पर्यटन बजार१६ पुष २०७७, बिहीबार मा प्रकाशित
पुस १६, काठमाडौँ।नेपालको हवाई क्षेत्रको नियमक निकाय नागरिक उड्डयन प्राधिकरणका कर्मचारीले नेपाल एयरलाइन्सको नि:शुल्क टिकट मागेका छन्।
प्राधिकरणको २२ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै आधिकारिक ट्रेड युनियनका अध्यक्ष श्रवणकुमार यादवले नेपाल एयरलाइन्सले प्राधिकरणका कर्मचारीलाई पनि ‘स्ट्यान्डबाई’ टिकट दिनुपर्ने माग गरे।
सरकारी भएकै कारण बिनाप्रतिस्पर्धा ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी पाएको एयरलाइन्सले नाफाबाट न्यूनतम हिस्सा दिएकाले आफूहरूलाई टिकट दिनुपर्ने उनको तर्क छ।
‘संसारभर ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी पाएकोले नाफाको ३० प्रतिशत दिन्छन्। तर नेपालमा भने अहिलेसम्म दिइआएको १५ प्रतिशतबाट पनि झार्ने प्रस्ताव गरेको छ। यसरी कसरी हुन्छ?’ उनले प्रश्न गरे।
नेपाल एयरलाइन्सले ग्राउन्ड ह्यान्डलिङ सेवाको गुणस्तर पनि नबढाएको उल्टो अरू विमानस्थलमा पनि अन्य बिनाप्रतिस्पर्धा दिइएकोप्रति उनले असन्तुष्टि पोखे।
‘संसारभर प्रतिस्पर्धाका आधारमा यस्तो अनुमति दिने प्रचलन छ। तर यहाँ भने बिनाप्रतिस्पर्धा दिने त्यसमा पनि न्यून रोयल्टी पाइने। यसबाट प्राधिकरणलाई घाटा भइरहेको छ’ उनले भने।
प्राधिकरणका कर्मचारीहरूले पाउनुपर्ने सेवा सुविधा अझ खुम्चिँदै गएको र प्राधिकरणले दिँदै आएको बोनस पनि रोकिएको उनको गुनासो छ।
कार्यक्रममा बोल्ने क्रममा यादवले लोकसेवा आयोगको पनि आलोचना गरे। प्राधिकरणमा कर्मचारी नियुक्तिको जिम्मा लोक सेवा लिएदेखि विमानस्थल सञ्चालनसम्म नै प्रभावित भएको उनले बताए।शाखा अधिकृत र सुब्बा खरिदार नियुक्ति गरेजस्तो हाम्रोमा लोक सेवाले गर्न थाल्यो। यसरी त प्राधिकरण जस्तो संस्थामा मिलेन। १ वर्षसम्म पनि परिणाम आएको छैन। हाम्रोमा एक जना कर्मचारी नियुक्तिमा ढिला हुँदा विमानस्थल सञ्चालनसम्म प्रभावित हुन्छ,’ उनले भने।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit