पर्यटन बजार५ बैशाख २०७६, बिहीबार मा प्रकाशित
वैशाख ५ , काठमाडौं । किर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पाले ‘मेरो गाउँ, मेरो ठाउँ’ अंकित झन्डालाई विश्वकै सर्वोच्च शिखर सगरमाथामा फहराउने भएका छन् । १३ औं पटक सगरमाथाको सफल आरोहण गरिसकेका शेर्पाको नाउ गिनिज बुक अफ वल्र्ड रेकड्समा समेत दर्ज छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी वि विल राईज फाउण्डेसन (हामी उठ्ने छौं) ले नेपाल पर्यटन बोर्ड सँगको सहकार्यमा ओझेलमा रहेका पर्यटकीय थलोहरुको खोजी गर्ने देशव्यापी अभियान ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो प्रतियोगिता सञ्चालन गरिरहेको छ ।
प्रतियोगीले देशैभरीका ओझेलमा रहेका पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण हुनसक्ने कुनैपनि गाउँठाउँका प्राकृतिक, सांस्कृतिक, भेषभुषा, जातजातीको पहिचान, खानपान, कला लगायतका कुनै एक विषयवस्तुमा केन्द्रित रही अधिकतम पाँच मिनेटसम्मको भिडियो बनाउन सक्नेछन् । कुनै व्यक्ति समूह वा संस्थाले फरक फरक विषयवस्तुमा केन्द्रित रही एकभन्दा बढी भिडियो समावेश गर्न सक्ने प्रावधान छ । गत जानवरी १ सुरु प्रतियोगिता ३१ मे २०१९ सम्म चल्नेछ । देशैभरिबाट भिडियो सङ्कलनार्थ यस फाउण्डेशनले सातै प्रदेशका १६ ठाउँ काठमाडौं, हेटौंडा, चितवन, बुटवल, नेपालगञ्ज, धनगढी, सुर्खेत, दाङ, विरगञ्ज, जनकपुर, इटहरी, विर्तामोड, मोरङ, पोखरा, तनहुँ र भैरहवा गरी पत्रकार सम्मेलन एवं अन्तरक्रियाको आयोजना गरिसकेको छ ।
राष्ट्रिय सभाकी सांसद कोमल ओली, भ्रमण बर्ष २०२० का संयोजक सुरज बैद्य, पर्यटन बोर्डका सीईओ दिपकराज जोशी, अल्ट्रा धावक मीरा राई, पूर्व राष्ट्रिय फुटबलर एंव प्रशिक्षक राजुकाजी शाक्य, कलाकार तथा सामाजिक अभियन्ता निर्मल शर्मा, अभिनेत्री श्वेता खड्का, नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्ल, किर्तिमानी आरोही पेम्बा दोर्जे शेर्पा लगायतले फुर्वालाई बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका भिडियो च्यालेन्ज ‘मेरो गाउँ, मेरो ठाउँ’ अंकित झन्डा हस्तान्तरण गरेका हुन् ।
सांसद कोमल ओलीले नेपालका गाउँठाउँलाई विश्वभर परिचित गराउँन यो अभियान अत्यन्तै सान्र्दभिक एवं समयसापेक्ष रहेको बताउँदै सबैलाई सहयोगको अपिल गरिन् । फुर्वा तेन्जिङ शेर्पाले मुलुकको प्रत्येक गाउँठाउँमा पर्यटन जागरण सन्देश फैलाउने अभियानको प्रयास अनुरुप आरोहणको १४ औं पटक ‘मेरो गाउँ, मेरो ठाउँ’ अंकित झण्डा सगरमाथाको चुचुरोमा फहराउने प्रतिबद्धता व्यक्त गर्दै यस अभियानले नेपालको पर्यटन विकासमा ठुलो योगदान दिने बताए ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit