पर्यटन बजार१६ फाल्गुन २०७५, बिहीबार मा प्रकाशित
फागुन १६, काठमाडौँ। हिजो भएको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका व्यक्तिहरुको शव सबा १ बजे त्रिभुवन विमानस्थलमा ल्याइएको छ। ताप्लेजुङबाट सैनिक हेलिकप्टरमा शव राजधानी ल्याइएको हो। यहाँबाट एम्बुलेन्समा राखी शव त्रिवि शिक्षण अस्पताल लगिने छ। मन्त्री तथा उच्च पदस्थ अधिकारी तथा सुरक्षाकर्मीहरु शव ग्रहणका लागि विमानस्थल पुगेका थिए।
हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेकपा केन्द्रीय सदस्य रवीन्द्र अधिकारीसहित अन्य मृतकको शव श्रद्धाञ्जलीका लागि अपरान्ह ३ बजेदेखि सैनिक मञ्च टुँडिखेलमा राखिने भएको छ ।
नेकपा केन्द्रीय सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै महासचिव बिष्णु पौडेलले जारी गरेको विज्ञप्तिमा पोष्टमार्टम गरिसकेपछि श्रद्धाञ्जलीका लागि पार्थिव शरीर सैनिक मन्चमा राखिने उल्लेख छ । नेकपाले अपरान्ह ३ बजेपछि हुने श्रद्धाञ्जलीमा सहभागी हुन सबैमा आग्रहसमेत गरेको छ । नेकपाले दुर्घटनामा दिवंगत भएका व्यक्तिका परिवारलाई आवश्यक सहयोग गर्न सरकारलाई अनुरोध गरेको छ ।
मन्त्री अधिकारीको अन्त्येष्टि भने फागुन १७ गते उनको गृहनगर पोखरामा हुनेछ । नेकपाले फागुन २३ गते पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीसभा आयोजना गर्ने निर्णय समेत गरेको छ ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit