको सेरोफेरोबाट जुगल हिमश्रृंखलामा पर्ने दोर्जेलाक्पाको देब्रेतिरको खोजलाई हेर्दै यहि होला तिलमानपास भन्ने अनुमान लगाउदै पल्सरलाई स्लो गर्थ्यौ । यसै समयदेखि दिल, दिमाग, सोच र गन्तब्य त्यहि तिलमान भइदियो । बाटो निर्माणकार्य चलिरहेको थियो । जरसिंपौवादेखि मेलम्चीसम्मको बाटो सधै निर्माण कार्यमा ब्यस्त देखिन्छ तर कहिलेपनि सम्पन्न हुदैन । खास कुरो के हो यसको प्रश्न र उत्तर आफैमा सिमित छ ।

मेलम्चीमा खाना तयारी अवस्थामा थियो । मेलम्ची भन्ने बितिकै गर्मि ठाउँ भन्ने मेरो दिमागमा आजको जाडो दिनले मेरो भ्रम हताइदिएको थियो । होटल सहुजी र सहुनीको हँसिलो मुस्कानसँगै मिठो घिउसँग नेपाली खाना खाइयो र खादा लगाइ शुभकामना र बिदाई ग्रहण गरियो । यसका लागि होटल परिवारलाई हार्दिक धन्यबाद भन्दै मेलम्चीलाई बाइबाइ गरि आफ्नो गन्तब्यमा अगाडी बढियो।

हाम्रै प्रतिक्षामा बसिरहनुभएको पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्षज्यूको फोन बेलाबेलामा आइरह्यो । यात्राका क्रममा कति राम्रा दृश्यहरु देखिए भने कति बिजोग बाटो त्यस्तै अस्तव्यस्त निर्माणकार्य, श्रावणमाभन्दा बिजोक पनि । पल्सरको यात्रा पुरै हिलाम्मे । सडक त अस्तव्यस्त नै थियो तर पाँचपोखरी थाङपाल गाउँपालिकामा स्वागत छ भन्ने मुल गेट निकै सुन्दर थियो । आगामी दिनमा सडकमा पनि सुधार होला भन्ने आशा र मनोकामना सहित हामी केहि समयपछि टारमा पुग्यौ । जहाँ पाँचपोखरी थाङपाल गाउँपालिकाको कार्यालय थियो । हाम्रो पर्खाइमा बसिरहेका पालिका परिवार, स्थानीय बासीको उपस्थितीले पालिका परिसरमा रमझमनै थियो । सानो तर निकै ब्यवस्थित रहेको पालिकाको बैठक हलमा हामी छिर्यौं । तिलमानपास यात्राको बिषयमा प्रस्तुति गरियो र पालिका अध्यक्ष टाशली लामा र उपस्थित सबैको शुभकामना ग्रहण गर्दै अगाडी बढ्यौ ।
यस पालिककाको बिभिन्न वडाहरुमध्ये सानो वडा र निकै मनोरम बस्ति गुन्सा हुदै हामी रैथाने पोखरी पुग्यौ । हाम्रो बिदाइको लागि कुरिरहनुभएका मित्रहरुको शुभकामनालाई ग्रहण गर्दै हामी पहिलो दिनको गन्तब्य भोताङ पुग्यौ । पालिकाका वडा अध्यक्ष ङिमाछिरिङ तामाङको घर अर्थात हसिना होमस्टेको बसाइ निकै रमाइलो थियो । नाम मात्र हसिना हैन मान्छेपनि निकै हँसिलो घरबेटी आमैले आफ्नो हातहरुले त्यहाको अर्गानिकखाना सक्दो मिठो पारेर माया र सदभाब सहित खुवाउनु भयो।

यात्रा सफलताका लागि पुजापाठ डुम्खाङ
दोस्रो दिनको गन्तब्य थियो ब्रोङ्दोगङ (टुप्पिडाँडा) दुरीको हिसाबमा खासै टाढा होइन । पालिकाकै सबैभन्दा बाक्लो बस्ति । हरियो जस्ताले छाएका घरका छानोहरुले सजिएको यो भोताङबासी आर्थिक रुपमा सम्पन्न देखिन्छन् । कुनै त न्युरोडको महल भन्दापनि बिशाल घरहरुपनि देखियो भोताङमा । एकै रंगको जस्ताले छाएको सुन्दर र बाग्लो बस्ति यस क्षेत्रको महत्वपुर्ण बिषयपनि हो । हेर्दा निकै सम्पन्न देखिने बस्तिको अन्तिम गाउँ छ्र्युम्दि खोलको पाखामा एक आमा जम्ले र अरु एक गरि ३ ओटा बच्चहरु डोर्याउँदै घाँसको भारी बोक्दै थिए । साना साना नानीहरुको मेहेनत देख्दा मन थाम्नै सकिन अनि सोधे किन यति सानैमा येत्रो भारी बोकेको भनि सोध्दा आमा चांहिले जफाब दीइन् हामी दुख पाउने मान्छे यस्तै हो काम नगरी खान पाइन्दैन । सोचे हेर्दा सम्पन्न देखिने बस्तिभित्र कति धेरै होलान यस्तै लुकेका पीडाहरु।

यो सुन्दर बस्तिलाई बाइबाइ गर्दै बिशेष कार्यक्रम पुजामा सहभागी हुन देउराली हुदै डुप्खाङ्मा पुग्यौ । समुन्द्रि सतहबाट २२८० मिटरको उचाईमा अवस्थित यस क्षेत्रमै निकै महत्वका साथ लिने गरेको डुप्खाङको ओडारमा लामा गुरु पेम्बा लामाले यात्रा सफलताको लागि करिब एक घण्टामा पुजा कार्यक्रम सकाएर हामी अगाडी बढ्रयौ । केहि पर बुद्धलाल वाइबाको घरमा बनाएको त्यो रोटी तरकारी निकै स्वादिलो थियो शायद भोकलेपनि होला । चित्र खोला र चित्र खर्क हुदै दिउँसको २ः३० बजे गन्तब्य ब्रोङदोगङ्मा पुगियो । समुन्द्रि सतहबाट २७०० मिटरको उचाईमा रहेको ब्रोङदोगङ अर्थात टुप्पि डाँडाँमा खाना बस्ने राम्रो ब्यवस्था थियो । केहि बर्ष अगाडीदेखि शुरु गरिएको होटल अहिले प्रतिदिन १० देखि १२ जना पर्यटकहरु ओहोरदोहोर गर्ने गरेको होटल संचालक छिरिङ तामाङले सुनाउदै थियो । होटलमा ब्यवस्था भएतापनि हामी भने टेण्टमा सुत्यौ । साथीहरु अलिक ढिलैसम्म रमाइलो गर्दै थिए ।

यात्राकै निकै रमाइलो दिन

बिहान सबेरै ५:३० बजे उठ्यौ । टिमका साथीहरु माया गुरुङ, दावा शेर्पा हामी ३ जना बिहानको सनराइज हेर्नका लागि हामी पाँचपोखरीबाट २ सय मिटर माथी डाँडामा उक्लियौ । करिब १ घण्टाको सिधा उकालो पार गरेपछि हामी टपमा पुग्यौ । घाम हामी पुग्नुभन्दा केहि मिनट अगाडी नै आइसकेको थियो । यो टपमा पुग्दा संसारको स्वर्ग भनेकै यही हो कि जस्तो लाग्थ्यो । जुगल हिमश्रृंखलाको सबै हिम चुचुराहरु एकदमै नजिकबाट नियाल्न सकिने र पाँचवटै पोखरी स्पष्टसँग देखिने र तल्लो भेग पुरै बादलले ढाकेको देखिन्थ्यो ।समय बित्दै थियो । भोक लागिरहेको थियो तर त्यो सुन्दर डाँडाबाट ओर्लिन ठ्याम्मै मन लागेको थिएन । अरु पर्यटकहरुपनि आउन थाले  । हिमालको पृष्ठभुमिमा बिभिन्न पोजमा फोटो खिच्दै गरेको ति यात्रीहरुसंग हामीले पनि  खुशी साट्यौ । निकै उत्साहित देखिएका यात्रीहरुले हामीलाई २ ओटा बिषयमा सुझाब पनि दिदै थिए  । सूचना बोर्ड र फोर व्यवस्थापन तत्काल गर्नु ।  केहि समयपछि हामी ३ नै जना अलग अलग बाटोमा लाग्यौ  । माया र दावा अझै माथी रहेका पिकमा गए  भने म चाहिँ त्यो खुलेको मौसममा पाँचपोखरीको फरकफरक एङ्गलबाट फोटो खिच्नतिर लागे  । यहि बेला मैले आफ्नो मोबाइलमा 3 जि अन गरे  र लाइभ भिडियोबाट पाँचपोखरीलाई देखाउने कोशिष गरे  ।

मजाले थ्री जी चल्नु नै  मेरो लागि धेरै खुशीको कुरा थियो । म पाँचपोखरीमा धेरै पटक पुगे तर यसरी 3 जिबाट लाइभ भिडियो त टाढाको कुरा फोन समेत गर्न पाएको थिएन । तर आज मज्जाले लाइभ भिडियो देखाउन पाएकोमा म आफै मख्ख थिएँ । एकछिन लाइभ भिडियोमा रमाएपछि होटलमा आयौ र चिया खाजा खायौ  । बिहानको मौसममा रम्नका लागि निस्केका साथीहरु होटलमा जम्मा हुन निकै समय कुर्नुपर्यो । यसो होटलमा छिरे । बिहानको ११ बजिसकेको थियो टिमका एकजना साथी भने ब्लान्केटभित्र मज्जाले घुर्दै हुनुहुन्थ्यो  । हेल्लो को हो भनि सोधेको त समर बम्जन हुनुहुदोरैछ  । उहाँलाई निकै गाह्रो भइरहेको रहेछ । उचाइको बसाइ । हिजाको चिसो मौसम र उहाँको हिडाइ अलिक छिटो थियो त्यसैले उहाँलाई हाइ लागेको रहेछ । केहि समयपछि चिया सुप लिएपछि बाहिर निस्कनुभयो र उहाँपनि जहाँ हामी गएको थियौं त्यहि गएर  एक चक्कर लगाएर होटलमा आउनुभयो र बल्ल अब ठिक छु भन्ने आत्मबल बढेको सुनाउनुभयो । सबैजना होटलमा जम्मा भयौ  र बिहानको खाना खाइ रक क्लाइम्बिङको अध्ययन गरिने योजना अनुरुप फेरि मास्तिर लाग्यौ । मौसम निकै राम्रोसँग खुलेको थियो । पोखरीबाट करिब १५० मिटरको उचाइको डिलबाट अध्ययनका लागि हाम्रो टिमको मुख्य गाइड हरिराम खड्का जो अन्तराष्ट्रिय स्तरको क्लाइम्बिङ प्रशिक्षक पनि हुनुहुन्छ र तिन बर्ष लगातार वाल क्लाइम्बिङको बिजेतापनि हुनुहन्छ । उहाँसँग अर्का २ जना माउन्टेन गाइडहरु यान थापा मगर र दावा शेर्पाले पालैपालो गर्दै डोरी फिक्स गर्दै तल झर्नुभयो र उहाँहरुको निचोड क्लाइम्बिङको लागि उत्तम रहेको र एकचोटी फाइनल अध्ययन (बोल्ड) गर्नुपर्ने सल्लाह दिनुभयो ।

मलाई पाँचपोखरीको घाम अस्ताउदै गरेको (सन सेट) को फोटो खिच्ने ठुलो रहर थियो र फेरि बिहानकै डाँडामा पुगे  । निकै बेरसम्म क्यामरा बोक्दै बसे र निकै बेरको पखाईपछि बेलुकीको साढे पाँच बजे चाहेजस्तो फोटो खिच्न पाए । घाम अस्ताउदै गरेको फोटो खिच्न कुर्दै फोटो खिच्दै गर्दा झ्याप्पै आध्याँरोपनि भयो । होटलमा आइपुग्न त मोबाइलको बतिको सहरा लिनैपर्ने भयो । पाँचपोखरी आसपासको प्राकृतिक सुन्दरताको दिनभरिको घुमफिरमा रमाएका हामी सबैजना निकै खुशी थियौं  । भोलीबाट क्याम्पिङको बसाइ र उचाइको हिडाइ हुने भएकोले त्यहि कल्पना गर्दै मिठो भोजन गरि सुत्न गयौं  । 

चाहेजतिको फोटो खिचेको दिन
बिहानको खाजा खाइयो । आजको बास र बिहानको खाना एकै ठाउँमा भन्ने जानकारी थियो त्यसैले खाजा राम्रै खानु थियो खायो । करिब २ सय मिटरको उकालोपछि सुन्दर डाँडोमा । जुगल हिमश्रृंखलाका सबै चुचुराहरु निकै क्लियर देखिन्थ्यो । ४२ सय मिटरको यो सुन्दर डाँडाँमा साथीहरुले धेरै पोजहरुमा निकै तस्बिरहरु खिचियो । यो डाँडोबाट ओरालो लागेपछि कहि उकालो कहि आरोलो अगाडी भने तिनै हिमचुचुराहरु । मौसम निकै खुलेको थियो । बाटो खासै राम्रोपनि होइन खासै नराम्रोपनि होइन । हिमालमा जाने यतिका बाटोलाई राम्रै मान्नुपर्छ । खुला मौसमको त्यो प्राकृतिक सुन्दरतासँग रमाइलो गर्दे दिनको १ः२० बजे आजको क्याप्पसाइड खोलेलुङमा पुग्यो ।
साथीहरुले अगाडीनै चियासँगै खाना (लन्च) को ब्यवस्था गरिसकेको थियो । समुन्द्रि सतहबाट ३८६० मिटरको उचाइमा रहेको खोलेलुङको क्याम्पमा स्थानीय तरकारी च्याउँ र घिउसँगको खाना त्यसमाथी ६ घण्टा हिडाइको भोकले भोकाइएका आजको खाना स्मरणयोग्य रह्यो । समय अझै बाँकी थियो तर आजको गन्तब्य यहि थियो । क्याम्प फाएरका लागि सहयोगी भाइहरुले दाउराको जोहो गर्दै थियो । हामी रमाइलो गफगाफमा समयलाई बिदाइ गर्दै बितायौ । आगो बालियो । आगोकै छेउमा बसेर आजको डिनर हल्का थुक्पा खाने योजनाअनुसार एकएक बोल थुक्पा खाइयो । टिमका साथी समर बम्जनको गफ निकै रमाइलो हुन्थ्यौ । रमाइलो हुँदाहुँदैपनि रात परेसी सुत्नै पर्यो । टेण्टमा छिरियो टेण्ट पार्टनर दावा शेर्पा । सबैलाई गुडनाइट ।


खोलेलुङ बाट बेसक्याम्प :

बिहानको खाजापछि हामी खोलेलुङको उकालो चढ्यो । करिब ३५० मिटरको सिधा ठाडो उकालो अलि गाह्रो नै थियो । यसै उकालोकै कारण टिमका केहि साथीलाई गाह्रो गाह्रोनै भएका थियो । ४२०० मिटरको उचाइको चनचुले डाँडामा अगाडी पुग्ने साथीहरु गीत बजाएर हिमाललाई दर्शक बनाउदै खुब नाँचियो । मेरो झोलामा रहेको डिभाइस स्पिकरमा बजाएको तामाङ सेलोमो एकैछिनको रमाइलोपछि हामी ओरालो लाग्यो । निकै राम्रो उपत्यकामा पुग्यो । यस उपत्यकाको नाम थियो चनचुले खर्क । स्थानीयको गोठ थलो रहेको चनचुले खर्क समुन्द्रि सतहबाट ४०५० मिटर थियो र हामीले आउने दिनहरुमा क्याम्पिङ चनचुले खर्कमा गर्ने भन्ने निर्णयपनि गरियो । हिजो बस्ने क्याम्प पाँचपोखरीबाट खोलेखर्क अलिक नजिकै भएकोले अबको क्याम्प यहाँ गर्दा उत्तम हुने देखियो । पानीको राम्रो ब्यवस्था पनि रहेको छ । अगाडीपट्टि दोर्जेलाक्पा हिमाल र फुर्वघेच्यु हिमाल देखिने चनचुले खर्कमा केहि बेर गफ गर्दै बिताए । यात्रा अगाढी बढ्यो । याङकोष खर्क हुदै देउरालीमा पुग्यो ।

समुन्द्रि सतहबाट ४३५० मिटरको उचाइमा रहेको देउराली डाँडा पुग्दा दोर्जेलाक्पा हिमालको काखैमा पुगेको जस्तो अनुभव हुन्थ्यौ । तिलमानपास त्यो रुटको तिनपोखरी कस्तो होला निकै खुल्दुली लाग्ने तिनपोखरीको छेवैमा हामी पुग्यौ । तिन पोखरीमा एउटा सुख्खा थियो भने बाँकी दुइ पोखरी आइस जमेको थियो । बेस्क्याम्प नजिकै देखिरहेको थियो । त्यसैले हिड्ने खासै हतार गरिएन । फोटोचाही मज्जाले खिचियो । तिलमानपासको हाइक्याम्प र दोर्जेलाक्पा हिमालको बेसक्याम्पलाई नजिकबाट नियाल्दै फोटो खिच्दै १ः३० बजे आजको क्याम्प अर्थात बेसक्याम्पमा आईपुग्यो । सुमन्द्रि सतहबाट ४१२० मिटरको उचाईमा रहेको बेसक्याम्प अलिक गहिराइमा थियो । अगाडी आउने साथीहरुले चियाको ब्यवस्था गरिसकेको थियो सँगै लन्चपनि । पछिका साथीहरुपनि आइपुग्यो । सबैजना घाममा बसेर स्थानीय तरकारी च्याउँ र भात आजपनि मजाले खाइयो ।
खानापछि साथीहरु दोर्जेलाक्पा बेसक्याम्प लागियो भने म र टिमको साथी हरिराम खड्का तिलमानको हाइक्याम्पतिर लाग्यो । बेसक्याम्पबाट करिब डेढ घण्टाको बाटो उकालो पुगेपछि हामीले हाम्रो मुख्य गन्तब्य तिलमानपासलाई नजिकबाट नियाल्यौ । वरिपरिको बाटोपनि अध्ययन गर्दै हामी पुनः क्याम्पमा फर्कियो । क्याम्पमा फर्किदा साँझ परिसकेको थियो । बेलुकीको खाना अर्थात डिनर तयारी थियो र यो दिनपनि हामीले थुक्पानै खायौ । दिन रमाइलोसँग बित्यो ।


डरलाग्दो जोखिम मोल्दै आजको यात्रा
बेसक्याम्पबाट हाम्रो यात्रा तिलमानपासको हाइक्याम्प । हाम्रो हिडाई उचाइमा पुग्दै थियो । जति धेरै उचाईमा हाम्रो पाइला हिडेको गति निकै कम हुदै थियो । तिनजना साथीहरु हामी हिडेकोभन्दा २ घण्टा अगाडीनै तिलमानपासको अवस्था र हाइक्याम्पको क्याम्पिङको लागि हेर्न गइसकेको थियो । अगाडी जाने टिम र पछिको टिमको सम्पर्क सहज नहुँदा यो दिन निकै डरलाग्दो जोखिमपनि मोल्नु परेको थियो । ग्लेसियर (मोरिन) को बायाँबाट हामी उक्लियो । हामी नेपाल पर्वतारोहण संघको चिन्हलाई पछ्याउदै गए । खुलेको मौसममा निकै रमाइलोसँग जति सक्दो फोटो खिच्दै उक्लियो । करिब ३ घण्टाको उकालोपछि हामीले पछ्याउदै गएको बाटोपनि हरायो चिन्हपनि हरायो
टिमका साथीहरु हामी ५ जना र एकजना सहयोगी गरि ६ जना टोली निकै संंकटमा परिसकेको थियो । समयले नेटो काट्दै थियो । फर्किदा पुनः बेसक्याम्पमै फर्किनु पर्ने थियो । वारिबाट पारीका साथीहरुले आजको क्याम्पको तयारी गर्दै गरेको हामीले देखिन्थ्यौ तर आँखाले देखेजस्तो पारी जान सजिलो थिएन । पारी पार गर्नका लागि निकै बेरसम्म बाटो खोज्ने काम गरियो तर अहाँ । धेरै साथीहरुको मत अब फर्किुनपर्छ भन्ने थियो । फर्किदा बेसक्याम्प पुग्नुपथ्र्याे र किचेन टिम तथा अन्य सामनहरु अगाडीनै हाइक्याम्पमा पुिगसकेको थियो । यसैगरि आइटिनरीमा एकदिन थप हुनेपनि देखियो । सहयोगी साथीसँग एउटा टेण्ट चाही छ है भन्ने थोरै खुशीको पाटो थियो ।

तर सबै हिसाबले फर्किदा धेरै कुराले समस्यमा पर्ने  त पक्कानै थियो । नफर्किदा पारी पार गर्नपनि त सामन्य कुरा थिएन । हावाहुरी चलिरहेको थियो । पारी पार गर्न करिब एकसय मिटरजति सिधा ओरालो सुख्खा पहिरोमा झर्नुपर्ने थियो । सबैको मत फर्किने भएतापनि मेरो मत यहीबाट पार गर्नुपर्छ भन्ने थियो । सौभाग्य भन्नुपर्छ हाम्रो सहयोगी साथीको भारीमा पर्याप्त डोरी थियो । मैले डोरी निकाल्न लगाए र अलिक बलियो र भरपर्दाे ढुंगामा बाँध्ने निर्णय गर्यौं । डर थियो त्रास थियो । कतैबाट ढुँगा झरिहाल्यो भने ठुलो दुर्घटनाको सामना गर्नु नै थियो । यो त्रासको बिचमा कम्मरमा डोरीलाई एक फन्को मार्दै तल झर्यो । बिस्तारै तल ओर्लियो । एक ठाउँमा अलि अफ्ठ्यारो नै थियो । निकै चिसो हावासँग धुलो उडिरहेको थियो । नपुग डोरी छोड्नु भन्दै बिस्तारी तल पुग्यौ । एकदमै चिसो थियो खै किन हो निकै प्यास लागिरहेको थियो । बोतलको पानी थोरै चुप्प गरे । अरु दोस्रो साथीको पर्खाइमा बसे दोस्रो टिम सदस्य कान्छिमाया तामाङ तेस्रो समर बम्जन गरि सबैजना सकुशल तल झर्यो । सबैले एकअर्कालाई बधाइदिदै  खुशी साटासाट गर्यौं । समय कम थियो  । ढुँङ्गाको निकै अफ्ठ्यारो बाटो पार गर्न करिब डेढ घण्टा लाग्यो र सहयोगी साथीहरुको टिम  हामीलाई लिन निकै तलसम्म आइसकेको थियो । बेलुकीको साँढै ५ बजे हामी हाइक्याम्पमा आइपुग्यौं र माथी पासमा गएका ३ जना साथीहरु पनि क्याम्पमा आइपुग्नुभयो  । समुन्द्रि सतहबाट ४८ सय मिटरको उचाईको यो हाइक्याम्पमा पानीको अभाव थियो । सहयोगी साथीहरुले दिउँसो तलैबाट प्लास्टिकमा थोरै पानी ल्याउनुभएको रहेछ  । टेण्टमा इपि ग्याँस बालेर खाना अर्थात रामेन चाउचाउँ बनाइयो र पानी सकिएर फेरी साथीहरु घण्टौको बाटो तय गरेर  फेरि केहि पानी लिन अध्यारोमा गएर  पानी लिएर आउनु भयो । निकै मुस्किलका साथ आजको यात्रालाई बिट मार्दै मुख्य गन्तब्य तिलमान पास भोलीको कल्पना गर्दै सबैजना सुतियो  ।


गन्तब्यमा पाईला खुशीको सिमा रहेन
बिहानको ४ बजे सबेरनै सबैजना उठ्यो र केहि तातो झोल पिउँदै क्याम्पबाट साँढे ५ बजे अध्यारोमानै हाम्रो टिम अगाडी बढ्यो । सबैको टाउकोमा हेटलाइट थियो । बाटो ढँङ्गाको अफ्ठ्यारो बाटो त्यति सहज थिएन फेरि जानु थियो । बिहानको ७ बजे पासको फेदीमा पुग्यो र त्यहाँबाट सिधा ठाडो उकालो । बेलाबेलामा ढुँगा झरिराख्ने । ४८ सयबाट ५३ सयको टपमा अर्थात पासमा पुग्न सिधै उकालो थियो । टपमा जान पुरै आइस थियो । आइसमा हिड्नका लागि सहज होस भनेर क्लाम्बिङका सबै तयारी गरियो र सहयोगी साथीहरुले आइस पगालेर तातो पानी पिउने ब्यवस्था गरिएको थियो । टिमको साथी अर्थात प्रमुख गाइड हरिराम खड्काले आइसमा डोरी फिक्स गर्दै सबैलाई उक्लिन अनुरोध गर्नुभयो र फिक्स गरिएको डोरीलाई सहरा लिदै माथी उक्लियौ । हामी पास नजिक नजिक पुग्यौ । ठाउँ निकै फराकिलो थियो ।

मौसम निकै राम्रो खुलेको थियो । बिहानको पारिलो घाममा हामी पासमा पुग्यौ । हिजोका ति सबै दुख पिडा बिर्सेर हामी त्यो चिसो हिउँलाई वेवस्ता गर्दै सबैजना रमाउन थाल्यो र बिभिन्न एङगलबाट फोटो खिच्न थाल्यौ । लगिएका सबै ब्यानारहरु निकाल्दै ग्रुप फोटोहरु खिच्न थाल्यौ । केहि बेरको फोटो खिचाइपछि हामी अगाडी बढ्यो मुख्य पासमा हामी पुग्यौ । एकैछिन उभिएर त्यो पासको दायाँ र बायाँ कुनै एक पिक आरोहण गर्ने योजना अनुरुप दायाँपट्टिको पिक चढ्ने निर्णय गरियो । ६,१५१ मि.उचाई रहेको उर्केनमाङसँग जोडिएको नाम र उचाइनै थाहा नभएको अहिलेसम्म कसैले आरोहण नगरेको पिकको प्रथम आरोहण गरि नामाकरण गर्ने हाम्रो मुख्य मिसन नै थियो । केहि साथीहरुलाई थकान र भोकका कारण माथी उक्लिन खासै रहर थिएन तर अधिकांश साथीहरुको रहर पिक आरोहण गर्नु नै थियो ।

गाइड दाजु हरिराम खड्का र यान थापाले मुख्य डोरी फिक्स गर्दै जानुभयो र हामी उहाँहरुले फिक्स गरेको डोरीमा आरोहणका लागि आवश्यक सबै तयारीका साथ हामी पासबाट २४० मिटर ठाडो उकालो पिक आरोहण गरियो । करिब २ घण्टाको आरोहणबाट मध्यन्नको १२ बजे चुचुरामा पुग्यौ । हाम्रो खुशीको सिमा रहेन । टिमका साथी दावा शेर्पाज्यूले पिकको चुचुरोमा बुद्धिष्ट झण्डा फरफराउन लाग्नुभयो । अल्टिच्युट चेक गरियो र उचाई थियो ५५६० मि. । नामाकरण गरियो युवा पिक भनेर । चुचुराबाट दायाँबायाँका हिमालहरु नजिकबाट नियाल्न सकिन्थ्यो । उर्केनमाङ त पिकसँगै जोडिएको थियो यसको अलवा गङछेम्बु, लाङशिसा रि, निकै नजिकबाट देखिन्थ्यो ।

( तिलमानपास : समुन्द्रि सतबाट ५३२० मिटरको उचाइमा अवस्थित तिलमान पास इस्वित सम्बत १९४९ मा बिदेशी नागरिक विल तिलम्यानले पत्ता लगाएको थियो । तिलमान पासलाई साहशिक पदमार्गका लागि नेपालको बिभिन्न पासहरुमध्ये प्राविधिक कठिनाइ भएको पास मानिन्छ । लाङटाङ र जुगल हिमश्रृंखला क्षेत्रमा पर्ने यो पासमा धार्मिक महत्व रहेको पाँचपोखरी, जुगल गाउँपालिकाको तेम्बाथाङ र लाङटाङको क्यान्जिङ हुदै पुगिन्छ । यस पासको वरिपरि लाङटाङ लिरुङ, नयाँ गङ, याला पिक, गङछेम्बु, दोर्जे लाक्प, गुरुकर्पाे, लाङशिसा री, शिसापाङमा, उर्केनमाङ हिमालहरु रहेको छ भने यहाँबाट लाङटाङ र जुगल हिमश्रृंखलाकै सबै हिम चुचुराहरु लगायत गौरी शंकर लगायत अन्य हिमालहरु अवलोकन गर्न सकिन्छ । )

समय घट्दै थियो । त्यो सुन्दर चुचुरोबाट खासै तल झर्ने रहर कसैको थिएन तर झर्नुनै थियो । फरकफरक एङ्गलबाट धेरैभन्दा धेरै फोटो भिडियोहरु क्यामारमा कैद गर्दै हामी अघिकै फिक्स गरिएको डोरीमा पुनः तल झर्यो । सहयोगी साथीहरु तल पासमा एउटा टेण्ट फिक्स गरेर इपि ग्याँसमा तातोपानी र सुप तयार पारेको थियो । मौसमको रमाइलो साथ र यो प्राकृतिक सुन्दरताले भरिभराउ सधै त्यही बसुबसु लाग्ने तिलमानपास फेरि आउने बाचाका साथ बाइबाइ गर्दै हामाी ओरालो लाग्यो ।

निकै लामो ग्लेशियर । गाइड साथीहरुले फिक्स गरेको डोरीको सहयतामा हामी त जेनतेन तल ओर्लियो तर पछाडीको चारजना सहयोगी भाइहरुलाई निकै गाह्रो भइरहेको थियो । उहाँहरुसँग आइसमा हिड्न सकिने पर्याप्त लगाउने कुराहरु थिएन । यो पास गर्नका लागि सहयोगीहरुका लागिपनि प्रयोग गर्ने सबै सामन आवश्यक देखियो । आफुले बोकेको भारी सँगै तल झर्न सहयोगी भाइहरुलाई निकै समय लाग्यो । गाइड साथी यान थापा र टिमका साथी दावा शेर्पाको सहयताबाट ढिलै भएपनि सुरक्षित साथ सबै तल ओर्लियो । निकै लामो ग्लेसियर पार गरेपछि आजको क्याम्प कहाँ हुन सक्छ भनि आँखा तन्काइँ तन्काइँ तलतिर हेर्दै ओरालो झर्यो ।

लाङटाङ साइडको यात्रा निकै रमाइलो हुन्छ भन्ने टिमका साथीहरुको बुझाइ थियो र मेरोपनि । तर क्यान्जिङ गुम्बा पुग्नुभन्दा अगाडी त्यो बुझाइ पुरै गलत थियो । बाटो निकै अफ्ठ्यारो ढुङ्रगैढुंगा । फेरिपनि हिड्नै पर्यो केहि तल एक ठुलो निलो पोखरी देखियो । त्यसैको आसपासमा क्याम्प बस्नुपर्छ भन्ने सबैले सोच्यो तर त्यहाँ पुग्न टाढै थियो । सहयोगी भाइहरु हिड्न निकै तकडा । हामी भन्दा पछाडी रहेका साथीहरु अगाडी गएर त्यही माथीबाट देखिने पोखरीको छेवैमा क्याम्पको तयारी गर्दै थियो र केहि बेरमा हामीपनि पुग्यो । निकै थकित । लामो हिडाइ कहिले केहि खाएर सुतौ जस्तो । इपि ग्याँसमा चाउचाउ र अन्य झोल पदार्थ केहि खायौं । समुन्द्रि सतहबाट ४७ सय मिटरको उचाइमा रहेको यो उपत्यका निकै सुन्दर रहेको छ । वरिपरि हिमालले घेरिएको बिचमा पोखरी (दुधपोखरी) थियो । लाङसिसा (६४२०मि., गङछेम्बु, रमथाङ कर्पाे (६८६५मि.) थ«ीङला (६४२७मि.) पेपमाथाङ (६७५७ मि.), उर्केनमाङ (६१५१मि.), कंशुम (६०७८मि.) लगायतका हिमालहरुको बिचमा अवस्थित यो उपत्यकाको सुताइ अन्तिम क्याम्पिङ थियो । मौसम चिसोचिसो थियो । खासै पुरा रात निदाउन सकिएन । भोली रात होटलमा पुगिन्छ भन्ने ढुक्का थियौ त्यसैले पुरा रात सुत्न नसकेतापनि भोलीनै निन्द्र पुर्याउला भनि रात बितायो । सबैलाई चिसोमा न्यानो गुडनाइट । यतिकै त चिसो ठाँउ बिहानको ३ बजेतिर हिउँ पर्न थालेको थियो ।

बाटो बिराउँदाको नमिठो पल

हाइक्याम्प (दुधपोखरी) बाट क्यान्जिङ (३८०० मि.)गुम्बा । बिहान पुरै हिँउले पुरिएको थियो । चाहेर पनि बिहान चाँडो टेण्ट छोड्न सकिएन । केहि सहयोगी साथीहरुको सामान्य जानकारी बाहेक यो बाटो हाम्रो लागि बिल्कुलै नयाँ  थियो । बिहान चिया खाएर हामी ओरालो लाग्यौ । बाटो त्यस्तै ढुङ्गैढुङ्गा । टिमका ३ जना साथी कसेर अगाडी लाग्नुभयो । हामी बिचमा थियौ । पछिका साथीहरुलाई बाटो केहि थाहा रहेछ क्यारे सिधै खोलैखोला ओर्लिएछन् । हामीभन्दा अगाडी हिडेका साथीहरु गलत बाटोमा पुगेछन् । दुःख राम्रै पायौ भन्दै हुनुहुन्थ्यो  । सहि बाटो निस्कन पुनः त्यहि बाटो फर्किनु पर्थ्यो  त्यो पनि उकालो । करिब १ घण्टाको फर्काइपछि तल ओर्लिने बाटो पत्ता लगाइयो ।

हामीभन्दा पछिका साथीहरु सही बाटो पत्ता लगाएर निकै तल खोलामा हाम्रो पर्खाइमा बसेका थिए । निकै दुःखका साथ तल पुग्यौं  र आइसमा साथीहरुले डोरी फिक्स गरेर तल ओर्लिने ब्यवस्था गर्नुभयो । सबैजनाले राम्रो चिप्लेटी खेलियो । क्यान्जिङ गुम्बा होइन लाङशिसा खर्क पुग्नै पो धौधौपो होला जस्तो लाग्यो । यो दिन लन्चको ब्यवस्था थिएन । बिहान अलिअलि खाएको खाजा सबैको पेटमा रितिसकेको थियो । ओर्लिदै गर्दा यो अन्कन्टार ठाउँमा २ ओटा याकलाई भेटियो । थोरै आश पलायो । याक भएपछि मानवबस्ति नजिकै आइपुग्यो कि भन्ने खुशी झल्कन्थ्यो सबैको अनुहारमा  । यहि आशलाई शक्तिमा बदल्दै पुरै काँडैकाँडा भित्र अन्दाजमा बाटो खोज्दै अगाडी बढ्यौं  र खोला पारिपट्टि एक घर देखियो । अझ अर्काे आशा पलायो । त्यहि थियो लाङशिसाखर्क । लाङशिसा हिमालको फेदीमा भएको हुनाले यस क्षेत्रको नाम लाङशिसाखर्क राखिएको होला शायद ।

पारीको घर हेर्दै अगाडी बढ्दै थियौं, समस्या पर्दा एकैचोटी पर्छ भनेजस्तै  फेरि अर्काे आपत आइपर्यो । खोला निकै ठुलो थियो । पुल थिएन । पुल भेट्न करिब एक डेढ घण्टा उकालो जानुपर्थ्यो। हामी  बाटो बिराएर गलत बाटोमा आएको कुरा बल्ल थाहा भयो । हिमालको पानी कति चिसो होला मेरो जिउँ अहिले सम्झिदा पनि चिसो महशुस हुन्छ । पानी निकै चिसो । त्यतिकै चिप्लो । सबैले जुत्ता खोल्यौं  तर मोजा भने खोलेनौ । मोजा लगाउँदा चिप्लो हुन्न भन्ने थियो हामीले त्यस्तै गर्यौ । एकअर्कालाई हातमा समाउदै खोला तरियो । आछु छु। ………  ।। जुन घरको आश लिएर आएका थियौं अघि माथीबाटत्यो  घर नभइ पोटर शेल्टर थियो । निकै राम्रो मेहेनतका साथ राम्रै लगानीमा निर्माण गरिएको रहेछ शेल्टर । त्यहाँ साथीहरुले चौरीको सुकेको गोबरलाई बालेर चिया बनाएका रहेछन । अब यो भन्दा अगाडी क्यान्जिङ गुम्बा जति टाढा भएतापनि बाटो चाही राम्रो छ भन्नेमा हामी ढुक्क थियौं र साँच्चिकै बाटो निकै राम्रो थियो ।

पेट खाली भइसकेको थियो हिड्न गाह्रो नै थियो तर हिड्नुको बिकल्प थिएन । खासमा तिलमान पुगेर पुनः पाँचपोखरी हुदै फर्किने योजना रहेको हुँदा ट्रेकिङ जुत्ता पाँचपोखरी नै छोडेको थिएं । क्लाइम्बिङ सुज नै लगाउनु मेरो बाध्यता थियो र यसले खुल्ला ओरालो बाटोमा हिड्न निकै गाह्रो भइरहेको थियो । जतिनै दुःख र गाह्रो भएतापनि होटलको बसाइ हुनेमा म ढुक्क थिए  र  सकी नसकी यात्रा अघि बढाइरहे । अँध्यारो हुदै थियो । फोन निकालेर हेरे टावर आइरहेको थियो र हतारहतार बुढीको मोबाइल नं. डाइल गरिहाले । बुढीसँग नबोलेको ६ दिन भईसकेको थियो । निकै छटपटिमा थिए  घरका मान्छेहरु । निकै खुशीका साथ हिड्दै केहि बेर फोनमा कुरा गरे भर्खरै ३ महिना पुगेको छोरी सेमसाङलाई पापा इज कमिङ अन द वे । सि यु सुन भनि बिदा मागे । मेरो र परिवारको लागि यो निकै खुशीको क्षण थियो ।  क्यान्जिङ गुम्बा कता हो भनि जाँदाजाँदा बेलुकीको ६ बजे क्यान्जिङ गुम्बामा पुगियो  । साथीहरु प्यानारोमा गेष्ट हाउसमा बस्नुभएको थियो । सबैजना ब्यवस्थित होटलको डाइनिङ हलमा आगो तापिरहेका थिए  । भोको पेट र  थकान शरीरले आराम गर्ने ठाउँ भेट्दा त स्वर्ग मै पुगे जस्तो लाग्दो रहेछ। साथीहरु खाजा चिया खादै रमाइलो गर्न थाल्नुभयो । केहि साथी र मैलेपनि स्थानीय निँगार थोरै पियौं  र गफ गर्दै थकान मेट्यौं  । होटल संचालक उर्केन लामा र उहाँको परिवार निकै फरासिलो हुनुहुदो रहेछ  । नेपाली खाना दालभात तरकारी मज्जाले खायौं र सबैजना ओछ्यानतिर लाग्यौ । दुइ तलामाथीको एउटा कोठामा छिरेर सुते । मध्ये राततिर निकै पानी तिर्खा लाग्यो । धारा खोलियो पानि थिएन । घरभन्दा बाहिर सम्म निस्किए पानीको लागि तर  पानी पिउँन पाइन् राती धेरै चिसोले गर्दा पानि सबै आइस बनेर जम्दोरहेछ। र त्यस रात तिर्खा संगै रात काट्न बाध्य भएँ।

बयान गर्न नसकिने लाङटाङ भ्यालीको सुन्दरता !

बिहान राम्रै चिया खाजा खाएर होटलको परिवारसँग ग्रुप फोटो खिच्दै बिदा भयौं हामी  । बस्ति छिरेर जान मन लाग्यो र बस्तिका घरहरु काठमाण्डौको न्युरोडको घरहरुभन्दा कम रहेनछन  । म त छक्कै परे । यहाँबाट सिन्धुपाल्चोक छिर्ने अर्काे प्रख्यात पास गन्जलपास नजिकबाट हेर्न पाइथ्यो । ठ्याक्कै माथी लाङटाङ लिरुङ हिमाल यसैको फेदीमा सजिएको क्यान्जिङ गुम्बा सँच्चिकै सुन्दर थियो । त्यसैले नै होला पर्यटकहरु यस क्षेत्रमा घुम्न आउने । सुन्दर बस्तिको सुन्दर पललाई क्याप्चर गर्दै अगाडी बढ्यौ  , मन त थियो त्यहीं बसौं , अझै जानौं त्यहाँको बारेमा तर के गर्ने समयको पावन्दी !।

बाटोबाटोमा पानीबाट संचालित थुप्रै बुद्धिष्ट मानेहरु थिए । दायाँबायाँ रहेका सबै ढुङ्गाहरुलाई कुँदेर ओम मनि पेद्मे हुँ लेखेर पुरै क्षेत्र आकर्षक बनाइएको थियो । यसैगरि बाटोबाटोमा लामा लामा पुराना माने मान्दाङहरु थिए । यस क्षेत्रको प्राकृतिक सुन्दरता मात्र हैन यो मानव निर्मित माने, स्तुपा, लुङ्ता र गुम्बाहरुपनि पर्यटकका लागि आकर्षणको केन्द्र  थियो । प्रत्येक १५ मिनेटको हिडाइपछि निकै राम्रा राम्रा बस्ति र होटलहरु रहेको यस क्षेत्रका फोटो खिच्दै हाम्रो यात्रा अघि बढिरह्यो।

हिड्दै गर्दा नेपालको इतिहासमा निकै दर्दनाक घट्ना भएको ठाउँमा हामी पुग्यौ । २०७२ सालको भुकम्पमा यहाँ ५ सय भन्दा बढि मान्छेको ज्यान गएको थियो । स्थानीय १८० जना र अरु सबै पर्यटक र गाइडहरु सहित यति धेरै मान्छेको एकै चिहान भएको यो लाङटाङ क्षेत्रका घट्ना सुन्दा जिउँनै सिरिङ्ग भयो।   लाङटाङको यो क्षेत्र पार गरेपछि करिब ११ बजेतिर निकै सुन्दर बस्ति थाङश्यापमा खाना खायौ र एकछिन आराम गर्दै हाम्रो यात्रा अगाडी बढ्यो । आजको बास लामा होटलमा थियो । धेरै सुन्दै आएको लामा होटल कस्तो होला भनि खुल्दुली भइरहेको थियो । बाटो लामै थियो । पुरा जंगलभित्र र खोलाको किनारै किनारको बाटो धेरै रमाइलो थियो । बेलुकीको ५ बजे हामी लामा होटलमा पुग्यौ । होटल न्यु टिबेटन नामक होटलमा हाम्रो बास बस्ने योजना अनुसार अघिनै आइपुगेका साथीहरुले सबै व्यवस्था  मिलाइसक्नु भएको  थियो र हामीपनि हतारहतार कोठामा छिरेर हातखुट्टा धोइवरी किचेनमा पस्यौ आफ्नो अघिदेखिको भोको पेट शान्त पार्न ।

होटलको सहुजी पासाङलाइ  निकै ठट्टा गर्नुपर्ने रहेछ । छोराछोरी र बुहारी अमेरिकामा रहेको उमेरले ५० कटिसकेको पासाङ दाजु र उहाँको निकै राम्री हाँसिलो श्रीमति आफै होटल संचालन गर्दै आइरख्नुभेको रैछ  । एकजना कुक र एक जना बहिनी (मेलिना) स्टाफ रहेको थियो । कुक दाजु तपाईको नाम के हो भन्दा कालेपुतुङ भन्त्थ्यो । सहुजी जस्तै जिस्किने स्वभाव रहेछ । छोराछोरी अमेरिका छ भनेर गर्बका साथ हामीलाई सुनाउन बुढाबुढीलाई हतारोनै देखिन्थे । आगोको रापमा बस्दै रमाइलो गर्दै लस्कारै लामो डाइनिङ टेबलमा बसेर मिठो डिनरपछि रमाइलो नाँचगान शुरु भयो । यात्रा सफल, सबै सकुशल र अर्थमुलक भएकोले हामी सबैजना खुशी थियौ र यस दिनका राती अबेरसम्म मज्जाले नाच्यौ  । हरिराम सरको नाँच निकै उत्कृष्ट थियो । फेरि भोलीपल्टको बाटो सम्झेर हामि   त्यसैले करिब रातको ११ बजेतिर सबैजना आफ्नो आफ्नो ओछ्यानमा गयौ ।

लामो समयको मैलो मज्जाले फालियो

लामा होटल श्याफ्रुबेशी : बिहान खाजा रोटी तरकारी निकै मिठोसँग खायौ । होटलको साहुजी र साहुनीलाई बिदा माग्दै यात्रा ओरालो लाग्यो । बाटो निकै ओरालो र पुरै खोलाको किनारै किनार । बिहाना खाना उतै श्याफ्रुबेशी मै खाने भन्ने थियो । दौडन सक्ने साथीहरु अगाडीनै दौडिए आफुभने जुत्ताको समस्याले हिडाइमा खासै दम थिएन । बाटोमा माथी आउदै गरेको फाट्ट फुट्ट पर्यटकरु भेटिरहन्थे । कोभिड नभएको भए यता बास पाउन धौधौनै हुन्थ्यो रे ।

एउटा ओडारमा एकजना स्थानीय तामाङ दिदीले चिया होटलसँगै गाउँमा बुन्ने गरेका मोजा, टोपाी पंजाहरु बेच्न राख्नुभएको रहेछ।  मैलेपनि छोरीलाई टिमका साथी माया गुरुङबाट चिनोको रुपमा रु. ५०० तिरेर एउटा टोपी एक जोर मोजा लिए  । बाटोमा आउदै गर्दा खोलाबाट निकैमाथी पहाडमा बिशाल घरहरुले सजिएको बस्ति देखिन्थ्यो । त्यो बस्तिको नाम थियो सानो श्याफ्रु । लाङटाङ र गोसाइकुँण्ड छुट्टिेने बाटोमा हामी आइपुग्यौ  । सिमेण्टको भित्तामा निकै राम्रोसँग जानकारी मुलक नक्शा कोरिएको थियो । एकछिन हेरे र फोटो खिचेर हामी ओरालो झर्यो र मोटर बाटोमा आइपुग्यौं । स्थानीयको जानकारी अनुसार भविष्य मा यो लाङटाङसम्म पुगिने मटर बाटो हो रे । यसले स्थानीय र ब्यापारी खुशी र दुखि दुबै थिए  । मटरबाटो पुगेमा नेपालको तेस्रो स्थानमा पर्ने चर्चित पर्यटकीय गन्तब्य लाङटाङ क्षेत्रको भविष्य के हुने हो यसमा पश्न चिन्ह खडा भएको देखिन्छ ।

केहि तल गाडीहरु गुड्दै गरेको देखियो । त्यही थियो श्याफ्रुबेशी । १० दिनपछि त्यो गाडी कुदेको देख्दा अनौठो लाग्थ्यो । यि बजारमा र राम्रा बाटामा चाही गाडी चढ्न पाउने तर दुर्गम बाटो नराम्रोमा चाही हिड्नुपर्ने कस्तो दुनियाँ ।। दिउँसोको १ बजे हामी श्याफ्रुबेशीमा आइपुग्यौ  र हामीभन्दा अगाडी आउने साथीहरुले बजारको सनराइज होटलमा खानाको अडर दीइ सक्नुभएको रहेछ  र ६ घण्टा हिडाइको भोकले होला खाना राम्रै संग मिठो मानेर खाइयो । खाना खादै थियौं  हाम्रो टिमका साथी पाँचपोखरी थाङपाल गाउँपालिका ३ भोताङका वडा अध्यक्ष ङिमाछिरिङ तामाङको सम्पर्कमा गोसाइकुँण्ड गाउँपालिका लाङटाङका वडा अध्यक्ष सुप्पा लामा एक जना साथी लिएर होटलमा आउनुभयो । आ–आफ्नो परिचय दिदै हाम्रो टिमले गरेको यो तिलमानपास यात्राको अनुभव सुनाउदै सरकारको तर्फबाट यस क्षेत्रलाई कसरी बिकास र प्रबद्र्धन गर्न सकिन्छ भन्ने बिषयमा गम्भिर ढँगले कुराकानी भयो । पाँचपोखरी थाङपाल गाउँपालिका, जुगल गाउँपालिका र गोसाइकुँण्ड गाउँपालिका गरि ३ वटा गाउँपालिकाको सहकार्य र प्रदेश सरकारको अनिवार्यतामा अगामी कार्यक्रमहरु गर्न सकिएमा यस क्षेत्रले अर्थात तिलमानपासले चाँढै फड्को मार्न सकछ भन्ने निष्कर्ष सहित काठमाण्डौमा फर्किने लगत्तै एक बृहत अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भनि हाम्रो अर्थमुलक भेटघाटलाई बिट मार्दै आजको बसाई सनराइजमै बस्ने निधो गरेर हामी रसुवागढि सिमाना यात्राका लागि स्कर्पियो गाडीमा अघि बढ्यौं  । करिब ४० मिनेटको गाडी सवारपछि हामी नेपालको गौरबको रुपमा रहेको रसुवागढि हेर्ने मौका पायौं । नेपालतिरको बिजोग र पारीपट्टिको त्यो बिकासलाई नियाल्यौ र आफ्नैतिरलाई थुक्क गर्दै पुर्पुरोमा हात राख्दै पारिको बिल्डिङ्लाई पुष्टिभुमि पार्दै फोटो खिच्यौ ।

 सुप्पा लामा सुनाउदै हुनुहुन्थियो त्यो मितेरी पुल चाइनिजले १८ दिनमा तयार पारेको थियो यता नेपालतर्फ बन्दै गरेको भन्सार कार्यालय ६ बर्ष भइसक्यो अझै निर्माणाधिन भन्सार कार्यालयले आधा स्वरुप पनि लिन सकेको छैन । उफ्फ़ हाम्रो पारा अब कसलाई के भन्ने ?

हामी फर्कियो र तातोपानीमा नुहाउने निर्णय गरियो महिला र पुरुषको लागि अलग अलग रहेको तातोपानी पोखरीमा हामी छिर्यो । मान्छे भिडभाड थियो खासै राम्रो ब्यवस्थापन थिएन । फेरिपनि ११ दिनको पसिना र मैलो तातोपानीमा नुहाउँदै फ्याल्न पाउनुको आनन्द अर्कै थियो । कोरोनाको डर भिडभाड यस्तै सन्त्रासमा नुहाउदै होटलतिर फर्किने कुरा भयो र वडा अध्यक्ष सुप्पा लामालाई छिट्टै काठमाण्डौको मिटिङमा भेट्ने सल्लाह अनुसार उहाँको श्रीमतिले तयार पारेको चिया पिउँदै बिदा भए । धन्यबाद सुप्पा लामालाई । हामी होटलमा आइयो यात्राको अन्तिम रातको बसाई । रमाइलो गर्ने सोच त थियो तर सबैको ज्यान थिलोथिलो भइसकेको थियो । खाना खाइवरी सबैजना कोठामा छिर्यो ।

फिलिलि काठमाण्डु

श्याफ्रुबेशी काठमाण्डौ : बिहानको ७ बजे चिया र रोटी तरकारी खाइ सनराइज होटल परिवारलाई बिदा माग्दै हाम्रो गाडी  काठमाण्डौतर्फ अघि  बढ्यो । पर्यटन गन्तब्य चर्चित ठाउँ धुन्चे कालिकास्थान हुदै हामी बिहान ११ बजे त्रिशुलीमा आइपुग्यौं र त्यहीं  खाना खायौं । त्रिशुली, भन्ज्याङ हुदै थानकोट निस्केर दिउँसको ५ः३० मा घर आइपुगियो  । हतारहतार नुहाएर छोरी सेमसाङलाई हेर्न बेडरुम छिरे ।धेरै दिन भएको थियो छोरीलाई देख्न भेट्न र माया गर्न नपाएको  यात्रा निकै रमाइलो भयो सबैसबैमा हृदयदेखि धन्यबाद ।

तिलमानपास यात्रा र मेरो सुझाब  : नेपालको बिभिन्न निकुञ्जहरुमध्ये लाङटाङ राष्ट्रिय निकुञ्ज राष्ट्रको चौथौ ठुलो राष्ट्रिय निकुञ्ज हो । १,९७६ मा पहिलो हिमालय राष्ट्रिय निकुञ्जको रुपमा संरक्षणको घोषण गरेको निकुञ्जले रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्ला गरि १,७१० बर्ग किलोमिटर भु–भाग ओगटेको छ । नेपालको पर्यटकीय गन्तब्यहरु सगरमाथा, अन्नपुर्णपछि लाङटाङ तेस्रो स्थानमा पर्दछ । लाङटाङ क्षेत्रमा बार्षिक १२ देखि १४ हजार पर्यटकहरुले भ्रमण गर्दै आएका छन् तर नचाहदै नचाहदै पनि ति पर्यटकहरु यात्रा अपुरोमै क्यान्जिङबाट फर्किने गर्दछ । प्राय पर्यटकहरु जुन बाटो गयो त्यहि बाटो फर्किन खासै मन पराउदैनन  । तर बाध्यता रहेको छ । यात्रा पुरा गर्न तिलमान र गन्जलापास पार गर्नुपर्ने हुन्छ । यि पासहरु पार गर्न खासै सहज छैन । त्यसैले यहाँ आउने पर्यटकलाई यात्रा पुरा अर्थात सर्किट पुरा गर्न सहज बनाउने उद्देश्यका साथ सम्बन्धित निकाय, स्थानीय सरकार र सरोकारवलाहरु लागिपरेका छन् । बिगत केहि बर्षहरुबाट लागि परेतापनि अझै यस क्षेत्रमा पर्यटकले यात्रा पुरा गर्न पाइरहेकका छैन । लाङटाङ क्षेत्रको पदयात्रा पुरा गर्न पाए पर्यटकको संख्यामा बृद्धि हुने पर्यटन ब्यवसायीहरुले बताउदै आएका छन् । बिभिन्न चरणमा यस क्षेत्रको बारेमा फरकफरक निकायहरुले कार्यक्रमहरु गर्दै आइरहेको सन्दर्भमा पाँचपोपखरीथाङपाल गाउँपालिकाको आयोजनामा तिलमान क्षेत्रमा अध्ययन टोली पठाएको थियो । हिमाली क्षेत्रमा ज्ञान रहेका विज्ञहरुको टोलीले १२ दिनमा पाँचपोखरी, तिलमानपास हुदै लाङटाङ निस्केर पुरै सर्किटको अध्ययन गरेर फर्किसकेको छ  ।

जुगल हिमश्रृंखलामा पर्ने तिलमानपास काठमाण्डौबाट निकै नजिक रहेको छ । तथापी यहाँसम्म केहि पुर्वाधारका कामहरु हुन सकेन भने यहाँ पर्यटक तथा आरोहीहरु आउन कठिन रहेको छ । बिशेष गरि भारी बोक्ने सहयोगी लगायत सबै खाले पर्यटकलाई जान सहजतका लागि पाससम्मको बाटोघाटो निर्माण गर्न सक्नु नै यहाँको मुख्य उपलब्धि हुनेछ साथै कम्तिमा ३ कम्तिमा २ ठाउँहरु चनचुलेखर्क र बेस क्याम्पमा बस्ने शेल्टर, खानेपानी र शौचालयको ब्यवस्था गर्नुपर्ने र तत्कालका लागि नजिकका होटल या स्थानीय सरकारले टेण्ट सर्भिसको ब्यवस्था गरिनुपर्ने देखिन्छ। यदि क्षेत्रलाई बिकास र प्रर्बद्धन गर्न सकिएमा यो पाँचपोखरी थाङपाल, जुगल र गोसाइकुँण्ड गाउँपालिका मात्र नभइ नेपालकै एक उत्कृष्ट गन्तब्य हुनेमा पक्का छ र सम्बन्धित निकायहलाई अनुरोध पनि गर्दछु । यो बिल्कुलै नयाँ ठाउँ टिमलाई चुनौति त थियो तर सबैजना सकुशल मिसन पुरा गरि फर्किन सफल भएकोमा सबैजना खुशी छौ । जय पर्यटन ।

जीवनकै स्मरणयोग्य यो यात्रा गर्न अवसर दिएकोमा टिम लिडर माया गुरुङ र पाँचपोखरी गाउँपालिका लाई हार्दिक नमन ।

 लेखक – मिलन तामाङ (तामाङ तिलमान पास युवा पिक अध्ययन टोलीका एक सदस्य हुन्।)

Facebook Comment

छुटाउनुभयो कि?