दर्ता तथा नवीकरण हुन अटेरी गरेका २  प्याराग्लाइडिङ कम्पनीको उडानमा रोक

पर्यटन बजार४ चैत्र २०७५, सोमबार मा प्रकाशित

दर्ता तथा नवीकरण हुन अटेरी गरेका २  प्याराग्लाइडिङ कम्पनीको उडानमा रोक

 चैत ४, पोखरा । दर्ता तथा नवीकरण हुन अटेरी गरेका २  प्याराग्लाइडिङ कम्पनीलाई पोखरा महानगरपालिकाले सोमबारदेखि उडानमा रोक लगाएको छ । सोमबारसम्म महानगरमा दर्ता नभएका गोल्डेन हेभन प्याराग्लाइडिङ र एड्भान्स प्याराग्लाइडिङलाई रोक लगाइएको हो ।

उनीहरुलाई महानगरले पटकपटक म्याद दिएर दर्ता हुन समय दिँदा पनि उपस्थित नभएपछि उडान बन्द गर्नु परेको महानगर राजश्व शाखाका आन्तरिक लेखा परीक्षक रोमनाथ उपाध्यायले जानकारी दिए । ‘धेरैपटक समय दियौं । तर उहाँहरुले अटेरी गर्नुभयो । कारबाही स्वरुप उडान बन्द गरिदिएका हौं,’ उनले भने ।

पोखरा महानगरमा सोमबारसम्म ३५ वटा प्याराग्लाइडिङ व्यवसाय दर्ता र नवीकरण भएको उपाध्यायले जानकारी दिए । महानगरले व्यवसाय स्वीकृति लिन फागुन २२ गतेसम्मका लागि म्याद तोकेको थियो ।

थोरै कम्पनीलेमात्रै व्यवसाय दर्ता गरेको भन्दै महानगले पुन २६ गतेसम्म फेरि समय दिएको थियो । उक्त समयावधिमा जम्मा १० वटा कम्पनीले मात्रै दर्ता र नवीकरण गरेका थिए । त्यसपश्चात महानगरमै उपस्थित भएर व्यवसायीले पुन समय थप्न माग गरेपछि फागुन २६ गतेसम्मको समय सम्मका लागि समय दिएको थियो । उक्त समयमावधिमा केत अधिकांश प्याराग्लाइडिङ कम्पनीले अटेरी गरे ।

महानगरमा हालसम्म ५६ वटा कम्पनी प्याराग्लाइडिङ उडाउन स्वीकृति पाएका छन् । त्यसमध्ये ४० वटा कम्पनीमात्रै सक्रिय छन् । प्याराग्लाइडिङ कम्पनीबाट महानगरले प्रति कम्पनी दर्ता तथा नवीकरणको ८६ हजार र प्रदेश सरकारले १ लाख रुपैयाँ लिनेछ । महानगरले प्रति प्याराग्लाइडिङ कम्पनीबाट वार्षिक २५ हजार र प्रदेश सरकारले वार्षिक १ लाख पर्यटन कर उठाउने नियम बनाएको छ ।

 

Facebook Comment

छुटाउनुभयो कि?