दसैंमा कोरोना , सुरक्षित बनेर घुम्न जानुस यी १५ स्थानमा!

पर्यटन बजार२७ आश्विन २०७७, मंगलवार मा प्रकाशित

दसैंमा कोरोना , सुरक्षित बनेर घुम्न जानुस यी १५ स्थानमा!

असोज २७ ,काठमाडौँ।  घुमफिर गर्नका लागि यतिबेलाको मौसम निकै उपयुक्त मानिन्छ । त्यसमाथि दशैं पनि आउँदै छ । दशैंमा धेरैले घुम्न जाने योजना बनाउँछौं । तर, घुम्ने ठाउँको बारेमा जानकारी नहुँदा अलमलिइरहेका हुन्छौं । घुम्न जाने ठाउँबारे पर्याप्त पूर्वसूचना नहुँदा रमाइलो गर्न जाँदा सास्ती खेप्नुपर्ने अवस्था समेत आउँछ । घुम्न जाने समस्या सँगै यसपाली कोरोना को पनि उच्च जोखिम नै छ । तर सुरक्षित बनेर यात्रा भने गर्न सकिन्छ । यी ठाउँमा सुरक्षीत बनेर यस सालको दसैँ बिदा को तपाईंले भरपूर मनोरञ्जन उठाउन सक्नुहुन्छ।

 

१.नगरकोट
राजधानी काठमाडौंबाट ३२ किलोमिटरको दूरीमा रहेको सहजै पुग्न सकिने ठाउँ हो नगरकोट । यो ठाउँ सूर्योदयको रमणीय दृश्य हेर्नका लागि विश्वको उत्कृष्ट दश स्थानमध्येमा पर्छ । यति मात्र होइन, नगरकोटबाट लाङटाङ हिमशृंखला र अझ सफा मौसममा त सगरमाथा समेत अवलोकन गर्न सकिन्छ ।

कसरी पुग्ने

काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको कमलविनायक हुँदै नगरकोट पुग्न सार्वजनिक बसमा दुई घण्टा लाग्छ ।

२.कालिञ्चोेक
काठमाडौंबाट सवारी साधनमा सहजै जान सकिने अर्को मनमोहक ठाउँ दोलखाको कालिञ्चोक हो । प्रकृतिको हरियालीका साथै हिमाली दृश्य हेर्न पाइने भएकाले आन्तरिक पर्यटकले निकै रुचाउने गरेका छन् । कालिञ्चोक भगवतीको मन्दिर भएकाले यो ठाउँ धार्मिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ । मन्दिर परिसरबाट लाङटाङ, रोलवालिङ हिमशृंखला देख्न सकिन्छ ।

चिसो मौसममा यस क्षेत्रमा हिउँ पर्ने भएकाले राजधानीवासी हिउँ खेल्नकै लागि समेत जाने गर्छन् ।

कसरी पुग्ने ?

काठमाडौंदेखि पाँच घण्टाको बस यात्रामा दोलखा सदरमुकाम चरिकोट पुगिन्छ । चरिकोटदेखि कुरीसम्म १७ किलोमिटर कच्ची बाटो छिचोल्न भाडाको जिप पाइन्छ । हिउँ परेको बेला भने जिपमा जान गाह्रो हुन्छ । कुरीबाट एक घण्टाको ठाडो उकालो हिँडेपछि समुद्री सतहदेखि तीन हजार ८ सय ४२ मिटर उँचाइमा रहेको कालिञ्चोक भगवती मन्दिर पुगिन्छ ।

३. पोखरा
हिमाल, ताल, गुफा, छाँगा र साहसिक खेलहरु एकै स्थानमा भएको पोखरालाई पर्यटनको राजधानी नै मानिन्छ । विश्वको उत्कृष्ट पदयात्रा अन्नपूर्ण, पुनहिल, मुस्ताङ जाने प्रवेशद्वार पनि हो पोखरा ।

पोखरामा घुम्नका लागि तालबाराही मन्दिर, महेन्द्र गुफा, डेभिड फल्स, बेगनास ताल, विन्ध्यवासिनी मन्दिर, स्तुपा लगायत प्रशस्त ठाउँ छन् । यसका साथै पोखरा आसपासको ठाउँले पनि लोभ्याउँछन् ।

हिमाल राम्ररी हेर्ने हो भने अलि डाँडातिर उक्लनुपर्ने हुन्छ । अन्नपूर्ण, माछापुच्छ्रे हिमशृंखला हेर्न सराङकोट उपयुक्त ठाउँ हो । पोखराबाट एक घण्टामै पुग्न सकिने धम्पुसबाट पनि आँखै अगाडि माछापुच्छ्रे नियाल्न सकिन्छ । धम्पुस आफैंमा आकर्षक पर्यटकीय स्थल हुँदै हो ।

पदयात्रा गर्न अधिकांश पर्यटकले रुचाउने म्याग्दीको पुनहिलको यात्रा पनि तपाईंको लागि रोमाञ्चक हुन सक्छ । पोखराबाट पुनहिलको पदयात्रा गरेर पाँचौं दिनमा पोखरा फर्किन सकिन्छ । पहिलो दिन तिखेढुंगा, दोस्रो दिन घोरेपानी, तेस्रो दिन घोरपानीबाट सूर्योदयको दृश्य हेर्न पुनहिल टावर गएर पुनः घोरेपानी, टाडापानी, घान्द्रुक हुँदै पाँचौं दिन पोखरा पुगिन्छ । पुनहिलबाट विश्वको सातौं अग्लो धौलागिरी हिमालको मनमोहक दृश्य हेर्न सकिन्छ ।

पुनहिल पदयात्रालाई लम्ब्याउँदै अन्नपूर्ण बेसक्याम्पसम्म पनि जान सकिने भएकाले यो क्षेत्रको पदयात्रा पर्यटकमाझ निकै प्रिय छ ।

कसरी पुग्ने

काठमाडौंबाट सार्वजनिक बसमा ६ घण्टाको यात्रामा पोखरा पुग्न सकिन्छ । सोझै हवाई यात्रा पनि गर्न सकिन्छ ।

४. मुस्ताङ
आन्तरिक पर्यटकहरुले जीवनमा एकचोटि घुम्नैपर्ने ठाउँको सूचीमा मुस्ताङको नाम छुटाउँदैनन् । ट्राभल गाइडबुकमा विश्वकै ख्यातिप्राप्त ‘लोन्ली प्लानेट’ ले पनि मुस्ताङलाई उत्कृष्ट गन्तव्यमा राखेको छ । हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मुक्तिनाथका रहेको यो ठाउँ प्राकृतिक सुन्दरताको खानी मानिन्छ ।

यातायात सुविधा सहज भएपछि पछिल्लो समय मुस्ताङमा आन्तरिक पर्यटकको लर्को लाग्ने गरेको छ । जोमसोमदेखि माथिल्लो मुस्ताङसम्मै यातायात सुविधा उपलब्ध छ । यो मौसममा खासगरी माथिल्लो मुस्ताङ घुम्न लायक ठाउँ हो । जोमसोमबाट एक दिनको जिप यात्रामा पुग्न सकिने “हिँड्दा तीन दिन” उपल्लो मुस्ताङमा यहाँको फरक जीवनशैलीले लोभ्याउँछ । देशमा गणतन्त्र आइसक्दा पनि मुस्ताङी राजाको ठाँट र सम्मान नमूनाकै रुपमा रहेको छ । मुस्ताङ क्षेत्रमा कागबेनी, नौतले गुफा, थकाली संस्कृति, मनमोहक प्राकृतिक दृश्य र कोरला नाका प्रख्यात छन् ।

कसरी पुग्ने ?

काठमाडौंदेखि नै निजी सवारी साधनमा मुस्ताङसम्म पुग्न सकिन्छ । जोमसोमदेखि छुसाङसम्म जान जिप पाइन्छ । खोलामा पुल नभएका कारण पुल तरेपछि अर्को गाडी चढ्नुपर्छ । माथिल्लो मुस्ताङ गाडीबाट ६ घण्टाको यात्रामा पुग्न सकिन्छ ।

५. चितवन , सौराहा
जंगल सफारी, थारु संस्कृति अवलोकनका लागि चितवन निकै प्रख्यात छ । आकर्षणको केन्द्र चितवन राष्ट्रिय निकुञ्ज रहेको यो ठाउँमा खासगरी वाइल्ड लाइफमा रुचि हुनेहरु जाने गर्छन् । जंगल सफारीमा गैंडा र अन्य जनावर हेर्न सकिन्छ । चितवनमा सौराहा र मेघौली पनि घुम्न लायकका ठाउँ हुन् । मेघौलीमा सूर्योदयको दृश्य हेर्न र शान्त वातावरणमा होमस्टेको मज्जा लिन सकिन्छ ।

कसरी पुग्ने ?

काठमाडौंबाट चितवनसम्म सुविधाजनक बस चल्छन् । ६ घण्टाको यात्रापछि सौराहा पुग्न सकिन्छ ।

६. लुम्बिनी
गौतम बुद्धको जन्मस्थल लुम्बिनीे बौद्धमार्गीका साथै शान्तिगामी स्वदेशी र विदेशी पर्यटकको मनमा बसेको ठाउँ हो । बौद्ध दर्शन अध्ययन(अनुसन्धान गर्नेहरुका लागि पनि लुम्बिनी महत्वपूर्ण स्थल हो ।

लुम्बिनीको मुख्य आकर्षण केन्द्रविन्दु मायादेवी मन्दिर हो । मन्दिर परिसरमा अशोक स्तम्भ र पवित्र पोखरीले आकर्षण थपेका छन् ।मायादेवी मन्दिरमा बुद्धको जन्मदृश्य सहितको प्राचीन मायादेवी मूर्ति रहेको छ । मन्दिरभित्र ईसापूर्व पाँचौं शताब्दीदेखि सातौं शताब्दीसम्मका भग्नावशेष अवलोकन गर्नु जोकोहीको लागि दुर्लभ अवसर हुन सक्छ ।

लुम्बिनी पुगिसकेपछि बुद्धसम्बन्धी अन्य पर्यटकीय ठाउँ नपुग्नु अपूरो यात्रा हुन सक्छ । बुद्धले आफ्नो जीवनकालको २९ वर्ष बिताएको शाक्य राज्यको राजधानी कपिलवस्तुको तिलौराकोट अर्को पुग्नैपर्ने ठाउँ हो । यो ठाउँ लुम्बिनीबाट २८ किलोमिटर दक्षिण(पश्चिममा पर्छ । कपिलवस्तुमा बुद्धसँग सम्बन्धित गोटिहवा, सग्रहवा, निग्लीहवा, अरौराकोट र सिसहनिया पनि घुम्न सकिन्छ ।

यस्तै, भैरहवादेखि करिब ३५ किलोमिटर पूर्वमा रहेको प्राचीन कोलिय वंशको राजधानी तथा मायादेवीको माइती देवदह पनि महत्वपूर्ण छ । देवदह वरिपरि अन्य पुरातात्विक स्थल पनि छन् ।

कसरी जाने ?

काठमाडौंदेखि आठ घण्टाको बस यात्रामा लुम्बिनी पुगिन्छ । हवाई मार्गबाट जान चाहनेहरु भैरहवा विमानस्थलमा उत्रेर जानुपर्ने हुन्छ । भैरहवाको बुद्ध चोकबाट लुम्बिनी २० किलोमिटरको दूरीमा पर्छ ।

७. इलाम-ताप्लेजुङ

पूर्वी नेपालको धरान-धनकुटा-भेँडेटार हुँदै ताप्लेजुङसम्मको यात्राको योजना बनाउन सक्नुहुन्छ । ताप्लेजुङमा कहाँसम्म पुग्ने, त्यो तपाईसँग उपलब्ध समयमा भर पर्छ । ओलाङचुङगोलादेखि पाथिभरा जहाँ पुगे पनि यो यात्राले निकै रोमान्चकता दिनेछ ।

धरान-धनकुटामा किराँत-राई समुदायको घरमा दशैंको टीकासम्म बिताउनुहोस् । उनीहरु सेतो अक्षताको टीका लगाएर दशैं मनाउँछन् । केही फरक अनुभव तपाईले पाउनु हुनेछ । त्यसपछि इलाम हुँदै ताप्लेजुङसम्म जान सक्नुहुन्छ ।

पृष्ठभूमिमा कञ्चनजंघा र कूम्भकर्ण हिमाल देखिनेछ । धार्मिक दृष्टिकोणबाट पाथिभरा माताको दर्शन पनि निकै फलदायी हुनेछ । पूर्वी नेपालको चीनसँग जोडिएको ओलाङचुङगोलासम्मको यात्रा त अविश्मरणीय नै बन्नेछ ।

८. रुवी भ्याली

गीत गाउँदा गाउँदै तरुना-तरुनीले एक अर्कोलाई मन पराए भने बिहे नै गर्ने प्रचलन अझै जिवित रहेको उपत्यका हो रुवी भ्याली । ‘मेन्दोमाया’ भाकाको उत्पत्ति भएको क्षेत्र । धादिङ जिल्लामा रहेको यो स्थानमा पुग्न त्यति धेरै समय खर्च हुँदैन ।

तामाङ समुदायको मौलिक मेन्दोमायासँगै लाखे नाच, माने नाच, पारु नाच यहाँ भेटिनेछ । रुवी भ्याली यात्राको अर्को विशेषता यहाँको दशैंको माहौल पनि हो । स्थानीय भाषामा ‘मार हान्ने’ भन्ने चलन अनुसार युवाहरुले दशैंमा राँगा काट्ने गर्छन् । रसुवाको लाङटाङबाट गत्लाङ हुँदै रुवी भ्याली पदयात्रामा निस्कियो भने गणेश हिमालको आकर्षक दृश्यावलोकन गर्न सकिन्छ ।

९. शक्तिपीठ

दशैंको घुमघामलाई दशैंकै माहौलसँग जोड्ने हो भने शक्तिपीठ पुग्न नबिर्सऔं । नवरात्रिभर हरेक शक्तिपीठमा धुमधामसँग मेला लाग्छ । सपरिवार सकेसम्म धेरै शक्तिपीठमा पुगेर पूजाआजा गर्न सकियो भने त्योभन्दा अर्थपूर्ण दशैं के होला ?

गोरखाको मनकामना, नवलपरासीको मौलाकालिका, डोटीको शैलेश्वरी, डडेलधुराको त्रिपुरासुन्दरी, सल्यानको सल्यानकोटदेवी, बागलुङ कालिका, काभ्रेको पलान्चोक भगवती, दक्षिणकालीजस्ता शक्तिपिठको यात्रामा निस्कन सकिन्छ ।

हरेक जिल्लामा नवरात्रिभर विशेष पूजा हुने भगवतीका मठ-मन्दिर रहेका छन् । दशैंमा घर नजिकैको भगवती मन्दिर घुमघाम गरेर पनि दशैं बिदालाई उपयोग गर्न सकिनेछ ।

१०.  बर्दिया
तराईको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज रहेको बर्दिया थारु संस्कृतिका हिसाबले पनि प्रख्यात छ । नौ सय ६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्ज खासगरी बाघ हेर्नका लागि कहलिएको छ । निकुञ्ज क्षेत्रमा ५४ प्रजातिका स्तनधारी, चार सय प्रजातिका चराचुरुंगी, २५ प्रजातिका घस्रने वन्यजन्तु र ६० भन्दा बढी प्रजातिका माछा पाइन्छ ।

तपाईंलाई थारु संस्कृति मन पर्छ भने बर्दिया खानी हो । यहाँको डल्ला गाउँमा खोलिएको होमस्टे पर्यटकमाझ प्रिय छ । निकुञ्ज नजिकै रहेको ठाकुरद्वारा मन्दिर पनि धार्मिक हिसाबले निकै महत्वपूर्ण छ । मन्दिरमा लिच्छविकालीन मूर्तिहरु समेत छन् । बर्दिया र कैलाली जोड्ने कर्णाली चिसापानी पुल पनि पर्यटकको आकर्षणको केन्द्र हो ।

कसरी पुग्ने ?

काठमाडौंदेखि नेपालगञ्जसम्म हवाई यात्रा पनि गर्न सकिन्छ । बसमा जाँदा भने १२ घण्टा लाग्छ । नेपालगञ्जबाट बर्दिया राष्ट्रिय निकुञ्ज पुग्न ९० किलोमिटरको दूरी पार गर्नुपर्छ ।

११. रारा
घुमफिर रुचाउने जोकोही नेपालीको चाहना हुन्छ, देशकै सबैभन्दा ठूलो ताल रारा पुग्ने । समुद्री सतहबाट दुई हजार ९ सय ९० मिटर उँचाइमा रहेको तालले घामको किरण अनुसार रङ फेरेको अद्भूत देखिन्छ । रारा तालको पूरै आकृति हेर्न मुर्मा टप उपयुक्त ठाउँ हो, जुन करिब ४ हजार मिटरको उँचाइमा छ । विदेशी पर्यटकको आगमन बढ्न नसके पनि रारामा आन्तरिक पर्यटक उल्लेख्य मात्रामा पुग्ने गर्छन् ।

कसरी पुग्ने ?

नेपालगञ्जदेखि ५० मिनेटको हवाई यात्रापछि मुगुको ताल्चा विमानस्थल पुगिन्छ । ताल्चाबाट तीन घण्टाको पैदल दूरीमा रारा ताल पुगिन्छ । यस्तै, सुर्खेतबाट जाँदा दुई दिनको बसयात्रापछि मुगुको गमगढी र त्यहाँबाट तीन घण्टाको पैदलपछि राराको भूमि टेकिन्छ ।

१२.खप्तड
प्राकृतिक सुन्दरताको अनुपम उपहार हो खप्तड । डोटी, अछाम, बझाङ र बाजुराको संगम स्थलमा रहेको खप्तड क्षेत्रलाई सुदूरपश्चिमकै भूस्वर्ग पनि भनिन्छ । बैशाखदेखि असारसम्म यहाँका फाँटहरु रंगीचंगी फूलहरुले ढाकिन्छ । खप्तड क्षेत्रको मुख्य विशेषता भनेकै विशाल फाँटहरुमा फुल्ने फूलहरु हुन् । खप्तड क्षेत्रमा खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पर दह, शिव मन्दिर, सहस्रलिंग, गणेशस्थान, नागढुंगा, केदारढुंगा जस्ता धार्मिक स्थलहरु छन् । ठूला(साना गरी २२ वटा फाँट पनि यहाँको आकर्षण हो ।

कसरी पुग्ने ?

काठमाडौंदेखि धनगढीसम्म ६५० किलोमिटर बसको यात्रा । धनगढीबाट आठ घण्टाको बस यात्राबाट डोटीको सिलगढी पुगेपछि पैदल यात्रा सुरु हुन्छ । बगलेगसम्म गाडी चल्ने भएकाले जिप रिजर्भ गरेर पनि जान सकिन्छ । सिलगढीबाट सुरु हुने पैदल यात्राको पहिलो दिन झिगराना पुगिन्छ भने अर्को दिन खप्तड राष्ट्रिय निकुञ्ज प्रवेशसँगै त्रिवेणी मन्दिर पुगिन्छ ।

१३ . दामन 

दामन पनि काठमाडौंबाट नजिकको गन्तव्य हो । मकवानपुर जिल्लामा पर्ने दामनमा खासगरी हिँउ खेल्न जाने गरिन्छ, हिँउद याममा । अहिले गर्मी याम छ । दशैंमा  दामनसम्मको यात्रा किन नगर्ने ?

यहाँ आगन्तुककै लागि भ्यूटावर पनि बनाइएको छ । सगरमाथा लगायत हिम शृंखलाहरुको दृश्य हेर्दै रमाउनुको विछट्टै आनन्द छ यहाँ । दामनको विशेषता के भने, यहाँबाट संसारकै १० अग्ला हिमालमध्ये ८ वटा हिमाल देख्न सकिन्छ ।  यो अग्लाईमा पुगेर तपाईंले गर्मीबाट राहत नयाँ बर्षको स्वागत मात्र पाउनुहुने छैन, आफुलाई प्रकृतिको निकट पनि पाउनुहुनेछ ।

१४ .इन्द्रसरोबर

कुलेखानीस्थित मानवनिर्मित इन्द्रसरोबार ताल देशकै एउटा फरक गन्तब्य स्थल हो । चन्द्रागिरी पर्वतको काँखमा अवस्थिति यो तालमा पुग्दा जो कोहीलाई पनि स्वर्गको एउटा भागमा पुगेजस्तो अनुभव हुन्छ । कञ्चन, शान्त र शितल यो तालमा आफ्नो समय विचरण गर्नु आफैंमा अनुपम अनुभव हुन्छ ।काठमाडौं नजिकैको तालमा डुंगा सयर गर्नु सबैको लागि नौलो नै हुन्छ । यस्तै वरपरको हरियाली, तालको वारीपारी चिटिक्क सजिएको मानव वस्ती पनि कम्ता सुन्दर लाग्दैनन् ।

कसरी पुग्ने ?

इन्द्रसरोबर राजधानीबाट गाडीमा २ /३ घण्टामै पुग्न सकिन्छ।  काठमाडौँ को बसपार्क वा बल्खु बाट गाडी चढेर इन्द्रसरोबर पुग्न सकिन्छ।

१५. धरान – भेडेटार – धनकुटा

भेडेटार बजार क्षेत्र पूर्वाञ्चलको रमणीय स्थलको रूपमा प्रख्यात छ । भेडेटार दसैँ मा घुम्न जान उपयुक्त अर्को स्थान हो। भेडेटार समुन्द्री सतहबाट १,४३० मिटर उचाईमा पहाडी क्षेत्रमा अवस्थित भएकोले मानिसहरू तराईको गर्मीबाट बच्न चिसो वातावरणमा रम्न र पहाडी एवं हिमाली भेगको सुन्दरता हेर्न आउने गर्दछन । उच्च पहाडमा रहेको बाह्रैमास चिसो हावा बहने हुनाले यहाँ गर्मी मौसममा शीतल हावा खान र जाडो मौसममा पिकनिकको लागि आउने मानिसहरूको भीड लाग्दछ । तराईको गर्मी बाट बच्न केवल एक घण्टा को यात्रा मै पुग्न सकिन्छ भेडेटार।

कसरी पुग्न सकिन्छ ?

यदि तपाईं बाहिर जिल्लाको हुनुहुन्छ भने सुरुमा पूर्व झर्नु पर्ने हुन्छ। धरान बजार सँगै, पिण्डेश्वर, बुढासुब्बा को दर्शन सकेर बस चढेर वा ट्याक्सी चढेर सजिलै एक डेढ घण्टामा गन्तव्यस्थलमा पुग्न सकिन्छ ।

Facebook Comment

छुटाउनुभयो कि?