नेपाल भ्रमण वर्ष २०२० मा समेत अष्ट्रियाका पर्यटकहरुसमेत आउँछन – कारिन किन्सल

पर्यटन बजार१० फाल्गुन २०७५, शुक्रबार मा प्रकाशित

नेपाल भ्रमण वर्ष २०२० मा समेत अष्ट्रियाका पर्यटकहरुसमेत आउँछन –  कारिन किन्सल

फागुन १०,काठमाडौं । अष्ट्रिया र नेपालबीच मन्त्रीस्तरीय द्वीपक्षीय वार्ता सम्पन्न भएको छ।  अष्ट्रियाकी युरोप तथा परराष्ट्र मामिला मन्त्री कारिन किन्सल र परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली नेतृत्वको प्रतिनिधि मण्डलबीच आज द्वीपक्षीय वार्ता सम्पन्न भएको हो।

वार्ताका क्रममा दुई देशबीचको सम्बन्धलाई थप उचाईमा पुर्‍याउने विषयमा छलफल भएको परराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिए। ‘वार्ताका हामीहरुले द्वीपक्षीय सम्बन्धको समिक्षा गर्दै सम्बन्धलाई थप उचाइमा लैजान विषयमा छलफल भयो। हाम्रो सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन द्विपक्षीय तथा वहुपक्षीय फोरमहरुमा मिलेर काम गर्ने सहमति भएको छ,’ द्विपक्षीय वार्तापछि आयोजित संयुक्त प्रेस ब्रिफिङ कार्यक्रममा मन्त्री ज्ञवालीले भने, ‘हामीले दुई देशबीच व्यापार, लगानी, प्रविधि हस्तान्तरण, दिगो विकास, वातावरण संरक्षण, क्लिन इनर्जी र अन्य साझेदारीका क्षेत्रहरुमा छलफल भयो।’

मन्त्री ज्ञवालीले नेपालको प्राथमिकता र नेपाल सरकारको समृद्ध नेपाल सुखी नेपालीको अभियानका बारेमा अष्ट्रियाकी समकक्षीलाई जानकारी गराएको बताए। अष्ट्रियाको तर्फबाट नेपालको विकासमा सहयोग गर्ने प्रतिवद्धता प्राप्त भएको उनले जानकारी दिए।

छलफलका क्रममा नेपालले मार्चमा आयोजना गर्न लागेको लगानी सम्मेलनको जानकारी गराउँदै कार्यक्रममा अष्ट्रियाका लगानीकर्ताको सहभागिताका लागि आग्रह गरेको जानकारी गराए। त्यस्तै नेपाल भ्रमण वर्ष २०२०को कार्यक्रममा अष्ट्रियाका पर्यटकहरुको आगमन हुनेमा विश्वास व्यक्त गरे।

यसैबीच अष्ट्रियाकी परराष्ट्र मन्त्रीले नेपालले भूकम्पपछिको पुन:निर्माणमा हासिल गरेको उपलब्धिको सरहना गर्दै नेपालको पुन:निर्माण र विकासमा अष्ट्रियाको साथ रहने बताएकी छन्। उनले अष्ट्रियाको सहयोगमा निर्माण भएको पाटनको संग्रहालयको नाम लिँदै नेपालको संस्कृतिक सम्पदाको संरक्षण र विकासमा अष्ट्रियाको साथ रहने बताइन्। उनले अष्ट्रिया र नेपाल पर्यटकीय सम्भावनाका हिसावले समान भएको भन्दै उनले अष्ट्रियाका तर्फबाट पर्यटक व्यवसायीहरुले नेपालमा लगानी गर्दै आएको भन्दै यसले निरन्तरता पाउने बताइन्। त्यस्तै नेपाल भ्रमण वर्ष २०२० मा समेत अष्ट्रियाका पर्यटकहरुसमेत आउने बताइन्।

उनी बिहीवार नै सो संग्रहालयको भ्रमण गरेकी थिइन्। सो संग्रहालयको निर्माण अष्ट्रियाको सहयोगमा भएको थियो। अष्ट्रियन मन्त्री करिनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। त्यस्तै साँझ परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले गर्ने नेपाल अष्ट्रिया सम्बन्धको विषयमा आयोजना गर्ने कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

नौ दिन लामो दक्षिण एसियाली मुलुकहरुको भ्रमणमा बुधवार निस्किएकी मन्त्री करिन दोस्रो देशको रुपमा नेपाल आएकी हुन्। उनी यसअघि बंगलादेश भ्रमण गरिसकेकी छन्। उनी भोली भुटान जाने कार्यक्रम रहेको छ।

Facebook Comment

छुटाउनुभयो कि?