नाका सहज नहुँदा रुपन्देहीमा पर्यटक ठप्प

पर्यटन बजार५ फाल्गुन २०७७, बुधबार मा प्रकाशित

नाका सहज नहुँदा रुपन्देहीमा पर्यटक ठप्प

फागुन ५ ,भैरहवा। बेलहिया–सुनौली नाकाबाट पर्यटकलाई आगमन बन्द हुँदा भारतीयमा निर्भर रूपन्देहीको पर्यटन क्षेत्र ठप्प छ । नाका सहज तुल्याउन पर्यटन व्यवसायीले एक महिनादेखि सरकारी निकायमा ज्ञापन बुझाए पनि सुनुवाइ भएको छैन । सरकारले गत माघ दोस्रो सातादेखि भारत र चीनतर्फका ३० वटा सीमा नाका खुलाउने निर्णय गरेको थियो । उक्त निर्णयले उत्साहित व्यवसायी नाकामा झन् निगरानी बढाइएपछि निराश छन् । पैदल आउजाउ खुले पनि पर्यटक आउने वातावरण नबनेपछि पर्यटन व्यवसायीले नाका खुलेको अनुभूति गर्न पाएका छैनन् ।

अहिले अध्यागमन कार्यालय रहेका प्रमुख नाकाबाट विदेशी पर्यटक आउन पाएका छैनन् । आफ्नो परिवार र साथीभाइसँग आफ्नै गाडी लिएर भारतीयले पहिलाको जस्तै मुलुक भ्रमणमा आउन पाएका छैनन् । यसले यहाँका होटल र रेस्टुराँ व्यवसायी धाराशायी हुने अवस्थामा पुगेका छन् । ‘सीमा नाका खुलेको भनिए पनि वास्तवमा हामी पर्यटन व्यवसायीका निम्ति खुलेको छैन । सहजै आवतजावत गर्ने वातावरण सिमानामा छैन,’ भैरहवास्थित चारतारे पर्यटकीय होटल निर्वाणाका प्रबन्ध निर्देशक मनोज सुवेदीले भने, ‘सिमाना खुलेको भनिएपछि नेपाल आउने जोकोहीका लागि पनि नेपालमा स्वागत छ भन्ने महसुस दिलाउन सक्नुपर्थ्यो । तर अहिले पनि मुलुक आउन लकडाउनकै बेलाको जस्तो झन्झटिलो प्रावधान छ ।’ झन्झटिलो प्रावधान र पर्यटकका लागि वाहन ल्याउने अनुमति नभएपछि भारतीय आउन नचाहेको उनले बताए ।

सरकारले नाका खुलाएको बताए पनि यहाँबाट मुलुक प्रवेश पाउन ७२ घण्टाभित्र कोरोनाको पीसीआर परीक्षण गरिएको रिपोर्ट र १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधान यथावत् छ । तर औद्योगिक र व्यापारिक प्रयोजनका लागि भारतका विभिन्न स्थानबाट दैनिक सयौं मलवाहक भारतीय गाडी र गाडीका स्टाफ, कामदार, सर्वसाधारण भने बिनापरीक्षण आइरहेका छन् । कोरोनाका कारण नाका सिल गरिएपछि थला परेको नेपालको पर्यटन क्षेत्र अहिले पनि उस्तै अवस्थामा छ ।

‘हामी पर्यटन व्यवसायीलाई सीमा नाका खुलेको कुनै महसुस हुन सकेको छैन,’ सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स लुम्बिनी प्रदेशका अध्यक्ष सञ्जय बजिमयले भने, ‘यति लामो समयदेखि थला परेको पर्यटन क्षेत्रलाई प्रवर्द्धन हुने खालका कुनै पनि कार्यक्रम सरकारले ल्याउन सकेन ।’ बरु सरकार सत्ताको आफ्नै किचलोमा रुमल्लिइरहेको र पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्नेतर्फ उदासीनता देखाएको उनको आरोप छ । सीमाबाट पर्यटक वाहन र भारतीय पर्यटकले आफ्नो निजी सवारी साधन लिएर नेपाल आउन पाउने पहिलाकै जस्तो प्रावधान लागू नगरिएसम्म नेपालको पर्यटन व्यवसायले गति लिन नसक्ने स्थानीय पर्यटन व्यवसायीको भनाइ छ ।

सीमा नाका खोलेको घोषणा सरकारले गरे पनि कोरोना संक्रमणको कारण देखाउँदै स्थलमार्ग हुँदै तेस्रो मुलुकका पर्यटक र भारतीय पर्यटकलाई आफ्नो गाडी लिएर नेपाल आउन पाउने व्यवस्था भने लागू गरेको छैन । नेपाल आउने मालवाहक भारतीय गाडीबाहेक अन्य भारतीय सवारी साधनको नेपालको भन्सारमा अस्थायी पैठारी गर्न पाउने अनुमति छैन । न त सीमा क्षेत्रको नजिकको सहरका लागि भन्सार सुविधामा आउन पाउने पहिलाको जस्तै छुटको व्यवस्था छ ।

‘पर्यटक आउने वातावरण तयार गर्नेतर्फ ध्यान नदिने तर नाका खोलेको घोषणा गरेर प्रचारबाजी गर्ने काम सरकारी पक्षबाट भएको छ,’ बजिमयले भने, ‘आन्तरिक हवाई उडान मात्र सञ्चालन गरेर र आन्तरिक पर्यटकले मात्र पर्यटन क्षेत्र धानिन नसक्ने अवस्थामा पुगेको छ ।’ यात्रुको पीसीआर रिपोर्ट र स्वास्थ्य सुरक्षाका अन्य मापदण्ड अपनाएर काठमाडौं–दिल्लीबीचको हवाई उडान सञ्चालन गरे जस्तै स्थलमार्गका मूल नाकाबाट विदेशी पर्यटकको आगमनलाई छुट दिनुपर्ने पर्यटन व्यवसायीको माग छ ।

स्थलमार्ग हुँदै तेस्रो मुलुक र भारतीय पर्यटक सर्वाधिक नेपाल भित्रिने भैरहवा मूल नाका पर्यटक आवागमनका हिसाबले सुनसान छ । विगतमा आफ्नै गाडी लिएर परिवार र साथीभाइका साथ हूलका हूल भारतीय पर्यटक यस नाकाबाट नेपाल प्रवेश गर्थे । यस नाकाबाट नेपाल भित्रिने पर्यटकको लुम्बिनी, पोखरा, काठमाडौं, चितवन सौराहा, पशुपतिनाथ, मुक्तिनाथजस्ता पर्यटकीय तथा धार्मिक स्थल उनीहरूको प्रमुख गन्तव्य हुन्थ्यो ।

भैरहवामा रहेका ठूला होटलमा सञ्चालित क्यासिनो खेल्न आफ्नै गाडीमा परिवार र साथीभाइका साथ आउने भारतीय पर्यटकको जहिले पनि उत्तिकै भीड हुन्थ्यो । भैरहवास्थित पाँचतारे होटल टाइगर प्यालेस, चारतारे निर्वाणा, तीनतारे बोधी रेडसन र पर्यटकीय होटल लाकौलमा क्यासिनो खेल्न भारतको बनारस, लखनऊ, गोरखपुर, नौतनवा, महाराजगन्जलगायत स्थानबाट आउँथे । क्यासिनो खेल्न आउने भारतीय पर्यटकले गर्दा भैरहवामा रिक्सा, ट्याक्सी, अटोरिक्सा, किराना पसल, फेन्सी, होटल तथा रेस्टुराँ सबै व्यवसायमा सकारात्मक प्रभाव पारेर आर्थिक क्षेत्र चलायमान भएको थियो ।

सीमा नाकाबाट दुई देशमा काम गर्ने कामदार, मजदुर, व्यवसायी, उद्योग कलकारखानामा कार्यरत कर्मचारी र औषधोपचार गर्ने बिरामीको आवागमनलाई सहजता भएको छ । बरु सीमावर्ती भारतीय बजारमा किनमेलका क्रममा दैनिक करोडौं नेपाली रुपैयाँ पलायन भइरहेको छ । नाका खुलेको सरकारी घोषणापछि सिमानाबाट एक अर्को देशमा रोजगारी, व्यापार व्यवसाय, औषधोपचार गर्नेको आवागमन बढेको सीमावर्ती इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले बताए ।

पर्यटन व्यवसायीका अनुसार नाका खुलेको थाहा पाएपछि धेरै भारतीय पर्यटक पहिला जस्तै नेपाल भ्रमणमा आउन लालायित छन् । तर आफ्नो साधन ल्याउन नपाउने भएपछि बुकिङ गरेको होटलसमेत रद्द गर्ने गरेका छन् । पर्यटक वाहन र निजी गाडी ल्याउने सुविधा दिन सरकारले ढिलाइ गरेका कारण नेपाल आउन चाहेका भारतीय पर्यटक उत्तराखण्ड, गोवा, काश्मीर, लद्दाखलगायत आन्तरिक पर्यटकीय स्थल र बाली, दुबई, इन्डोनेसिया, सिंगापुर, श्रीलंकाजस्ता विदेश भ्रमण जान थालेका छन् ।

Facebook Comment

छुटाउनुभयो कि?