दशैं मनाउन गाउँ फर्किने क्रम बढ्दै, तर अघिल्लो वर्षको तुलनामा न्यून

पर्यटन बजार६ कार्तिक २०७७, बिहीबार मा प्रकाशित

दशैं मनाउन गाउँ फर्किने क्रम बढ्दै, तर अघिल्लो वर्षको तुलनामा न्यून

कात्तिक ६, काठमाडौं । दशैंको टीकाको दिन नजिकिएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुको संख्या बढेको छ । महान चाड दशैं मनाउन घर फर्किनेहरुको भीडभाड उपत्यकाका मुख्य नाकाहरुमा देखिन्छ ।

आउजाउ गर्दा कोरोना संक्रमणको जोखिम कायमै रहे पनि गाउँ फर्किनेहरुको ताँती देखिँदा घरमै सबै परिवारका सदस्य भेला भएर दशैं मनाउने चाहना धेरैमा रहेको बुझ्न सकिन्छ ।

यद्यपि दशैंको यही अवधिमा घर फर्किनेहरुको संख्या अघिल्लो वर्षको तुलनामा भने न्यून छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भिमप्रसाद ढकालका अनुसार अहिले काठमाडौं भित्रिने भन्दा बाहिरिने यात्रुको संख्या दोब्बर छ । ‘हिजोको डाटाअनुसार ३२ हजार यात्रुले काठमाडौं छाडे भने १६ हजार भित्रिए,’ एसएसपी ढकालले भने, ‘विगत १० दिनदेखि काठमाडौंबाट बाहिरिनेहरुको संख्या हल्का बढ्दै गएको छ ।’

यद्यपि अघिल्ला वर्षको दशैंको तुलनामा यो संख्या अत्यन्त न्यून भएको एसएसपी ढकाल बताउँछन् । ‘दशैंको यही अवधिमा गत वर्ष एक लाख जना गाउँ फर्किएका थिए । दशैंमा १० देखि ११ लाख जनाले काठमाडौं उपत्यका छाड्थे । यसपालि त एक लाख पनि पुग्छ कि पुग्दैन जस्तो लागेको छ,’ एसएसपी ढकालले भने ।

झण्डै सात महिना लामो लकडाउनकै अवधिमा धेरैजसो व्यक्तिहरुले काठमाडौं छाडेकाले यस वर्ष दशैंमा घर फर्किनेहरुको संख्या न्यून भएको उनले बताए । यात्रुहरुको संख्या कम भएकाले यस वर्ष अग्रिम टिकट बुकिङ पनि खुलाइएको छैन ।

सरकारले यस वर्ष कोरोना संक्रमणको जोखिम भएकाले जो जहाँ छ, त्यहीँ बसेर दशैं मनाउन आग्रह गरेकाले पनि कतिपय गाउँ फर्किएका छैनन् । तर कतिपय भने यात्रा गरिरहेका छन् ।बिहीबार बिहान कोटेश्वर, जडिबुटी, लोकन्थली क्षेत्रमा गाउँ फर्किनेहरु गह्रुँगा झोला र परिवारका सदस्यहरुसहित देखिए । संक्रमणबाट जोगिने प्रयासमा धेरैजसोले मास्क लगाएका थिए । सरकारले सार्वजनिक गाडीमा यात्रा गर्नेहरुलाई फेस सिल्ड पनि लगाउन आग्रह गरेको छ । तर त्यसको पालना भएको छैन ।

Facebook Comment

छुटाउनुभयो कि?