पर्यटकीय स्थल ‘मनमोहक मैयुङ डाँडा’

पर्यटन बजार२६ भाद्र २०७७, शुक्रबार मा प्रकाशित

पर्यटकीय स्थल ‘मनमोहक मैयुङ डाँडा’

भदौ २६, काठमाण्डौ। भोजपुरको टेम्के मैयुङ गाउँपालिकामा अवस्थित मैयुङ डाँडा पर्यटकीय सम्भावना बोकेको एक सुन्दर स्थान हो। पछिल्लो समय यो क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न सफल भएको छ।

नेपाल सरकारले छानेका १०० पर्यटकीय क्षेत्रमध्ये भोजपुरको ‘मुन्दुम ट्रेल’ पनि समेटिएको छ । प्राकृतिक सुन्दरता बोकेका ठाउँको भ्रमण गर्न विदेशी पर्यटक वर्षेनी हजारौँको सङ्ख्यामा नेपाल भित्रिने गर्छन् । तीमध्ये धेरैजसो लेक लाग्ने समस्याले उच्च हिमाल, पहाड चढ्न नसक्ने तर हिमाललाई नजिकबाट हेर्न चाहाने पर्यटकलाई उपयुक्त हुनेगरी नेपालमै थुप्रै पदमार्ग खोलिएका छन् ।

धेरै पर्यटकीय सम्भावना बोकेका त्यस्ता पर्यटकीय पदमार्गमध्ये छिमेकी जिल्ला खोटाङसँग जोडिएको मैयुङ क्षेत्र पर्यटकीय पदमार्ग ‘मुन्दुम ट्रेल’ विकास भइरहेको छ । भोजपुरको पर्यटनलाई माथि उकास्न र विदेशी पर्यटकको प्रमुख गन्तव्य बनाउने लक्ष्यका साथ टेम्केमैयुङ गाउँपालिका पनि जुटेको छ । त्यसका लागि पदमार्गमा जाने आन्तरिक तथा बाह्य पर्यटकको सुविधालाई ध्यान राख्दै संरचनाहरु निर्माण भइरहेका छन् ।

प्राकृतिक सुन्दरताले अति मनमोहक दृश्यावलोकन गर्न सकिने यस मैयुङ क्षेत्रलाई ‘टुरिष्ट हब’ बनाउने लक्ष्यले ३१ दशमलब ५ किलोमिटर लामो पदमार्गको काम थालिएको हो । हावापानीको हिसाबले हिमालमा जस्तो ठण्डा र तराई जस्तो गरम नहुने सन्तुलित हावापानी भएको प्रमुख पदस्थल भएको उक्त पदमार्ग क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर पर्यटन व्यवसाय प्रवद्र्धन गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ ।

मुन्दुम पदमार्गमा दुई हजार ४०० मिटरदेखि तीन हजार ३०० मिटरको दुरीमा उकालोओरालो गर्दै डाँडैडाँडामा पैदलयात्रा गर्न सहज हुन्छ । यस मार्गबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण लगायतका दुई दर्जनभन्दा बढी सुन्दर हिमशृङ्खलाको दृश्यालोकन गर्न सकिन्छ ।

यसरी डाँडैडाँडाको बाटो हिँड्दा थकान कम हुने र लेक पनि नलागी सुन्दर दृश्यावलोकन गर्न सकिने यस मैयुङ क्षेत्रमा अवस्थित पदमार्ग ताप्लेजुङको लालीगुँरास पदमार्ग र पश्चिमको खप्तड पदमार्गभन्दा राम्रो रहेको पर्यटन विज्ञहरुको दावी छ । यो पदमार्ग अहिलेसम्मकै नेपालभरको सुन्दर दृश्यावलोकन गर्न सकिने पदमार्ग हो । पूर्व-दक्षिण पश्चिमतर्फको दृश्यमा तराईका समथर फाँटहरू देख्न सकिन्छ। चैत वैशाखको सिजनमा करिब १६ बढी प्रजातिका गुराँस, चिमल फुल्ने र पर्यटक आकर्षित गर्दछ। चौरी, भेंडा, गाई-भैंसी, घोडा पालनमा यस क्षेत्र उपयुक्त छ। सुन्दर दृश्यको कारण फ्लिम मेकरहरू यस क्षेत्रमा सुटिङमा भेटिन्छन्।

उच्च हिमाल चढ्न पनि नसक्ने तर त्यसलाई नजिकबाट नियाल्न चाहाने पर्यटक अन्यक्षेत्रको ठाउँलाई छोडेर पोखरा, चितवन, काठमाडौँमा भ्रमण गर्ने र फर्कने पर्यटक यस्ता किसिमका पदमार्गको भ्रमण गर्न चाहन्छन् । सरकारले पर्यटनमा नयाँ खालको उत्पादन ल्याउन नसक्दा पछिल्लो समय पर्यटन व्यवसाय राम्ररी नफस्टाएको टेम्के मैयुङ साल्पासिलिछो पर्यटन प्रवद्र्धन तथा विकास समितिका अध्यक्ष रमेश राईले बताउनुभयो । विदेशी पर्यटकले आफूले खोजेजस्तो भ्रमणस्थल नपाएको पछिल्लो समय पर्यटकको विषय बाहिर आउन थालेको उहाँको भनाइ छ ।

टेम्केमैयुङ गाउँपालिकाले पनि पदमार्गको अनुगमन र सम्पूर्ण सम्भाव्यताको अध्ययन सकेर अहिले संरचना निर्माण तथा प्रचारप्रसारमा लागेको छ । उक्त पदमार्ग हुँदै पैदलयात्रा गर्दा यहाँका जैविक विविधता, साँकृतिक विविधतालाई हेर्न चाहाने र शान्त, सुन्दर वातावरण खोज्ने पर्यटकको माग दिनप्रतिदिन बढिरहेको गाउँपालिकाका प्रवक्ता सुनिल राईको भनाइ छ ।

उहाँले आफ्नो अनुभवलाई सुनाउँदै नेपालका ७७ वटै जिल्लाका ठाउँमा गाईड गर्दा पर्यटकीय गन्तव्यका लागि भोजपुर पूर्वाञ्चलकै पहिलो प्राथमिकताको पर्यटकीय पदमार्ग क्षेत्र बन्न सक्ने सम्भावना बोकेको छ। ।

यसको नामाकरण भने किरात संस्कृतिअनुसार राखिएको छ । पितृ बस्ने नाक्छुङ, बारालुङ (ढुङ्गाले घेरिएको चुलो) आफ्नो पितृलाई देवशक्ति माग्दै चुला, मूलथाम, मूलढोका, बलेसी, फूलबारी, चौरास्ता हुँदै ओरालो लाग्ने, पानी अन्तिम विन्दु जहाँ संसारको सृष्टि हुने परिकल्पना गर्दै शक्ति आर्जन गरेर मुन्दुमी (किराती) अगाडि बढ्छन् ।

यसरी किरातीले आफ्नो जीवन दर्शन मान्ने ‘मुन्दुम’ शब्द नै बिबादास्पद नहुने भनेर यहाँका डाँडाकाँडा, तालतलैयाको किराती नाम विशेषले यसको ‘मुन्दुम ट्रेल’ नामाकरण गरिएको हो ।

मैयुङ आई पुग्न निकै बाटा छन्। मुख्य बाटो धोद्रे हो। भोजपुरको दिङ्ला, सुन्तले, किमालुङ, तिम्मा, छिनाम्खु साथै खोटाङको सुम्दे, पत्करु, पाथेका, निर्मली र च्यानडाँडा चखेवा आदि नाका र बाटोबाट यस क्षेत्रमा पुग्न सकिन्छ

Facebook Comment

छुटाउनुभयो कि?