पर्यटन बजार१८ भाद्र २०७७, बिहीबार मा प्रकाशित
भदौ १८ , काठमाडौं । जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञा खुकुलो बनाएको भन्दै काठमाडौं उपत्यकाका मेयरहरुले असन्तुष्टि जनाएका छन् ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासनले ४ भदौबाट जारी निषेधाज्ञाको अवधि बुधबार साँझदेखि थप एक साताकालागि लम्ब्याएका छन् । तर, संक्रमण फैलिँदो रहेका बेला थप कडाई गर्नुपर्नेमा खुकुलो बनाइएको भन्दै उपत्यका नगरपालिका फोरमले असन्तुष्टि व्यक्त गरेको हो ।
फोरमका उपाध्यक्ष तथा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र सचिव तथा मध्यपुरठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएका हुन् ।
‘भदौ १८ गतेदेखि लागु हुनेगरी थपिएको निषेधाज्ञामा दिउँसो दुई बजेदेखि साँझ ९ बजेसम्म विकास निर्माणका पसल–व्यवसाय सञ्चालन गर्न सकिने बुँदामा गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसले गर्दा निषेधाज्ञाको खासै अर्थ र उपादेयता नरहने तथ्यलाई ध्यानमा राखी अतिआवश्यक बस्तु र सेवालाई विहान ११ बजेसम्म मात्र खोल्न सकिने सम्मलाई कायम राख्दै अन्य समयमा पसल–व्यवसाय सञ्चालनमा रोक लगाउने गरी अविलम्ब निषेधाज्ञा आदेश सुधार गर्न सम्वन्धित निकायको ध्यानाकर्षण गरिन्छ ।’
बुधबार तीन वटै जिल्ला प्रशासनले जारी गरेको विज्ञप्तिमा उपत्यका भित्र विकास निर्माणसँग सम्वन्धित पसल–व्यवसाय साथै सोको ढुवानीका लागि प्रयोग गर्ने सवारीसाधन दिउँसो २ बजेदेखि बेलुका ९ बजेसम्म सञ्चालन गर्न सकिने तर, नेपाल सरकारले तोकेको स्वास्थ्य सम्वन्धि मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उल्लेख छ ।
मेयरहरुले सबैभन्दा बढी असन्तुष्टि यहि बुँदामा जनाएका छन् । यही कारण संक्रमण थप फैलिन सक्ने जोखिम रहेको मेयरहरुको भनाई छ । फोरमका अध्यक्ष तथा काठमाडौंका मेयर विद्यासुन्दर शाक्य आफैं संक्रमित भएर आइसोलेसनमा बसेका छन् ।
‘संक्रमण नियन्त्रणमा आउने छाँटकाँट आइसकेको छैन,’ मध्यपुरथिमि नगरपालिकाका मेयर श्रेष्ठले भने, ‘संक्रमण तथा मृत्युदर समेत तिब्ररुपमा बढिरहेको सन्दर्भमा भयावह स्थितिबाट जोगाउन थप कडा रुपमा निषेधाज्ञा आवश्यक रहेको छ ।’
फोरमले उपत्यकाका सबै स्थानीय तहबाट प्रवाह हुने सेवालाई समेत आगामी २४ गतेसम्मका लागि बन्द गरेको छ ।
फोरमले स्वास्थ्य मापदण्ड पालना गरी सबै उपत्यकाबासीलाई घरमै सुरक्षित रुपमा बस्न आग्रह गरेको छ ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit