पर्यटन बजार२५ भाद्र २०७७, बिहीबार मा प्रकाशित
भदौ २५, काठमाण्डौ। मित्रराष्ट्र चीनकाे स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको भोटेकोसी गाउँपालिकामा ऐतिहासिक तथा धार्मिक महत्वका पर्यटकीयस्थल पाहुनाको पर्खाइमा रहेका छन् । यी क्षेत्रलाई गाउँपालिकाले पूर्वाधार विकाससहित सुन्दर पारेको छ ।
४२ सय मिटर उचाइमा रहेको भैरवकुण्ड पुग्न कोदारी राजमार्गको डाक्लाङबाट ४० किलोमिटर दूरीमा पर्छ । जंगबहादुर राणाको पालामा भोटसँग लडाइँ गर्दा घुयँत्रो मार हान्न बनाइएको दुगुनागढी किल्लाबाट पनि भैरवकुण्डको यात्रा गर्न सकिन्छ ।
किंबदन्ती विश्वासको आधारमा आन्तरिक पर्यटक भैरवकुण्ड र देउढुंगाको धार्मिक यात्रा गर्छन् । ‘जे माग्यो त्यही प्राप्त हुने’ धार्मिक जनविश्वास भएकोले मुलुकभरका तीर्थयात्रु भैरवकुण्ड र देउढुंगा पुग्छन् । कोदारी सडकको चाकु र हिन्दीबाट ४५ किलोमिटर यात्रा गरेपछि दोलखाको बिगुसँग सिमाना जोडिएको देउढुंगा पुगिन्छ । यो वर्ष यी दुई धार्मिकस्थलको हजारौँ भक्तजनले तीर्थयात्रा गरेका छन् ।
भैरवकुण्ड र देउढुंगामा जनैपूर्णिमाका दिन मेला लाग्छ । आन्तरिक तीर्थालु भौगोलिक कठिनताको पर्वाह नगरी मेला भर्न त्यहाँ पुग्छन् । आन्तरिक मात्रै होइन, चीन, भारत र पश्चिमा मुलुकका पर्यटकको रोजाइमा यी क्षेत्र रहेका छन् । भूकम्पअघि वार्षिक एक हजार विदेशी पर्यटकले दुगुनागढी किल्ला र भैरवकुण्डको यात्रा गर्थे ।
भूकम्पपछि गाउँपालिकाले यी क्षेत्रलाई पूर्वाधार विकाससहित चिटिक्क पारेकोले आकर्षण झन् बढेको छ । ४२ सय मिटर उचाइबाट जिल्लासहित तिब्बतको विभिन्न भूभाग दृश्यावलोकन गर्न पाइने भएकोले पर्यटक लोभिएका हुन् ।
जंगबहादुरकालीन लडाइँ मोर्चाको एक किल्ला दुगुनागढीलाई पुरातत्व विभागले एक करोड र पालिकाबाट १० लाख बजेट विनियोजन गरेर प्राचीन झल्को आउने गरी निर्माण प्रक्रिया अघि बढाइएको भोटेकोसी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले बताए ।
‘गढीको भौतिक संरचनालाई परम्परागत स्वरूपमा निर्माण गर्ने काम सुरु भएको छ,’ उनले भने, ‘पाँच रोपनी जमिनमा फैलिएको किल्ला बीचबीचमा भत्किएकोले त्यसको मर्मतसंभार गरिन लागेको हो ।’ भैरवकुण्डमा रहेको बहुलाह पोखरीदेखि अरू स–साना तालको संरक्षण गर्न पालिकाबाट ५० लाख विनियोजन गरिएको उनले सुनाए ।
पर्यटकको आकर्षणको केन्द्र देउढुंगा भौगोलिक विकटतामा रहेकोले त्यस आसपास पुग्ने बाटो र केही धार्मिक स्थलको भौतिक संरचना पुनर्निर्माण सुरु गरिएको छ । भैरवकुण्ड, दुगुनागढी र देउढुंगासम्म पुग्दा बाटोमा अरू धार्मिकस्थल पनि पर्छन् । फुल्पिङकट्टीको जैमिनथापी नारायण, लिस्तीको लिस्तीमाई, छगाम बगामस्थित पाउगुम्बा र आनी गुम्बा पनि पुरातत्व विभागको कार्यक्रमको सूचीमा छन् ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit