धेरै कार्ययोजना पुरा गर्नेमा परराष्ट्र , पछी पर्यो खानेपानी मन्त्रालय

पर्यटन बजार६ फाल्गुन २०७५, सोमबार मा प्रकाशित

धेरै कार्ययोजना पुरा गर्नेमा परराष्ट्र , पछी पर्यो खानेपानी मन्त्रालय

फागुन ६, काठमाडौं । प्रधानमन्त्री कार्यालयले गरेको अनुगमनको पनि अनुगमनमा तोकिएको समयमा  सबैभन्दा धेरै कार्ययोजना पुरा गर्नेमा सबैभन्दा अगाडि परराष्ट्र मन्त्रालय रहेको छ । बितेको ९ महिनामा ५१ कार्ययोजना मध्ये परराष्ट्रले ६० प्रतिशत कार्ययोजना सम्पन्न गरेको छ भने ३२.३३ प्रतिशत कार्ययोजनाको काम भइरहेको छ । यस्तै ७.६७ प्रतिशत कार्ययोजनाको काम सुरु भएको छैन ।

 धेरै कार्ययोजना सक्ने दोश्रोमा गृह र रक्षा मन्त्रालय रहेको छ । रक्षाले ५१.८५ प्रतिशत काम सम्पन्न गरेको छ भने र रक्षाले ५५.५५ प्रतिशत काम सम्पन्न गरेको छ । यद्यपी ९ महिने अवधिमा रक्षाको कार्ययोजना ९ मात्र रहेको छ भने गृहको ५४ कार्ययोजना थियो । यस्तै निर्वाचन आयोगले ५२.६३ प्रतिशत कार्ययोजना पूरा गरेको छ ।

त्यस्तै तोकिएको समयमा कार्ययोजना पूरा नगर्ने पहिलो नम्बरमा खानेपानी मन्त्रालय परेको छ ।  गत साउनदेखि माघ मसान्तसम्म ७ महिनामा १ सय १३ कार्ययोजनामा खानेपानी मन्त्रालयले ८९.३८ प्रतिशत काम सुरु नै गरेको छैन, ४.४२ प्रतिशत काम भइरहेको र ६.१९ प्रतिशत कार्ययोजना सम्पन्न गरेको प्रधानमन्त्री कार्यालयको आँकडा छ । समयमा कार्ययोजना सम्पन्न नगर्ने दोश्रोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परेको छ । स्वास्थ्य मन्त्रालयले ८४.४८ प्रतिशत कार्ययोजना नै सुरु गरेको छैन भने ८.६२ प्रतिशत काम भईरहेको ६.८९ प्रतिशत कार्ययोेजना पूरा गरेको छ ।

प्रधानमन्त्री कार्यालय स्वयम् पनि समयमा कार्ययोजना पुरा नगर्ने तेश्रो स्थानमा परेको छ । प्रधानमन्त्री कार्यालयले ८४ कार्ययोजनामा ७८.५७ प्रतिशत कार्ययोजना सुरु नै गरेको छैन । ७.१४ प्रतिशत कार्ययोजनाको काम भइरहेको छ भने १४.२८ कार्ययोजना पुरा गरेको छ । कार्यतालिका अनुसार काम नगर्ने मन्त्रालय अन्र्तगत चौथो स्थानमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रहेको छ । यो मन्त्रालयले ७०.७३ प्रतिशत कार्ययोजना सुरु नै गरेको छैन भने २९.२६ प्रतिशत कार्ययोजना पुरा गरेको छ ।

गत साउनदेखि प्रधानमन्त्री कार्यालयले समय तालिका बनाएर मन्त्रालयहरुलाई काम छिटो गराउन अनुगमनको पनि अनुगमन गर्ने कार्ययोजना अघि सारेको थियो । सफ्टवेयर बनाएर मन्त्रालयले गरेको कामका आधारमा ‘रेटिङ’ अर्थात नम्बर दिने र सो को विवरण एप्लिकेशन मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले नै हेर्न सक्ने व्यवस्था गरिएको थियो ।

सफ्टवेयरमा कार्ययोजना सुरु नभएकोलाई रातो, काम भइरहेकोलाई पहेलो र कार्ययोजना सम्पन्न भएकोलाई हरियो रंगको पाइचार्टमा समेटिने गरिएको छ । सफ्टवेयरमा क्रियाकलाप, माइलस्टोन, कार्यप्रगति विवरण तथा रेटिङ सेट गरिएको छ । मन्त्रालयले आफूले गरेको कामको विवरण पठाएपछि प्रधानमन्त्री कार्यालयको नतिजा व्यवस्थापन तथा विश्लेषण शाखाले त्यसलाई सफ्टवेयरमा अपडेट गर्ने गरेको छ

Facebook Comment

छुटाउनुभयो कि?