तीन नम्बर प्रदेश सरकारले पर्यटन विकास गर्न आफ्नै पर्यटन ब्राण्ड बनाउने

पर्यटन बजार२६ फाल्गुन २०७५, आईतवार मा प्रकाशित

तीन नम्बर प्रदेश सरकारले पर्यटन विकास गर्न आफ्नै पर्यटन ब्राण्ड बनाउने

फागुन २६, काठमाडौँ । तीन नम्बर प्रदेश सरकारले पर्यटन प्रवर्द्धन तथा विकास गर्न आफ्नै पर्यटन ब्राण्ड बनाउने भएको छ । ब्राण्ड निर्माणका लागि प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको पर्यटन विकास आयोजनाले एक लाख राशिको पुरस्कारसहित प्रतियोगिता आयोजना गरेको छ ।

 आयोजनाले ब्राण्डको डिजाइन गरी प्रतियोगितामा सहभागी हुन इच्छुक सङ्घसंस्था तथा व्यक्तिका लागि आगामी चैत ६ गतेसम्मको समयसिमा सहित सूचना जारी गरेको छ । पर्यटनसम्बन्धी केन्द्रीय ब्राण्ड वा नाराले प्रदेशलाई समेटे पनि आफ्नै छुट्टै पहिचान भएकाले अलग्गै ब्राण्ड निर्माण गर्नुपरेको आयोजनाका प्रमुख राजु क्षेत्रीले जानकारी दिए ।

संघीय सरकारले केही महिना अघि सार्वजनिक गरेका नयाँ पर्यटकीय १०० गन्तव्यमध्ये सबैभन्दा धेरै स्थान यही प्रदेशमा परेकाले तीनको प्रवर्द्धन हुने गरी ब्राण्ड निर्माणको प्रतियोगिता सञ्चालन गर्न लागेको आयोजनाले जनाएको छ । आयोजनाका प्रमुख क्षेत्रीका अनुसार प्रदेशका स्थापित तथा नयाँ एवं व्यवस्थित गर्नुपर्ने सम्पदाको समेत पहिचान गरेर प्रचारप्रसार गर्न ब्राण्डको भूमिका महत्वपूर्ण हुनेछ । 

मन्त्री अरुण नेपालको संयोजकत्वमा रहेको छनोट समितिले ब्राण्ड नाम र नाराको छनोट गर्नेछ । सामग्री प्राप्त भएको बढीमा एक महिनाभित्र उत्कृष्ट ब्राण्डको छनोट गरिने आयोजना प्रमुख क्षेत्रीले जानकारी दिए । 

Facebook Comment

छुटाउनुभयो कि?