पर्यटन बजार६ फाल्गुन २०७५, सोमबार मा प्रकाशित
काठमाडौं , फागुन ६ । कमेडियन कपिल शर्माको ‘द कपिल शर्मा शो’ बाट नवजोत सिंह सिद्धू हटाइएका छन्। उनको ठाउँ अर्चना पूरन सिंहले लिएकी छन्। सोनी टिभीले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमार्फत् एक भिडियो पोस्ट गर्दै शोमा अर्चनाको स्वागत गरेको छ। भिडियोमा कपिलले अर्चनालाई कार्यक्रममा स्वागत गर्दै सिद्धू बस्दै आएको स्थानमा बसाएका छन्।
उनले दुइवटा शोका निम्ति सुटिङ पनि गरिसकेकी भारतीय सञ्चारमाध्यमले जनाएका छन्। गत साता कश्मिरको पुलवामा भएको आतंकी हमलाका बारेमा दिएको टिप्पणीका कारण पन्जाबका मन्त्री समेत रहेका सिद्धू विवादमा तानिएका हुन्। उनको टिप्पणीलाई लिएर सामाजिक सञ्जालमा व्यापक विरोध भएपछि ‘द कपिल शर्मा शो’ बाट उनलाई निकालिएको हो।
हिन्दुस्तान टाइम्सका अनुसार सिद्धूले पुलवामा हमलाबारे सञ्चारमाध्यममा भनेका थिए- यो हमलाका लागि कुनै देश वा कुनै व्यक्तिलाई दोषी भन्नु गलत हो। आतंककारीको कुनै जात र धर्म हुँदैन। सबै ठाउँमा राम्रा, नराम्रा र अति नै नराम्रा मान्छे हुन्छन्। सबै देशमा हुन्छन्। अति नराम्रालाई सजाय दिनुपर्छ।
कश्मिरको श्रीनगरबाट करिब २० किलोमिटर टाढा बिहीबार भएको आक्रमणमा कम्तीमा ४० जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएको थियो। राजमार्गमा गुडिरहेका सैनिक गाडीलाई लक्ष्य गरी थापिएको विद्युतीय धरापमा परी भारतीय अर्धसैनिक फौजका सुरक्षाकर्मीको मृत्यु भएको हो। पाकिस्तानमा सक्रिय जैस–ए–मोहम्मद इस्लामिक समूहले उक्त आक्रमणको जिम्मेवारी लिएको छ।
यो विषयमा सिद्धूको टिप्पणी पाकिस्तानीप्रति नरम भएको भन्दै फ्यानहरूले उनलाई कपिल शोबाट निकाल्न माग गरेका थिए। ट्विटरमा उनलाई हटाउनेबारे ट्रेन्ड नै चलेपछि सोनी च्यानलले यो निर्णय गरेको सञ्चारमाध्यमले जनाएका छन्। फ्यानहरूले सिद्धूलाई शोमा राखिरहे शो नै नहेर्ने समेत भनेका थिए।
अभिनेता सलमान खान प्रोडक्शनको निर्माणमा प्रसारण भइरहेकको कपिल शोमा आउँदो सातादेखि नै अर्चना देखिनेछन्।
गत डिसेम्बरबाट नयाँ सिजनमा सुरू भएको कपिल शो फ्यानहरूले रूचाए पनि ‘टिआरपी’ उल्लेख्य नभएको बताइएको छ। योसँगै दर्शकले रूचाएको अनुहार ‘सिद्धू’ हटेपछि शोमा कस्तो असर पर्छ हेर्न बाँकी नै छ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit