पर्यटन बजार२१ मंसिर २०७७, आईतवार मा प्रकाशित
मङ्सिर २१,सिद्धार्थनगर। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले निर्माणाधीन गौतमबुद्ध विमानस्थलको काम २५ दिनभित्र सक्न आयोजना प्रमुख र निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदार नर्थ वेस्ट कम्पनीलाई निर्देशन दिनुभएको छ ।
शनिबार विमानस्थलको स्थलगत निरीक्षणपश्चात मन्त्री भट्टराईले भन्नुभयो, “तपाईँहरुलाई २५ दिनको ‘होमवर्क’ दिन्छु । आयोजना प्रमुख र निर्माण व्यवसायी दुवैले २५ दिनपछि मलाई जवाफ दिनुपर्छ, काम सकाउनुपर्छ ।”
उहाँले निकट भविष्यमा गौतमबुद्ध विमानस्थल सम्पन्न भएर राष्ट्रिय आयोजनामा एक नम्बर हुने पनि विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “विगतमा ‘ब्याक’ भएको आयोजना सम्पन्न हँुदैछ ।”
उहाँले कोरोनाका कारण काममा प्रभाव परेको बताउँदै उपकरण जडानका लागि आवश्यक केही विदेशी दक्ष जनशक्ति नेपाल ल्याउन सबै प्रयास गरिरहेको पनि बताउनुभयो । मन्त्री भट्टराईले भन्नुभयो, “सकेसम्म उहाँहरु आउनुहुन्छ । यदि कोरोनाकै कारण आउनुभएन भने नेपाली जनशक्तिले नै काम गर्नुहुन्छ ।”आयोजना प्रमुख प्रवेश अधिकारीले आयोजनाको काम ९२ प्रतिशत सकिसकेको भन्दै बाँकी काम विदेशमा रहेका जनशक्ति नआउँदा रोकिएको बताउनुभयो । उहाँले लकडाउनको समयमा पनि सिभिल काम निरन्तर भइरहेको बताउनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव यादव कोइरालाले समयमै काम सक्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “तोकिएकै समयमा काम सम्पन्न गर्नुपर्छ ।”
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit