नेपालमा कोरोनाले दैनिक १० जनाको मृत्यु हुन थाल्यो,

पर्यटन बजार११ भाद्र २०७७, बिहीबार मा प्रकाशित

नेपालमा कोरोनाले दैनिक १० जनाको मृत्यु हुन थाल्यो,

भदौ ११,काठमाडौं । मिडिया, स्वास्थ्य विज्ञहरूको पटक पटकको सुझावलाई बेवास्ता गर्दै अघि बढेकाले अहिले कोरोना भाइरस संक्रमणले नेपाल थला पर्ने अवस्थामा पुगेको छ । दैनिक संक्रमित र मृत्यु हुनेको संख्या बढ्न थालेको छ ।

बुधबार मात्रै ११ जनाको कोरोनाबाट मृत्यु भयो । बिहीबार बिहान ११ बजेसम्म आठजनाको मृत्यु भइसकेको छ । पाटन अस्पतालमा एक, किस्ट अस्पतालमा एक, पर्साको नारायणी अस्पतालमा तीन, रुपन्देहीको बुटवलमा एक र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक गरी आठजनाको ज्यान गइसकेको छ ।

दैनिक आठ–नौ सय संक्रमित थपिँदै गएका छन् । अहिलेसम्म ३४ हजार संक्रमित पुगिसकेका छन् । दक्षिण एसियामा नेपालमा निको हुने दर कम छ भने वृद्धवृद्धाको मृत्युदर विश्वमै बढी रहेको छ । यसले के देखाउँछ भने सरकार कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा असफल देखियो । त्यसमा पनि अहिलेका स्वास्थ्यमन्त्री भानुभक्त ढकालको नेतृत्व पूरै असफल देखिएको छ ।

कोरोना नेपालमा आउँदैन, आए पनि नेपालीलाई कोरोनाले छुँदैन, नेपालीको प्रतिरोधी क्षमता बढी छ, बेसार पानी खाऔं भनेरै अहिलेको स्वास्थ्य मन्त्रालय नेतृत्व मस्त रह्यो । कोरोना रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको भन्दै मन्त्री ढकालको आलोचना भयो । त्यसपछि अहिलेसम्म ढकाल बाहिर राम्ररी खुल्न सकेका छैनन् । झन् समुदायस्तरमा कोरोना फैलिएपछि मन्त्री ढकालले कसरी फेस गर्लान् भन्ने चासो देखिएको छ ।

विशेष गरी दीर्घरोगी तथा वृद्धवृद्धाहरुको मृत्युदर अन्य मुलुकको तुलनामा नेपालमा बढी देखिएको छ । नेपालमा बुधबार दिउँसोसम्म लगभग साढे ३४ हजारमा संक्रमण पुष्टि हुँदा १ सय ७५ जनाको ज्यान गइसकेको छ । मंगलबारसम्मको तथ्यांक केलाउँदा १ सय ६४ मृतकमध्ये ७२ जना ६० वर्ष उमेर कटेकाहरु छन् ।

कुल मृतकको ४३ प्रतिशतभन्दा बढी हो । जबकि, संक्रमणदर अन्य उमेर समूहको तुलनामा वृद्धवृद्धामा कम छ । ३४ हजार बिरामीमध्ये ६० वर्ष कटेका जम्मा १२ सय ४४ छन् । यसमा पनि ६० देखि ७० वर्षका ८ सय ९ जना, ७० देखि ८० उमेरका ३ सय ४७ र ८० वर्ष कटेका ८८ जना छन् । बिरामीको तुलनामा ६० वर्षमाथिकाको मृत्युदर झण्डै ६ प्रतिशत छ । जबकि, कुल संक्रमितको तुलनामा मृत्युदर १ प्रतिशतभन्दा कम छ ।

Facebook Comment

छुटाउनुभयो कि?